भक्तपुर, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सूर्यविनायक नगरपालिकाले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको १२५औँ आकस्मिक नगर कार्यपालिका बैठकले विपद्मा परी बेपत्ता भएका व्यक्तिको खोजी, उद्धार, घाइतेको उपचार तथा प्रभावित नागरिकको सुरक्षित पुनर्स्थापना र सहज जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
यसैगरी सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरूले पनि आफ्नो एक महिनाको सेवा सुविधाबाट बाढीपीडितका लागि सहयोग गर्ने भएका छन् । निर्णयअनुसार नगर प्रमुखले ३५ हजार रुपैयाँ, नगर उपप्रमुखले १५ हजार रुपैयाँ, वडाध्यक्षहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँ, कार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति ६ हजार रुपैयाँ र वडा सदस्यहरूले प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ सहयोग गर्नेछन् ।
नगरपालिकाले विपद्को कठिन घडीमा प्रभावित नागरिकको खोजी, उद्धार, स्वास्थ्य उपचार तथा राहतका लागि आवश्यक सहयोगमा सक्रिय रहने जनाएको छ । साथै राष्ट्रिय विपद्को यस अवस्थामा नागरिक समाज, निजी क्षेत्र, संघसंस्था तथा शुभेच्छुकहरूलाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ ।
नगर प्रमुख बासुदेव थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।
