झापा, २४ कात्तिक । पूर्वी नेपालको प्रमुख निर्यातजन्य वस्तु अलैँचीको निर्यातबाट काँकडभिट्टा नाकाले एक महिनामै करिब ९९ करोड रुपैयाँ आम्दानी गरेको छ ।
मेची भन्सार कार्यालयका अनुसार गत असोज महिनामा काँकडभिट्टा नाकाबाट ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको पाँच लाख ४१ हजार ९४० किलो अलैँची भारत निर्यात भएको हो ।भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सोही अवधिमा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ किलो चिया निर्यात भएको छ ।
त्यस्तै, ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको एक लाख १८ हजार ४४४ किलो प्लाइउड र आठ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख १९ हजार १४० किलो अम्रिसो निर्यात भएको छ । अलैँची, चिया र प्लाइउड पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन हुने प्रमुख निर्यातजन्य वस्तु हुन् ।
भन्सार कार्यालयका अनुसार असोज महिनामा आठ करोड ९५ लाख ३६ हजार रुपैयाँ बराबरको ४६ हजार ७४५ किलो छुर्पी, २९ करोड ८४ लाख ६७ हजार रुपैयाँ बराबरको २० लाख ८० हजार ७६३ किलो फलामे पाता तथा चार करोड ८३ लाख १८ हजार रुपैयाँ बराबरको ४८ हजार ३१८ किलो सुकुटी पनि निर्यात भएको छ ।
यसरी काँकडभिट्टा नाकाबाट अलैँचीसहित चिया, प्लाइउड, अम्रिसो, छुर्पी, फलामे पाता र सुकुटीजस्ता वस्तुको निर्यात हुँदै आएको छ ।
