मुख्य बुँदा 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान अझै सुरु भएन

हिमालय एयरलाइन्सको पोखरा–ल्हासा उडान बन्द

पहिलोपटक पोखराबाट भारततर्फ मेडिकल चार्टर उडान

पर्यटन व्यवसायी र निजी क्षेत्र सरकारसँग कूटनीतिक पहलको मागमा

अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल र पर्यटन क्षेत्रमा लगानी प्रभावित

गण्डकी, ७ जेठ । छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।

सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि त्यो लामो समय टिक्न सकेन । गत मार्च २३ बाट हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सेवा बन्द गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।

“यात्रु सङ्ख्या न्यून भएको भन्दै हिमालय एयरलाइन्सले एक वर्षमै पोखरा–ल्हासा उडान सेवा बन्द गरेको छ”, उनले भने, “छिटपुट रूपमा चार्टर उडानबाहेक अहिले पोखराबाट नियमित रूपमा कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।”

मङ्गलबार पहिलोपटक पोखराबाट भारततर्फ मेडिकल चार्टर उडान भएको महाप्रबन्धक निरौलाले बताउनुभयो । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी पर्नुभएका भारतको मध्यप्रदेश, भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर उडानमार्फत भारत पठाइएको उनको भनाइ छ । उनका अनुसार श्री एयरलाइन्सको जहाजले मङ्गलबार दिउँसो ३ः९ मिनेटमा भोपालका लागि उडान भरेको थियो ।

भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवं मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीका परिवारको समन्वयमा श्री एयरलाइन्सले उक्त मेडिकल चार्टर उडान गरेको महाप्रबन्धक निरौलाले बताउनुभयो । “पहिलोपटक पोखरादेखि भारतका लागि चार्टर उडान भएको हो, यसले पोखरादेखि भारतका विभिन्न सहरमा नियमित उडानका लागि अनुमति लिन र आवश्यक कूटनीतिक पहल थाल्न नेपाल सरकारलाई सहज हुने देखिन्छ”, उहाँले भन्नुभयो ।

भारत सरकारले अनुमति दिएमा नेपाली एयरलाइन्स कम्पनीहरूले भारतका विभिन्न गन्तव्यमा उडान भर्न सक्ने महाप्रबन्धक निरौलाले बताउनुभयो । पोखरादेखि चीन, भुटानलगायत देशमा यसअघि चार्टर उडान भए पनि भारतमा पहिलोपटक चार्टर उडान भएको हो ।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकार र सम्बद्ध निकायले प्रयास गर्दै आए पनि त्यसले सार्थक रूप लिन सकेको छैन । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको हो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखरादेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सङ्घ सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताए । “निजी क्षेत्र, स्थानीय तह, प्रदेश सरकारलगायतले यो विषय उठाउँदै आएका छन्”, उनले भने, “परराष्ट्र मामिलासँग जोडिएको र कूटनीतिक विषय भएकाले सङ्घ सरकारले नै यसमा निर्णायक पहल लिनु आवश्यक छ ।” भारतसँगको सीधा हवाई मार्गमा पोखरालाई जोड्न सके पोखरासहित सिङ्गो मुलुकले पर्यटन र व्यापारबाट फाइदा लिनसक्ने उनको भनाइ छ ।

अध्यक्ष कार्कीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीले ठुलो मेहनत र सङ्घर्ष गर्नुपरेको सुनाउनुभयो । पोखरादेखि हुने आन्तरिक उडान भने धेरै सहज हुँदै गएको उनको भनाइ छ । “पहिले पोखराबाट दिउँसो ३ः०० बजेपछि उडान हुँदैनथ्यो, अहिले रात्रिकालीन उडान पनि भइरहेको छ”, अध्यक्ष कार्कीले भने, “नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेमा देशले ठुलो लाभ पाउँथ्यो, अर्बौँ खर्चेर बनाइएको विमानस्थल घाटामा चलाउनुपर्ने अवस्थाको अन्त्य हुनेथ्यो ।”

पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठुलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश छन् । यस विमानस्थल बनेपछि पोखराको पर्यटनमा झन्डै एक खर्ब रुपैयाँ लगानी थपिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न पर्यटन व्यवसायीलगायतले पटक–पटक सङ्घ सरकारसमक्ष आग्रह गरे पनि हालसम्म कुनै परिणाम निस्कन नसकेको उनको भनाइ छ । सङ्घ सरकारले कूटनीतिक पहलमार्फत विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान हुने वातावरण निर्माण गर्नुपर्ने पूर्वअध्यक्ष श्रेष्ठले बताए । “विमानस्थल उद्घाटन भएको साढे तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नु विडम्बना हो”, उनले भने, “पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान नभएसम्म पर्यटकीय राजधानीका रूपमा पोखराले यथोचित लाभ लिन सक्दैन ।”

सरकारले शीघ्र कूटनीतिक पहल सुरु गरेर नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायीसमेत मारमा परेका छन् । पोखराको पर्यटन क्षेत्रमा करिब रु छ खर्बको लगानी रहेको अनुमान छ । पछिल्लो समय पनि तारे होटल धमाधम बनिरहेका छन् । विमानस्थललाई हेरेर लगानी गरेका होटल व्यवसायी पनि चिन्तित छन् । सरकारले जतिसक्दो चाँडो पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरोस् भन्ने उनीहरूको माग छ ।

व्यवसायीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक नीति, नियममा सहजीकरण गर्नुपर्ने, भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीहरूलाई अनुमति दिनुपर्नेलगायत माग राख्दै आएका छन् । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट सुरु गर्नुपर्ने कतिपयको भनाइ छ । पोखरा र सिङ्गो गण्डकी प्रदेशको समृद्धिको आधार मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके पर्यटकीय राजधानी पोखराले पर्यटनमा ठुलो फड्को मार्ने देखिन्छ ।

स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । सरकारले आगामी आव २०८३ र ०८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको छ । हवाई पूर्वाधार विकास, अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

मुख्य बुँदा

त्रिभुवन विमानस्थलबाट २८,९०० अमेरिकी डलरसहित तीन जना पक्राउ

काठमाडौँ र सिन्धुपाल्चोकका व्यक्ति संलग्न

चीनको ग्वाङझाउ जाँदै गर्दा पक्राउ

दुई जनाबाट १०/१० हजार, एकबाट ८,९०० डलर बरामद

अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइयो

काठमाडौँ, ६ फागुन । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौँको नागार्जुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा तथा लिसङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार उनीहरू चाइना साउदर्न एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट चीनको ग्वाङझाउ जाँदै गर्दा पक्राउ परेका हुन् ।

प्रहरीले अनिता र सङ्गीताको साथबाट १०/१० हजार अमेरिकी डलर तथा विनोदको साथबाट ८ हजार ९०० अमेरिकी डलर बरामद गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं, ५ कात्तिक । चाडपर्वको समय नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप उल्लेख्य रूपमा बढेको देखिएको छ । पछिल्लो एक महिनाको तथ्यांक अनुसार विमानस्थलमार्फत कुल ७ लाख ६१ हजार ४१४ यात्रुले सेवा लिएका छन् ।

अक्टोबर २०२५ (२०८२ असोज–कात्तिक) मा आन्तरिक उडानमार्फत ३ लाख २३ हजार १२ यात्रुले सेवा लिएका थिए । तीमध्ये २ लाख ४ हजार ५८८ यात्रु काठमाडौंबाट प्रस्थान गरेका थिए भने १ लाख १८ हजार ४२४ यात्रु काठमाडौं फर्किएका थिए । यस अवधिमा काठमाडौंबाट ४ हजार २०९ उडान भएका छन् भने ४ हजार २०८ जहाज अवतरण गरेका छन् । जसअनुसार आन्तरिक उडान/अवतरण संख्या ८ हजार ४१७ पुगेको छ ।

