काठमाडौं । केपी नेतृत्वको सरकारका गलत कदमको विरोधका लागि नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा विशाल खबरदारी सभा गर्दैछ । जनउत्तरदायी सरकार बनाउन ध्यानाकर्षणका लागि खबरदारी सभा गर्न लागिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
विपत् व्यवस्थापनमा सरकारको असंवेदनशील, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताको खोजी, राहत वितरण, घाइतेको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न यो खबरदारीसभा गरिएको जनाएको छ ।
सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थाहरु, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न आजको सभा आयोजना गरिएको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ ।
भृकुटीमण्डपमा ११ बजे आयोजना हुने सभाअघि धुनधाराबाट जुलुस निकालिने माओवादी केन्द्रले जनाएको छ । जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नेछन् भने सभा रचनात्मक र शान्तिपूर्ण रुपमा सम्पन्न गरिने माओवादीले जनाएको छ ।
