भर्खरै : Sorry, your browser does not support inline SVG.

कान्ति राजमार्ग स्तरोन्नतिले लियो गति, २१ किमी खण्डमा ५० प्रतिशत काम सम्पन्न

कान्ति राजमार्ग स्तरोन्नतिले लियो गति, २१ किमी खण्डमा ५० प्रतिशत काम सम्पन्न

मुख्य बुँदा

कान्ति राजमार्गको स्तरोन्नति कार्यले गति लिएको छ।

राजमार्गको कुल लम्बाइ ८० किलोमिटर रहेको छ।

लेले–बकैया २१ किलोमिटर खण्डमा करिब ५० प्रतिशत भौतिक प्रगति

सडक स्तरोन्नतिसँगै बाढी तथा पहिरो नियन्त्रणको काम भइरहेको छ।

भिरालो तथा पानी जम्ने क्षेत्रमा सिमेन्ट कङ्क्रिट प्रयोग गरिनेछ।

अन्य क्षेत्रमा अस्फाल्टबाट कालोपत्र गर्ने योजना।

प्लम वाल, ग्याबिन जाली र कटिङको काम भइरहेको छ।

आगामी वर्षभित्र सडक सुरक्षा तथा कालोपत्रका काम सक्ने लक्ष्य।

कान्ति राजमार्ग सञ्चालनमा आएपछि काठमाडौं–हेटौँडा यात्रा सहज र छोटो हुने अपेक्षा।

काठमाडौं, २४ साउन। संघीय राजधानी काठमाडौंलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्यले गति लिएको छ। राजमार्गलाई फराकिलो बनाउने, कटिङ गर्ने तथा जोखिमयुक्त मोड सुधार गर्ने काम अघि बढाइएको छ।

कान्ति राजमार्ग सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीन खण्डमा विभाजन गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ। कुल ८० किलोमिटर लामो कान्ति राजमार्ग हेटौँडाको बुद्धचोकदेखि ललितपुरको एकान्तकुनासम्म फैलिएको छ। यसमध्ये मकवानपुरतर्फ ५० किलोमिटर र ललितपुरतर्फ ३० किलोमिटर सडक रहेको छ।

योजनाका इन्जिनियर उपेन्द्र महारानका अनुसार हाल ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको २१ किलोमिटर सडक खण्डको स्तरोन्नति धमाधम भइरहेको छ। उक्त खण्डमा हालसम्म करिब ५० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए।

पहिरो नियन्त्रणसहित स्तरोन्नति

लेले–बकैया खण्डको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि २०८२ जेठ २१ गते ठेक्का सम्झौता भएको थियो।यसअघि तयार गरिएको अभिलेखमा करिब चार किलोमिटर मात्र कालोपत्र गर्ने उल्लेख भए पनि अहिले बाढी तथा पहिरो नियन्त्रणलाई समेत समेटेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम भइरहेको योजनाले जनाएको छ।

बढी भिरालो तथा पानी जम्ने क्षेत्रमा रिजिड पेभमेन्ट अर्थात् सिमेन्ट कङ्क्रिट प्रयोग गरिनेछ भने अन्य भागमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्ने योजना रहेको छ।

जोखिमयुक्त क्षेत्रमा प्राथमिकता

निर्माणको जिम्मा पाएको कन्काई–ब्राइट मल्टि–दिव्यज्योति जेभीका सञ्चालक राजकुमार बुढाथोकीले विपद्जन्य योजना भएकाले जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।

हाल सडक खण्डमा प्लम वाल, ग्याबिन जाली लगाउने तथा कटिङ गर्ने काम भइरहेको छ। आगामी वर्ष रोड सेफ्टीलगायतका काम अघि बढाउने तयारी रहेको उनले बताए।

वर्षायाममा हरेक वर्ष ठूलो पहिरो खस्दा यातायात अवरुद्ध हुने समस्या रहेकाले यसपटक पहिरो नियन्त्रणका लागि विशेष काम भइरहेको निर्माण कम्पनीको भनाइ छ।

आगामी वर्षभित्र सडक सुरक्षाका काम सक्ने लक्ष्य

निर्माण व्यवसायीले आगामी वर्षभित्र रिजिड पेभमेन्ट, ब्ल्याक टप अर्थात् कालोपत्र तथा सडक सुरक्षाका लागि बायो–इन्जिनियरिङका काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।

निर्माण कम्पनीका अनुसार भुक्तानी समयमै हुने, बिटुमिन तथा इन्धनलगायत निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने र सरकारले निर्माणका लागि आवश्यक वातावरण बनाएमा निर्धारित समयमै काम सम्पन्न गर्न सकिनेछ।

निर्माण व्यवसायीले राज्यका तर्फबाट समयमै भुक्तानी, बिटुमिन तथा इन्धनको सहज आपूर्ति र मूल्यवृद्धिको उचित सम्बोधन भएमा निर्माण कार्य अझ सहज हुने बताएका छन्। कान्ति राजमार्ग पूर्ण रूपमा स्तरोन्नति भएर सञ्चालनमा आएपछि काठमाडौं र हेटौँडाबीचको यात्रा थप सहज, सुरक्षित र छोटो हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.