पश्चिम नवलपरासी, २५ साउन । नारायणी नदीमा पानीको बहाव बढेसँगै पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा डुबान र नदी कटानको जोखिम बढेको छ। जोखिम बढेपछि स्थानीयवासी र सुरक्षाकर्मी मिलेर बस्ती जोगाउन अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्।
सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता थारुटोलदेखि सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपासको क्षेत्रमा स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सामूहिक रूपमा तटबन्ध निर्माणमा खटिएका छन्।
बोरामा बालुवा तथा माटो भरेर नाइलनको डोरीले बाँध्दै नदी किनारमा राखेर अस्थायी बाँध निर्माण भइरहेको छ। नदीको बहाव बस्तीमा पस्न नदिन स्थानीयस्तरबाट तत्काल संरक्षणको प्रयास थालिएको हो। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार डुबान र नदी कटानको जोखिम न्यूनीकरणका लागि स्थानीय समुदाय नै अग्रसर भएर अस्थायी संरक्षणको काम गरिरहेको छ। उनका अनुसार स्थानीयवासी र तीनवटै सुरक्षा निकायको सहयोगमा चौबिसै घण्टा तटबन्ध निर्माणको काम भइरहेको छ।
‘अहिले हाम्रो पहिलो प्राथमिकता गाउँलाई डुबान र नदी कटानबाट जोगाउनु हो,’ जैसवालले भने, ‘स्थायी समाधान नहुँदासम्म स्थानीयकै श्रम र उपलब्ध साधन प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिरहेका छौँ।’ केही दिनअघि स्थानीयवासीले निर्माण गरेको यस्तै अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काइदिएको आरोप सार्वजनिक भएपछि सुस्ताको समस्या राष्ट्रिय चर्चामा आएको थियो। त्यसपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायबीच पटक–पटक छलफल भएपछि तत्कालका लागि अस्थायी संरक्षणको काम अघि बढाइएको हो।
यसअघि नारायणी सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना, भरतपुरले ठेक्का प्रक्रियामार्फत स्थायी तटबन्ध निर्माण अघि बढाउने तयारी गरेको थियो। तर भारतीय पक्षले माथिल्लो तहको स्वीकृति आवश्यक पर्ने भन्दै निर्माणमा अवरोध गरेको स्थानीयको भनाइ छ। त्यसपछि स्थायी संरचना निर्माण रोकिएको र तत्कालका लागि अस्थायी तटबन्ध निर्माणलाई प्राथमिकता दिइएको हो।
सुस्तामा बढ्दो जोखिमलाई ध्यानमा राख्दै नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले अस्थायी तटबन्ध निर्माणका लागि बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ। स्थानीयवासीले सरकारी निकायबाट प्राप्त सामग्रीसँगै आफ्नै स्रोतबाट समेत बोरा, बालुवा र डोरीको व्यवस्था गरी निर्माणलाई तीव्रता दिएका छन्।
प्रवक्ता जैसवालका अनुसार नारायणी नदीको बहाव अझ बढ्ने सम्भावना रहेकाले तटबन्ध निर्माणलाई निरन्तरता दिइएको छ। आवश्यक परे थप जनशक्ति र सामग्री परिचालन गरेर बस्ती सुरक्षित बनाउने तयारी गरिएको उनले बताए। सुस्ता क्षेत्र वर्षेनी नारायणी नदीको कटान र डुबानबाट प्रभावित हुँदै आएको छ।
स्थानीयवासीले लामो समयदेखि दीर्घकालीन तटबन्ध निर्माणको माग गर्दै आएका छन्। उनीहरूका अनुसार अस्थायी बाँधले तत्कालका लागि केही राहत दिए पनि स्थायी तटबन्ध निर्माण नहुँदासम्म हरेक वर्ष वर्षायाममा बस्ती जोखिममा पर्ने अवस्था दोहोरिनेछ।
सीमावर्ती क्षेत्रमा देखिएको प्राविधिक तथा प्रशासनिक जटिलता समाधान गर्दै नेपाल र भारतका सम्बन्धित निकायबीच समन्वय गरेर दीर्घकालीन तटबन्ध निर्माण शीघ्र अघि बढाउन स्थानीयवासीले सरकारसँग आग्रह गरेका छन्।
