भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा बन्द

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा बन्द

काठमाडौं, ३ साउन । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। प्रहरीका अनुसार पहिरो खस्दा केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा सुरक्षाका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

आज बिहान करिब ४:३० बजे काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, रोशी–८ गिम्दी तथा रोशी–९ बिरुवा डाँडा र पिनथली क्षेत्रमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, मकवानपुरको बागमती गाउँपालिका–३ पाङदुर क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पनि पूर्ण रूपमा बन्द भएको छ।

सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले बीपी राजमार्गमा यसअघि नै अर्को सूचना जारी नभएसम्म साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। त्यस्तै, कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गरिएको छ।

इलामको राजदुवाली क्षेत्रमा हिलोका कारण मेची राजमार्ग पनि असार २३ गतेदेखि प्रभावित छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

त्यसैगरी, अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडकखण्ड पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलामा माथिबाट ढुङ्गा खसेपछि पूर्ण रूपमा अवरुद्ध बनेको छ।

यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र बागलुङको कालीगण्डकी करिडोर पनि पहिरोका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम कायम रहेको भन्दै प्रहरीले अत्यावश्यक बाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.