भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

ट्रम्पको चीन भ्रमणलगत्तै बेइजिङ पुगे पुटिन, विश्व राजनीति फेरि तरंगित

ट्रम्पको चीन भ्रमणलगत्तै बेइजिङ पुगे पुटिन, विश्व राजनीति फेरि तरंगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चीन भ्रमण सम्पन्न भएको केही समयमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेपछि विश्व राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ ।

युक्रेन युद्ध, अमेरिका–चीन सम्बन्ध, ऊर्जा राजनीति तथा पश्चिम एसियामा बढ्दो तनावका बीच भएको पुटिनको चीन भ्रमणलाई विश्व शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । रुसी राष्ट्रपति पुटिन मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटवार्ताका लागि बेइजिङ पुगेका हुन् । क्रेमलिनका अनुसार भ्रमणका क्रममा दुवै नेताबीच रुस–चीन रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा सहकार्य विस्तार गर्ने र बदलिँदो विश्व व्यवस्थाबारे साझा धारणा विकास गर्ने विषयमा विस्तृत छलफल हुनेछ ।

विश्लेषकहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको हालै सम्पन्न चीन भ्रमणपछि भएको पुटिनको भ्रमणलाई विशेष अर्थका साथ हेरिरहेका छन् । ट्रम्प झन्डै एक दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए । उनले अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गरे पनि भ्रमणबाट ठोस उपलब्धि हासिल नभएको टिप्पणी भइरहेका बेला पुटिनको बेइजिङ यात्रा सार्वजनिक भएको हो । यसले मस्को र बेइजिङबीचको सम्बन्ध अझ मजबुत रहेको सन्देश दिन खोजिएको आकलन गरिएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि पश्चिमी मुलुकहरूले मस्कोलाई आर्थिक तथा कूटनीतिक रूपमा अलग्याउने प्रयास गर्दै आएका छन् । त्यसपछि रुसको चीनमाथिको निर्भरता उल्लेखनीय रूपमा बढेको छ ।

विशेषगरी चीन रुसी तेलको प्रमुख बजार बनेको छ भने पश्चिमी प्रतिबन्धका कारण आर्थिक र व्यापारिक सहकार्यमा मस्कोले बेइजिङसँगको सम्बन्धलाई थप प्राथमिकता दिएको छ । भ्रमणअघि नै राष्ट्रपति पुटिन र सी चिनफिङले रुस–चीन रणनीतिक साझेदारीको ३० वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश आदानप्रदान गरेका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले दुवै देशबीचको सहकार्य निरन्तर गहिरिँदै गएको उल्लेख गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.