भर्खरै : Sorry, your browser does not support inline SVG.

पर्यटकीय गन्तव्य बनाउने अपी हिमाल गाउँपालिकाको उद्देश्य

पर्यटकीय गन्तव्य बनाउने अपी हिमाल गाउँपालिकाको उद्देश्य

मुख्य बुँदा 

अपी हिमाल गाउँपालिकाले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाएको
 छोटो समयमै करिब ५ हजार पर्यटकको आगमन
 ४–५ करोड रुपैयाँ बराबरको स्थानीय आर्थिक कारोबार
होमस्टे, ट्रेकिङ गाइड र किसान प्रत्यक्ष लाभान्वित
युएनडिपी र पर्यटन बोर्डको सहयोगमा तालिम तथा पूर्वाधार विकास
 अपी–सैपाल ट्रेकलाई ग्रेट हिमालयन ट्रेलसँग जोड्ने तयारी

काठमाडौं, ६ पुष । सुदूरपश्चिम प्रदेशमा रहेको दुर्गम अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ। ‘नाम सुनेको तर पुग्न नसकेको’ परिचय बदल्दै यो क्षेत्र अहिले साहसिक पदयात्री र प्रकृति प्रेमीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ।

स्थानीय तहमा निर्वाचित नेतृत्वले योजनाबद्ध विकासलाई प्राथमिकता दिएपछि आर्थिक समृद्धिको अन्य कुनै ठोस आधार नभएको अपी हिमाल गाउँपालिकाले पर्यटनलाई मुख्य आधार बनाएको हो। योजनाबद्ध पूर्वाधार विकास, ट्रेकिङ रुट विस्तार र आक्रामक प्रचार–प्रसारका कारण अपी हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी हिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय उद्यम तथा राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको बताए। उनका अनुसार नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा पर्यटन व्यवसायीका लागि विभिन्न तालिम सञ्चालन गरिएको छ भने भौतिक पूर्वाधार विस्तारमा समेत काम भइरहेको छ।

गत आर्थिक वर्षमा मात्रै करिब पाँच हजार आन्तरिक तथा बाह्य पर्यटकले अपी हिमाल र बेसक्याम्प क्षेत्रको भ्रमण गरेका छन्। पर्यटकको आवागमन बढेसँगै स्थानीय स्तरमा झन्डै चारदेखि पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ।

यसबाट होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी र स्थानीय किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। विशेषगरी रैथाने उत्पादनको माग बढेसँगै गाउँमै रोजगारी र आम्दानीका स्रोतहरू सिर्जना भएका छन्।

हाल विभिन्न स्थानमा टी–हाउस, गेस्ट हाउस र नौवटा होमस्टे सञ्चालनमा छन्। स्थानीयलाई ट्रेकिङ गाइड, बेकरी तथा कफी बनाउने तालिम प्रदान गरिएको छ। यही सक्रियताका कारण नेपाल सरकारले छोटो समयमा पर्यटन विकासमा योगदान पुर्‍याएको भन्दै अपी हिमाल गाउँपालिकालाई सम्मानसमेत गरिसकेको छ।

पर्यटन विस्तारसँगै सवारी चालकदेखि किसानसम्मको आम्दानी बढेको अध्यक्ष बोहराले बताए। उनका अनुसार गाउँपालिकाको मुख्य उद्देश्य पर्यटन व्यवसायको दिगोपना र व्यवस्थित विकासमा केन्द्रित रहेको छ। पछिल्लो समय नेपाल पर्यटन बोर्ड अन्तर्गत युएनडिपीको एसटिए परियोजनामार्फत ट्रेकिङ व्यवस्थापन र दिगोपनामा विशेष ध्यान दिइएको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण अपी हिमाल क्षेत्रलाई थप आकर्षक बनाउन ट्रेकिङ ट्रेल मर्मत, सेवाको गुणस्तर सुधार, साइनेज र नक्शा निर्माणलाई प्राथमिकतामा राखिएको छ। अपी–सैपाल बेसक्याम्प जोड्ने ट्रेकिङ रुटलाई ग्रेट हिमालयन ट्रेलको पश्चिमी खण्डका रूपमा विकास गर्ने तयारीसमेत भइरहेको छ।

काठमाडौं–धनगढी–मकरिगाड हुँदै दुई दिनमै अपी हिमाल गाउँपालिका पुग्न सकिने र थप दुई दिनको पदयात्रापछि बेसक्याम्प पुगिने बताइएको छ। बेसक्याम्प क्षेत्रबाट अपी, नाम्पासहित १५ भन्दा बढी हिमाल, कालीढुङ्गा ताल, पार्वती कुण्ड र चमेलिया नदीको मुहान अवलोकन गर्न सकिन्छ। काठमाडौंबाट करिब आठ दिनको यात्रामा अपी बेसक्याम्पको भ्रमण सम्भव रहेको अध्यक्ष बोहराको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.