ट्राफिक संकेतबिनै सडक विस्तार: दुर्घटनाको जोखिम झन बढ्दै

ट्राफिक संकेतबिनै सडक विस्तार: दुर्घटनाको जोखिम झन बढ्दै

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका क्रममा सडकमा संकेत र सूचना नराखिएको कारण सवारी दुर्घटनाको जोखिम तीव्र रूपमा बढिरहेको छ। विशेष गरी बसुन्धरा–धोबीखोला–धुम्बाराही खण्डमा चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत भइरहेका निर्माणकार्यले जनजीवनमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ ।

स्थानीय बासिन्दाहरूका अनुसार, दैनिकजसो साना ठूला दुर्घटना भइरहेका छन्। आइतबार बिहान मात्रै बागमती प्रदेश ०१–०२६ च २५०९ नम्बरको निजी कार सडक किनारमा खनिएको खाल्डोमा फस्दा गम्भीर दुर्घटना हुनबाट जोगिएको थियो ।

सडक खनिएको भए पनि त्यहाँ कुनै संकेत सूचना नराखिएको भन्दै स्थानीयहरू आक्रोशित छन् । उक्त कारका चालकले देब्रेतर्फ मोडिँदा खाल्डो नदेखेको बताइएको छ। ‘निर्दोष चालकहरू यस्ता खतरामा पर्नु दुखद हो,’ एक स्थानीयले भने ।

ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख इन्स्पेक्टर भुवन बराम भन्छन्, “सडकमा काम भइरहेका बेला चालकहरूले पनि पर्याप्त सावधानी अपनाउनु पर्छ । खनेको ठाउँ त्यत्तिकै छाडिएको छैन, काम चलिरहेको छ, मान्छे र ट्याक्टरहरू पनि भइरहन्छन् ।”  तर स्थानीयहरू भने सडक विभागले जिम्मेवारपूर्वक सूचना बोर्ड नबनाएको र बाटो खुल्ला छ भनेर भ्रम सिर्जना हुने अवस्था बनाएको गुनासो गर्छन् ।

कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किलोमिटर सडकखण्डको विस्तार हाल चीन सरकारको अनुदान सहयोगमा सडक विभागमार्फत भइरहेको छ । तर सूचना प्रणालीको अभावले यसले सुरक्षा जोखिमको अवस्था सिर्जना गरेको छ । इन्स्पेक्टर बरामका अनुसार, बोर्ड नराखिएको होइन, तर भीडभाडमा कहिलेकाहीँ संकेतहरू छेकिने वा हटाइने जस्ता समस्याले दुर्घटना निम्त्याइरहेको छ ।

सडक विकाससँगै सार्वजनिक सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता स्थानीय तह र ट्राफिक प्रहरी दुवैले महसुस गरिरहेका छन् । संकेत प्रणाली, रात्रीकालीन बत्ती र निर्माणस्थल सुरक्षित बनाउने पहल नगरेसम्म यस्ता दुर्घटनाका श्रृंखला दोहोरिइरहने देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.