म्याग्दी । रघुगङ्गा गाउँपालिका ७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाबाट पात्लेखेत, जसलाङ, सिजिखोला, सिजिखर्क, थामखर्क, खोलाखर्क, सिसर्का, तल्लोमेला, उपल्लोमेला, आलेखर्क, नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरिएको हो ।
समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको टीका पुनले बताए । चिमखोलाबाट हिँड्न सक्ने एक दिन र बिस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । चिमखोलावासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे ।
नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचार प्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको क्लबका अध्यक्ष प्रविन बुढाले बताए । ‘पूर्वाधार र प्रचार–प्रसारको कमीले प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ ।
संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृश्यावलोकन गर्न पाउन सोवाङ धुरीको मुख्य विशेषता हो । सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।
बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्य देखिने चिमखोलाका वकिल पुनले बताए। सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिने उनले बताए।
सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी पहिचान भएको धवलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरबाट सुरु भएर भगवती–रुइसे–भेडीओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ ।
मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धवलागिरि हिमालको आधार शिविर पुग्न सक्छन् । आधार शिविरबाट बाँझोबुकी–कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगङ्गा नदीको किनार नै किनार हुँदै सङ्गुरथला भएर कुइनेमङ्गलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्नेगरी दुई वटा पदमार्ग सञ्चालनमा रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए ।
टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर टान तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धललागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो ।
यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।
