पर्वत । पछिल्लाे समय पढाइसंगै विद्यार्थीहरू उत्पादनसंग जाेडिएका छन् । यसकाे उदाहरण जलजला गाउँपालिका–७ धाइरिङको कृष्ण धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लिन सकिन्छ । टनेलमा फलेको तरकारी व्यवस्थापनमा व्यस्त विद्यार्थीहरूकाे मेहनत हेर्दा लाग्छ याे शिक्षा पाे नेपालमा वश्यक छ ।
विहान बेलुका र स्कूलमा खाली पिरियड भएका बेला विद्यार्थीहरु शिक्षकहरुसंगै तरकारी टनेलमा पुग्छन् र टनेलको उत्पादित चिजकाे व्यवस्थापनमा लाग्छन् । आजभोलि टनेलमा सिमी, टमाटर लटरम्म फलेको देखिन्छ । यसलाई टिप्ने र बजारमा पठाउने यस स्कुलका विद्यार्थीको अध्ययन बाहेको काम हो ।
नेपाल कृषि प्रधान देश भनेर पढिदै आएको र विद्यार्थीहरुलाई अध्ययन संगसगै व्यावहारिक र सीपमुलक शिक्षामा जोड्नका लागि विद्यालयमा यो कार्यक्रम सञ्चालनमा आएको प्रधानाध्यापक बालकृष्ण ज्ञवाली बताउनुहुन्छ । विगत दुई वर्षदेखि माटोसंग वा उत्पादनसंग विद्यार्थीलाई जोड्दै आइरहेको बताए ।
यस कार्यक्रमका लागि विद्यार्थी समावेश भएको विद्यार्थी उद्यम क्लब गठन गरिएको र यस टनेलमा क्लबले काम गरिरहेको बताए । उनले भने, ‘हामीलाई चाहिएको व्यवहारिक शिक्षा हो । अहिले हाम्रा विद्यार्थीहरु विद्यालयमा तरकारी उत्पादन गरिरहेका छन् भने घर किन नगरुन र ?
अहिले पढ्दै कमाउदै गरेका विद्यार्थीहरु अहिले जस्तो बेरोजगार भएर बस्नुपर्ने छैन । यसमा क्लब बाहिर रहेका विद्यार्थीहरुले पनि सघाउने र सिक्ने गरिरहेका छन् ।’ यो क्लबले दुई वर्ष अगाडि २५ हजार रुपैयाँको लागतमा ‘प्लास्टिक टनेल’ भाडामा लिएर मौसम र बजारको आवश्यकता अनुसारको तरकारी उत्पादन गर्दै आइरहेको छ।
यस अगाडि आलुको राम्रो उत्पादन भएकोमा यस पटक सिमी राम्रो फलेको छ। यसलाई बजार पठाउने तयारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक आचार्यले गरिरहेका छन्। विद्यार्थीको कृषि उपजलाई बजार व्यवस्थापनका लागि खट्दै आएका आचार्यले नै सिमीको बजारीकरणको तयारी गरिरहेका छन्।
विद्यालयमा केही पहिले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत आएको पाँच लाख रुपैयाँ उद्यम कोषको नाममा बंकमा खाता खोलेर राखिएको छ । अहिले विद्यार्थीले उत्पादन गरेका तरकारी बिक्री गरेर आएको आम्दानी पनि यही खातामा जम्मा गर्ने गरिएको छ। दुई वर्षदेखि उत्पादनको काम भइरहेको र यो ठुलो आम्दानी गर्ने पूर्ण व्यावसायिक उत्पादन नभएकोले विद्यार्थीहरूलाई मुनाफा वितरण भने गरिएको छैन ।
तत्कालका लागि माटोमा खेल्ने बानी विकास गर्ने, उत्पादनमा ध्यान दिने बानी बसाल्ने, माटोमा विश्वास गर्न सक्ने र बेरोजगारीको समस्या छ भन्ने मानसिकता हटाउने गरी सिकाइ भइरहेकाले पनि बिक्री गरेको नगद रकम विद्यार्थीलाई नबाँडिएको प्रधानाध्यापक ज्ञवाली बताउँछन् ।
टनेल भाडामा लिँदा गरिएको लगानी, टनेलमा आवश्यक पर्ने सबै प्रकारका सामग्री, बीउ, मल, लगायतमा भएको लगानी पनि तिर्ने काम पनि आम्दानीबाटै गरिने भएकाले अहिले कोषमा रकम जम्मा भइरहोस् भन्ने विद्यार्थी र व्यवस्थापकको धारणा छ । उद्यम क्लबमा कक्षा नौदेखि १२ सम्म अध्ययनरत विद्यार्थी गरेर ११ जना समावेश भएका छन् ।
उनीहरूलाई आफ्ना सहपाठीलाई पनि उत्प्रेरित गर्ने गरेको कक्षा १२ की छात्रा आरती आचार्य बताउँछिन् । विद्यालयमा गएर काम गर्ने बानी बसेपछि घरमा काम गर्न झनै सजिलो भएको र आफूसहित आफ्ना साथीहरूमा आफ्नो ठाउँको माटोले भोको राख्दैन भन्ने मानसिकताको विकास भएको उनको भनाइ छ ।
