एउटै वडामा झन्डै ३ करोड रुपैयाँको सुन्तला उत्पादन

एउटै वडामा झन्डै ३ करोड रुपैयाँको सुन्तला उत्पादन image

तनहुँ । तनहुँको एक पालिकाको एउटै वडामा यो वर्ष झन्डै तीन करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष झन्डै तीन करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो ।

३ नम्बर वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ । गएको वर्ष पनि तीन करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका यहाँका किसानले अहिले पनि त्यही हाराहारीमा सुन्तला बिक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक किसान भीमबहादुर थापाले जानकारी दिनुभयो ।

यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको उहाँको भनाइ थियो । यस वर्ष ५५ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन गर्नुभएका थापाले भन्नुभयो, ‘धेरै वर्ष पहिला अधियाँ गरेर खानुपर्ने बाध्यता रहेकामा अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ ।’ उहाँका अनुसार शुरुका दिनमा थोरै ऋण माग्दा पनि कसरी तिर्ला भन्नेहरू अहिले आम्दानी देखेर दङ्ग छन् । सुन्तला खेतीले किसानको जीवनस्तर बदलिएको छ ।

यो वडाको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँका किसानले सुन्तला बेचेर मनग्य आम्दानी गरिरहेका छन् । सुन्तला उत्पादनमा जिल्लाकै पकेट क्षेत्रका रूपमा देवघाट परिचित छ । थापाले भन्नुभयो, ‘विगतमा केही पनि अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका किसानले यति बेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङ्ग्रिङमा एउटै घरबाट २० लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ ।’

स्थानीय विष्णुकुमार श्रेष्ठले विदेश वा अन्यत्र गएकाहरू पनि गाउँ फर्किएर सुन्तलाखेतीमा लागेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाहिर भएकाहरू गाउँ फर्किए ।’

छापस्वाँराका डिलकुमार श्रेष्ठले सुन्तलासँगै बाख्रापालनलाई अगाडि बढाउनुभएको छ । यस वर्ष दुई लाख ५० हजार रुपैयाँको सुन्तला बेचिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘५० वटा बाख्रा पालेको छु । सुन्तला र बाख्रा नै आम्दानीको स्रोत हो ।’ गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट सुन्तला उत्पादनमा पकेट क्षेत्रका रूपमा विकास भएको बताउनुभयो ।

देवघाटमा सुन्तला प्रशस्त उत्पादन भए पनि बजारीकरणका लागि किसानले समस्या भोगिरहेका छन् । नदीपारि रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला उत्पादक किसानको गुनासो थियो ।

लुङ्ग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारागणगढ सडकको गाईघाटसम्म जीपमा राखेर सुन्तला ल्याउने र त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् ।

गाउँपालिकाले सुन्तला उत्पादक किसानलाई लक्ष्य गरी सुन्तला नर्सरी स्थापना गर्न ३० लाख रुपैयाँ विनियोजन गरेको छ । नर्सरीमा बिरुवा उत्पादन गरेर इच्छुक किसानलाई निःशुल्क वितरण गरिने गाउँपालिकाले बताएको छ । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon