भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

लहानमा अटो रिक्साको सङ्ख्या वृद्धि हुन थालेपछि ट्राफिक व्यवस्थापनमा

लहानमा अटो रिक्साको सङ्ख्या वृद्धि हुन थालेपछि ट्राफिक व्यवस्थापनमा

सिरहा । व्यावसायिक रूपमा सञ्चालित अटो रिक्साको सङ्ख्या वृद्धि हुन थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जथाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।

भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकोे जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलिया बताउँछन् । उनले भने,“अटो चलाउने अधिकांश चालकमा ट्राफिक नियमप्रति सचेतनाको कमी भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा र मुख्यतः पूर्व—पश्चिम राजमार्गमै केन्द्रित भइदिँदा समस्या भयो ।” प्रमुख थपलियाले अटो रिक्सालाई नियमन गर्नको लागि कार्यविधि नभएकाले यसमा स्थानीय तह र यातायात कार्यालयले ध्यान दिनुपर्ने बताए ।

अव्यवस्थित रूपमा सञ्चालन गरिएका अटो रिक्सालाई कानुनको दायरामा ल्याई नियमन गर्नुपर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ । “सिरहाको सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायतका बजार क्षेत्रमा वास्तविक क्षमता भन्दा बढी सङ्ख्यामा अटो रिक्सा सञ्चालित छन् ।

दुर्घटनाको स्थिति हेर्दा कहालीलाग्दो छ”, प्रमुख जिल्ला अधिकारी दाहालले भने,“अटो रिक्साको नियमन र बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला नजुट्ने हो भने स्थिति भयावह हुनसक्छ ।” पछिल्लो समय सिरहामा अटो रिक्सा ठुलो सङ्ख्यामा भित्रिरहेका छन् ।

ट्रेड युनियन महासङ्घ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतीका अनुसार सिरहाको लहानमा मात्रै करिब तीन हजारको सङ्ख्यामा अटो रिक्सा सञ्चालित छन् । जुन सडकको क्षमता भन्दा तीन दोब्बरले बढी हो । सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रूपमा जथाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उप्रेतीको भनाइ छ ।

चाहिनेभन्दा बढी भएपछि रिक्साले बजार नै ढाकेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोती बताउँछन् । “सरकारी नीति र प्रस्ट निर्देशिका बन्न नसक्दा यो सवारीसाधन सबैको टाउको दुखाइ बनेको छ ।” उनले भने, “बजारमा रिक्साले आतङ्क सिर्जना गरेको छ ।

नियमन गर्नको लागि स्पष्ट नीति र नियम छैन । रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था पनि छैन । यसले गर्दा दुर्घटना भएपछि कर्तव्य ज्यान मुद्दा आकर्षित हुन्छ ।” उनले यातायात कार्यालयले निश्चित मापदण्ड बनाएर रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

बिना दर्ता र अव्यवस्थित रूपमा लहान क्षेत्रमा सञ्चालन हुँदै आएका अटो ट्याम्पो तथा ई–रिक्सालाई व्यवस्थापन र नियमन गर्न नगरपालिकाले कार्यविधि तयार पारि लागू गर्ने प्रक्रियामा रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । उनले रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने विश्वास व्यक्त गरे । रासस

 


Thali Mobile Pvt.Ltd.