एजेन्सी, १४ भदौ । अमेरिकासँग भएको नयाँ तेल सम्झौताले देशको प्राकृतिक स्रोतसाधनमाथिको स्वामित्व तथा सार्वभौमसत्ता प्रभावित नहुने भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले बताएकी छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उक्त सम्झौतालाई ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’को संज्ञा दिएका थिए ।सम्झौताअन्तर्गत भेनेजुएलाको ठूलो प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षलाई महत्वपूर्ण तथा बहुमत नियन्त्रण रहने बताइएको छ ।
तर रोड्रिगेजले भेनेजुएलाले आफ्नो प्राकृतिक स्रोतसाधनमाथिको स्वामित्व र सार्वभौमसत्ता कायम राख्ने स्पष्ट पारेकी छन् । उनका अनुसार सम्झौताको मुख्य उद्देश्य हाल निष्क्रिय अवस्थामा रहेका तेल स्रोतलाई पुनः उत्पादनमा ल्याएर भेनेजुएलाका जनताको सामाजिक तथा आर्थिक हितमा प्रयोग गर्नु हो ।
काराकासका अनुसार सम्झौताअन्तर्गत निजी क्षेत्रबाट करिब १०० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने योजना छ । उक्त लगानी भेनेजुएलाको तेल उद्योगलाई पुनर्जीवित गर्न प्रयोग गरिने बताइएको छ । तर सम्झौताको विस्तृत विवरण सार्वजनिक नभएकाले भेनेजुएलाभित्रै यसको लाभ, राजनीतिक प्रभाव तथा सार्वभौमसत्तासम्बन्धी प्रश्न उठ्न थालेका छन् । सर्वसाधारण तथा सामाजिक सञ्जालका प्रयोगकर्ताले सम्झौताबाट वास्तविक फाइदा कसलाई पुग्छ भन्ने विषयमा चासो व्यक्त गरेका छन् ।
रोड्रिगेजले भेनेजुएलाको खानी तथा पेट्रोलियम क्षेत्रलाई निजी पूँजी र विदेशी लगानीका लागि थप खुला गर्ने सुधार अघि बढाएकी छन् । यसैबीच अमेरिकाले मादुरो सरकारको पालामा भेनेजुएलाको तेल क्षेत्रमा लगाएका केही प्रतिबन्ध हटाएको बताइएको छ । जनवरीदेखि जुलाईसम्म भेनेजुएलाको तेल उत्पादन २९.८ प्रतिशतले बढेर दैनिक १२ लाख ब्यारेल पुगेको बताइएको छ । यद्यपि यो उत्पादन करिब २५ वर्षअघिको स्तरभन्दा निकै कम हो ।
अमेरिकासँगको नयाँ सम्झौताले उत्पादन बढाउने लक्ष्य राखे पनि त्यसको परिणाम तत्काल देखिन नसक्ने विश्लेषकहरूको भनाइ छ ।काराकासस्थित उच्च अध्ययन प्रशासन संस्थानका प्राध्यापक ओस्वाल्डो फेलिजोलाका अनुसार तेल उत्पादनमा उल्लेख्य वृद्धि हुन कम्तीमा तीनदेखि चार वर्ष लाग्न सक्छ । लामो समयदेखि पर्याप्त लगानी आकर्षित गर्न नसकेको भेनेजुएलाको तेल उद्योगमा अमेरिकी लगानी आउनु सकारात्मक कदम हुनसक्ने उनको विश्लेषण छ ।
उनका अनुसार राज्य स्वामित्वको पेट्रोलियोस डे भेनेजुएला अर्थात् पीडीभीएसएसँग आवश्यक स्तरको लगानी गर्न पर्याप्त आर्थिक स्रोत छैन ।भेनेजुएलाको अर्थतन्त्र सन् २०१४ देखि २०२१ सम्म करिब ८० प्रतिशतले सङ्कुचित भएको थियो । आर्थिक संकटका कारण ठूलो संख्यामा मानिस गरिबीमा धकेलिएका छन् ।
नयाँ सम्झौताबाट तेल राजस्व बढ्ने आशा गरिए पनि त्यसको प्रभाव सर्वसाधारणको दैनिक जीवनमा देखिन अझै समय लाग्ने सरकारी कर्मचारी तथा स्थानीय बासिन्दाहरूको भनाइ छ ।रोड्रिगेजले सम्झौताबाट २०४ अर्ब अमेरिकी डलरभन्दा बढी कर राजस्व प्राप्त हुने दाबी गरेकी छन् ।
विश्लेषकहरूले पर्याप्त लगानी, पारदर्शिता र प्रभावकारी व्यवस्थापन हुन सकेमा नयाँ सम्झौताले भेनेजुएलाको तेल उद्योग पुनर्जीवित गर्न तथा आर्थिक पुनरुत्थानलाई गति दिन सक्ने बताएका छन् ।
