भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चिसोले जमेको पञ्चकुण्ड तालमा रमाउँदै पर्यटक

चिसोले जमेको पञ्चकुण्ड तालमा रमाउँदै पर्यटक

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ ।समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ ।

पानी जमेर तालमाथि मानिस सहजै हिँडडुल गर्न सकिने बनेको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिए । “हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको ताल जमेर हिडडुुल गर्न सकिने भएको छ,” उनले भने “पर्यटकहरुले जमेको ताललाई अनौठो मानेर अवलोकन गर्ने र सहासिक यात्रा गरेर रमाउन थालेका छन् ।”

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साउँछ । आधार शिविरबाट वरिपरि हिमालले घेरिएको छ । हिमतालकै वरपर वर्षौँदेखि जमेका हिमनदीका अनौठा आकृति, आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुुने गत हप्ता आधार शिविर पुगेर फर्किएका गाडपारका बासिन्दा सुकबहादुर गर्बुजाले बताए ।

हिमनदी क्षेत्रमा फैलिएको यो हिमताल गर्मी याममा पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड राखिएको हो । सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो राखेका थिए । हिमालको फेदीमा रहेका कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेका भए पनि स्थानीयवासीले तालको भू–बनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेका यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।

तालको परिसरमा हिन्दू धर्मग्रन्थ रामायणका पात्र कागभुसुण्डि ऋषिले तपस्या गरेको डाडा भएकाले यो ठाउँका धार्मिक महत्व पनि रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रामा पञ्चकुण्ड पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ ।

निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिने कास्कीका सोमलाल सुवेदीले बताए । “वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो छ,” पूर्वमुख्य सचिव रहेका सुुवेदीले भने “तालमा देखिने हिमालको छाया र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने तालको पानीको निलो रङले पहिलोपटक पुग्ने जो–कसैलाई आश्चर्यमा पार्छ ।”

ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवालय र गुम्बासमेत निर्माण गरिएको छ । हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट सङ्कलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवालयमा र गुम्बामा पूजाआजा गर्दै आएका छन् । पञ्चकुण्ड तालबाट निस्कने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षितरूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन गुरुयोजना तयार पार्न लागिएको गाउँपालिकाका ईञ्जिनियर ईश्वर भण्डारीले बताए ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । उनले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै ०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.