अन्तर्राष्ट्रिय यात्रातर्फ, अक्टोबर महिनामा १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट बाहिरिएका छन् भने २ लाख ४० हजार ३९४ यात्रु नेपालमा भित्रिएका छन् । यससँगै अन्तर्राष्ट्रिय तर्फको कुल यात्रु संख्या ४ लाख ३८ हजार ४०६ रहेको छ । साथै, २ हजार १३६ यात्रुले ट्रान्जिट सेवा लिएको त्रिभुवन विमानस्थलको तथ्यांकले देखाउँछ ।

अन्तर्राष्ट्रिय उडान र अवतरण दुबै १ हजार ५८५-१ हजार ५८५ गरी कुल ३ हजार १७० पटक भएको छ । हाल त्रिभुवन विमानस्थलबाट ३१ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले सेवा दिइरहेका छन् । विमानस्थलका अनुसार अक्टोबर महिनामा यात्रुको संख्यामा सधैंजसो वृद्धि हुने गर्दछ, तर यो वर्ष दशैं र तिहारको चापले गर्दा सेवा दिने क्षमतामा उच्च दबाव परेको छ । यात्रु संख्याको तीव्र वृद्धिसँगै विमानस्थल व्यवस्थापनले सुरक्षा र सेवाको गुणस्तरमा थप सतर्कता अपनाएको जनाएको छ ।

काठमाडौँ, १९ असोज । वर्षा घटेर आकाश खुल्न थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा पुनः नियमित बन्दै गएको छ।विमानस्थल कार्यालयका अनुसार, विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण हिजोदेखि आन्तरिक उडानहरू स्थगित गरिएको थियो भने केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका थिए।

तर, आज बिहानदेखि मौसम सुधार हुँदै गएपछि उडान र अवतरण दुवै नियमित भएको विमानस्थलले जनाएको छ। बिहानैदेखि देशका विभिन्न स्थानतर्फका आन्तरिक उडानहरू सुचारु भएका छन् भने अन्तर्राष्ट्रिय उडानहरू पनि निर्धारित समयमै सञ्चालनमा आएका छन्।

विमानस्थल प्रशासनले यात्रुहरूलाई निर्धारित समयमा नै विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ। साथै, मौसममा अचानक परिवर्तन हुन सक्ने भन्दै सम्भावित ढिलाइका लागि तयारीसहित यात्रा गर्न सल्लाह दिइएको छ।

काठमाडौँ, १८ असाेज। बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् । खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार, “मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भइरहेको छन् । अविरल वर्षाका समयमा आन्तरिक उडान गर्न जोखिम हुने भएकाले अहिले स्थगन गरिएको हो ।”

आज बिहानदेखि देशका विभिन्न स्थानहरूमा लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने राति अझ बढी वर्षा हुने अनुमान गरिएको छ ।

काठमाडौँ,  १७ असार । नेपाल वायुसेवा निगम स्थापना भएको ६८ वर्ष पुगेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक समय दक्षिण एसियाको प्रतिष्ठित हवाई सेवा प्रदायकको रूपमा उचाइ हासिल गरे पनि अहिले भने सेवा र आर्थिक अवस्थाको दृष्टिले निकै कमजोर बनेको छ।

निगमले आफ्नो सुरुआत २८ सिट क्षमताको डोग्लस डीसी–३ डाकोटा विमानबाट गरेको थियो। त्यसयता कालक्रममा सानाठूला गरी २१ वटा विमान सम्म पुगेको निगमसँग हाल अन्तर्राष्ट्रिय सेवाका लागि २ थान वाइडबडी ए–३३० र २ थान न्यारोबडी ए–३२० सिरिजका जहाज मात्र बाँकी छन्। यी जहाजमार्फत निगमले ८ मुलुकका १० गन्तव्यसम्म सेवा दिइरहेको छ।

आन्तरिक उडानतर्फ व्यावसायिक सेवा नाजुक बनेको छ। व्यवसायिक प्रयोजनका लागि प्रयाप्त जहाज नहुँदा निगमले हाल १९ सिट क्षमताका २ वटा साना जहाजमार्फत दुर्गम क्षेत्रका केही विमानस्थलहरूमा मात्र सेवा दिइरहेको छ।

