काठमाडौं, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै जनतामा विश्वासभन्दा शंका बढ्दै गएको दाबी गरे। प्रचण्डले देशको राजनीतिक अवस्था अझै सहज हुन नसकेको उल्लेख गर्दै सरकार जनअपेक्षाअनुसार अघि बढ्न नसकेको बताए।
उनका अनुसार सुशासन, सामाजिक न्याय, बेथिति अन्त्य र अराजकताविरुद्ध प्रभावकारी काम हुने अपेक्षा नागरिकले राखे पनि त्यसअनुसार परिणाम देखिन नसकेको गुनासो सर्वत्र सुनिन थालेको छ।
उनले भने, “राजनीति सहज छैन। जनताले धेरै आशा र अपेक्षा राखेका थिए। सुशासन, सामाजिक न्याय, बेथिति र अराजकताविरुद्ध काम हुने विश्वास थियो। तर त्यसअनुसार काम नभएको जताततै सुनिन थालेको छ।”
प्रचण्डले मुलुकका विभिन्न स्थानमा देखिएका समस्या र असन्तुष्टिलाई बेवास्ता नगरी संवाद र सहमतिका माध्यमबाट समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए। उनले तनावपूर्ण परिस्थितिमा सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिए।
उनका अनुसार वर्तमान अवस्थामा सरकारको नेतृत्व अझ बढी जिम्मेवार, संवेदनशील र सक्रिय हुन आवश्यक छ। विशेष गरी प्रधानमन्त्रीको भूमिका जनअपेक्षाअनुसार प्रभावकारी देखिन नसकेको भन्दै उनले नेतृत्वले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने धारणा राखे।
प्रचण्डले लोकतान्त्रिक प्रणालीमा सरकार र प्रतिपक्षबीच संवाद, सहकार्य र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै जनताको भरोसा कायम राख्न सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।
