एजेन्सी । जोर्डनमा इरानले गरेको ड्रोन तथा मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ चरणको सैन्य कारबाही सुरु गरेको जनाएको छ।
अमेरिकी सेनाका अनुसार जोर्डनमा भएको आक्रमणको प्रतिशोधस्वरूप इरानका विभिन्न सैन्य लक्ष्यहरूमा लगातार आठौँ रातसम्म हवाई आक्रमण गरिएको हो। उक्त आक्रमणमा एक अमेरिकी सैनिक अझै बेपत्ता रहेका छन् भने चार सैनिक घाइते भई उपचाररत छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्युप्रति दुःख व्यक्त गर्दै इरानलाई कुनै पनि परिस्थितिमा आणविक हतियार विकास गर्न नदिइने स्पष्ट पारे। उनले अमेरिकी सुरक्षामाथि हुने कुनै पनि आक्रमणको कडा जवाफ दिइने चेतावनी पनि दिएका छन्।
अमेरिकी सेनाले युद्ध सुरु भएयता पहिलोपटक इरानी आक्रमणमा आफ्ना सैनिकको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो। सेनाका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा हालसम्म १६ अमेरिकी सैनिकको ज्यान गएको छ भने ४३० भन्दा बढी घाइते भएका छन्।
यता, इरानका सर्वोच्च नेता मुज्तबा खामेनीईले ट्रम्पको अभिव्यक्तिको आलोचना गर्दै अमेरिका नै हालै भएको समझदारी उल्लंघन गर्ने पक्ष भएको आरोप लगाएका छन्। उनले अमेरिकी चेतावनीको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन्।
यसैबीच, कुवेतले इरानी हवाई आक्रमणका कारण आफ्नो सरकारी तेल कम्पनीअन्तर्गतको एक इकाइमा क्षति पुगेको जनाएको छ। इराकको अर्बिलस्थित अमेरिकी वाणिज्य दूतावासलाई लक्षित गरी ड्रोन आक्रमणको प्रयास भएको बताइएपछि त्यहाँको हवाई सुरक्षा प्रणाली तत्काल सक्रिय पारिएको थियो।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार राष्ट्रपति ट्रम्पको स्वीकृतिमा सुरु गरिएको पछिल्लो हवाई कारबाहीको मुख्य उद्देश्य होर्मुज जलमार्ग हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवागमनमा इरानले सिर्जना गरेको जोखिम कम गर्नु हो।
केही दिनअघि ट्रम्पले इरानका पुल तथा विद्युत् पूर्वाधारमाथि पनि आक्रमण हुन सक्ने चेतावनी दिएका थिए। यद्यपि अमेरिकी सेनाले हालसम्म हतियार भण्डारण स्थल, सैन्य अड्डा र रिभोलुसनरी गार्ड्ससँग सम्बन्धित संरचनामाथि मात्रै आक्रमण गरिएको जनाएको छ।
