काठमाडौँ, २२ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थाका लागि इजाजतपत्र अनिवार्य भएको स्मरण गराउँदै २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ। इच्छुक संस्थाले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दर्ता गर्नुपर्नेछ।
इजाजतपत्र प्राप्त गर्न कारोबारको परिमाणअनुसार दस्तुर निर्धारण गरिएको छ। एकपटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। त्यस्तै, पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन पेस गरे पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र प्राप्त नगरेका फर्म, कम्पनी तथा संस्थाले पनि नयाँ सूचनाबमोजिम पुनः अनलाइन आवेदन दिनुपर्ने स्पष्ट पारिएको छ।
विभागका अनुसार अनलाइन आवेदनसँगै पेस गरिएका कागजातको एक–एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्नेछ। साथै, आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक क्रियाकलापमा संलग्न नरहेको व्यहोराको पत्रसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
इजाजतपत्र प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात तथा अन्य विवरणका लागि विभागसँग सम्पर्क गर्न विभागले सम्बन्धित फर्म, कम्पनी तथा संस्थालाई अनुरोध गरेको छ।
