काठमाडौं, २ असोज । देशभर अहिले मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
मौसम प्रणालीको प्रभावका कारण देशभर सामान्यतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
देशका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, कोशी प्रदेशको तराई भूभागका केही स्थान, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
