काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीका लागि ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत नेता डा. शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिइएको हो।
प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार मूल आयोजक समितिमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका सभापति र पदाधिकारी, जिल्ला सभापति, काठमाडौँ उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर तथा नगर सभापतिलाई समेटिएको छ।
यस्तै, संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि पदेन सदस्यका रूपमा मूल आयोजक समितिमा समावेश गरिएको छ।
राष्ट्रिय भेलालाई व्यवस्थित बनाउन मूल आयोजक समितिसँगै १६ वटा विभिन्न विषयगत समिति पनि गठन गरिएको छ। तीमध्ये राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन्।
यसका साथै प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य, शान्ति–सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापनलगायतका समितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।
नेपाली कांग्रेसको इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा सञ्चालन हुने कार्यक्रम रहेको छ।
