छलफलका लागि पालिका पुगेका रोल्पा सिमेन्टका कर्मचारी कुटिए

छलफलका लागि पालिका पुगेका रोल्पा सिमेन्टका कर्मचारी कुटिए

सल्यान, २८ पुष । कर्णाली प्रदेशको औद्योगिक विकासमा योगदान दिइरहेको रोल्पा सिमेन्ट उद्योगलाई बन्द गराएको विषयमा छलफल गर्न कपुरकोट गाउँपालिका पुगेको उद्योगका महाप्रवन्धक घनश्याम लालको टोलीमाथि गाउँपालिका परिसरमै कुटपिट भएको छ ।

बन्द सवारी साधन खुलाउने विषयमा छलफल गर्न पुगेको टोलीमाथि गाउँपालिका पदाधिकारीको उपस्थितिमै झलक ओली र प्रेम भण्डारीले कुटपिट गरेको महाप्रवन्धक लालले बताएका छन् । कुटपिटमा संलग्न ओली र भण्डारी पालिका उपाध्यक्ष प्रकाश भण्डारीका नातागोता पर्ने व्यक्ति भएको खुलेको छ ।

सिमेन्ट उद्योगका सवारी साधन सञ्चालन खुलाउन छलफल गर्न गएको टोलीलाई २० किलोमिटर सडक पिच नगरे उद्योग नै बन्द गरिदिने धम्की पालिका नेतृत्वले दिएको आरोप छ । पालिका उपाध्यक्ष प्रकाश भण्डारीको नाममा मंसिर २८ मा जारी विज्ञप्तिमार्फत सिमेन्ट उद्योगका गाडी मात्र सञ्चालनमा रोक लगाइएको थियो ।

मिलन बजार व्यवस्थापन समितिका अध्यक्ष भण्डारी र मिलन बजार युवा क्लबका अध्यक्ष ओली पालिका उपाध्यक्ष भण्डारीका आफ्नै भाइ र भान्जा भएको खुलेको छ । वडा नम्बर ५ को मिलन बजार युवा क्लबको नाममा उद्योगका गाडी रोक्न आदेश जारी गरिएको थियो । क्लबको आदेशलाई पालिका उपाध्यक्षले समाधानतर्फ नलग्दै उद्योग बन्द गराउन उक्साएको आरोप लागेको छ ।

पालिकामा बोलाएर उद्योगका कर्मचारीलाई धम्काउने र कुटपिट गर्ने घटनाले उद्योगी र व्यवसायीहरू दिनप्रतिदिन असुरक्षित बन्दै गएका छन् । संघीय सरकारले उत्पादन प्रवर्द्धनका लागि पूर्वाधार निर्माणमा सघाउने नीति लिएको बेला स्थानीय तहले उद्योगलाई निरुत्साहित गर्ने काम गरेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।

रोल्पा सिमेन्ट उद्योगले कपुरकोट–कोइला सडकखण्ड हुँदै चुनढुंगा ओसार्ने गरेको छ । यस कारण वडा नम्बर ५ को मिलनबजार क्षेत्रमा असर परेको भन्दै स्थानीयले संघर्ष समिति बनाएर सडक कालोपत्रे लगायतका माग अघि सारेका थिए ।

उद्योगले आफ्नै लगानीमा २० वर्षअघि करिब ३० किलोमिटर पहुँचमार्ग बनाएको र समय–समयमा स्थानीय तहसँग सहकार्य गर्दै आएको जनाएको छ ।

उद्योगले बनाएकै सडक प्रयोग गरेर चुनढुंगा ढुवानी गरिरहेको अवस्थामा पालिका नेतृत्वले क्लबको नाममा एकपक्षीय निर्णय गरी सवारी साधन रोक्नु रहस्यमय भएको उद्योग पक्षको भनाइ छ । पालिकाले समस्या समाधान नगरी एउटा उद्योगको मात्र गाडी रोक्नु नियतमा प्रश्न उठ्ने उद्योगीहरूले बताएका छन् ।

मिलनबजार–निगालपानी हुँदै कोइला सडकखण्डमा टिपरका कारण बाटो बिग्रिएको भन्दै सडक बन्द गरिएको भनिए पनि अन्य उद्योगका सवारी साधन भने निर्वाध सञ्चालन भइरहेका छन् । एउटा उद्योगलाई मात्र लक्षित गरी रोक लगाउनु स्वार्थ प्रेरित भएको आरोप व्यवसायीहरूले लगाएका छन् ।

राष्ट्रिय उद्योग नीतिअनुसार उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा स्थानीय जनप्रतिनिधिबाटै उद्योगमाथि दबाब र कुटपिट हुनु गम्भीर विषय भएको भन्दै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.