काठमाडौं, ११ माघ । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ। ती व्यक्तिहरूले सरकारलाई कुल १ अर्ब ९१ करोड ७७ लाख २६ हजार ६ सय ७१ रुपैयाँ तिर्न बाँकी रहेको छ।
सार्वजनिक विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यलगायत कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरीसमेत विभिन्न पेसामा संलग्न व्यक्तिहरूको नाम समावेश छ।
महालेखा नियन्त्रकको कार्यालयअन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा तथा ब्याज रकम तिर्न निर्देशन दिएको छ।
तोकिएको समयभित्र रकम नतिरे चल–अचल सम्पत्ति जफत गरी प्रचलित कानुनअनुसार असुल उपर गरिने चेतावनी दिइएको छ।सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी रकम भारतीय नागरिक राकेश वाधवाले तिर्न बाँकी रहेको छ। उनले १ अर्ब ५ करोड ८९ लाख १ हजार ३ सय ३० रुपैयाँ सरकारलाई बुझाउन बाँकी राखेका छन्।
राकेशको ‘रिक्रियसन सेन्टर’ ले सोल्टी, अन्नपूर्ण, हायात, एभरेस्टलगायतका होटेलमा विभिन्न चरणमा क्यासिनो सञ्चालन गरेको उल्लेख छ। सबैभन्दा कम रकम पर्साका प्रभुप्रसादको नाममा १३ हजार रुपैयाँ बक्यौता रहेको छ।
केन्द्रीय तहसिल कार्यालयका अनुसार सरकारी रकम तिर्न बाँकी रहेकाहरूको लगत कायम गरी नाम वेबसाइटमा राखेर तथा ठेगानामा पत्राचार गरी विगतका वर्षहरूमा पनि पटक–पटक सूचना प्रकाशित गरिएको थियो। तर ती प्रयासका बाबजुद रकम नबुझाइएकाले बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गरिएको जनाइएको छ।