हवाई बजारमा निगमको हिस्साले पनि गिरावट व्यहोरेको छ। हाल आन्तरिकतर्फ बजार हिस्सा जम्मा ३ प्रतिशतमा सिमित छ भने अन्तर्राष्ट्रिय उडानमा २० प्रतिशत हाराहारीमा मात्र छ। नेपालको हवाई इतिहासमा सन् १९९० को दशक निगमको स्वर्ण युगका रूपमा चिनिन्छ। त्यसबेला निगमका विमानहरू जापानको ओसाका, चीनको साङ्घाई हुँदै युरोपका लन्डन, पेरिस, फ्र्याङ्कफर्टसम्म पुग्ने गर्थे। निगमसँग त्यसबेला आफ्नै प्रशस्त स्वदेशी पाइलट र इञ्जिनियरहरू थिए। अन्तर्राष्ट्रियस्तरमा यो एक गौरवपूर्ण राष्ट्रिय कम्पनीको रूपमा चिनिन्थ्यो।

हाल भने अवस्था त्यस्तो छैन। व्यवस्थापन असफलता, राजनीतिक हस्तक्षेप, अनियमितता र दूरदर्शी योजना अभावका कारण निगम आर्थिक रूपमा गहिरो संकटमा पुगेको छ। निगमको सेवा गुणस्तरमा निरन्तर गिरावट आउँदा ग्राहक विश्वास पनि घटेको देखिन्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, “वर्तमान अवस्थामा निगम आर्थिक रूपमा कमजोर भए पनि नेपालको हवाई इतिहासको जग बसाल्ने महत्वपूर्ण संस्थाका रूपमा यसको भूमिका महत्वपूर्ण छ।”

६८ वर्षको लामो यात्रामा निगमले उचाइका साथै गम्भीर पतन पनि भोगेको छ। अब यसको पुनरुत्थानका लागि व्यापक सुधार र राजनीतिक इच्छाशक्ति आवश्यक देखिएको छ।

एजेन्सी, ०१ असार । भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डियाको ड्रीमलाइनर विमान दुर्घटनामा परेर ज्यान गुमाएका क्याबिन क्रु सदस्यहरूको कथा आँशु झार्ने खालका छन्।

एकातिर दशौँ वर्षको सेवा सकेर अबको केही महिनामा अवकाश लिने योजनामा रहेका अनुभवी पाइलट सुमित सभरवाल, अर्कातिर विवाहको तयारीमा रहेकी युवा एयर होस्टेस रोशनी संघारे।

दुर्घटनामा चालक दलका सबै आठ सदस्यको ज्यान गएको पुष्टि भएको छ। पाइलट सभरवाल, सह–पाइलट क्लाइभ कुन्दर, तथा क्याबिन क्रु सदस्य अपर्णा महाडिक, मैथिली पाटिल, दीपक पाठक, रोशनी संघारे, साइनिता चक्रवर्ती र इरफान शेख यस दुखद दुर्घटनामा मारिएका हुन्।

सुमित सभरवाल करिब ८ हजार घण्टाभन्दा बढीको उडान अनुभवसहित अब अवकाश लिएर वृद्ध बुबासँग बस्ने योजनामा थिए। तर नियतिले उनलाई अन्तिम उडानमै रोकेको छ।

मैथिली पाटिल, गाउँकी साधारण परिवारबाट आएर एयर होस्टेस बनेकी थिइन्। उनी बाल्यकालदेखिको सपना पुरा गर्दै थिइन्। दीपक पाठक, बदलापुरकी हुन । उनी ११ वर्षदेखि क्याबिन क्रुको रूपमा सेवा गरिरहेकी थिरइन । चार वर्ष अघि विवाह गरेका उनी जीवनको सुदृढ यात्रामा थिए। रोशनी संघारे अन्तर्राष्ट्रिय एयरलाइन्समा काम गर्ने सपना साकार पार्दै थिइन्, उनको विवाहको कुरा घरमा चलिरहेको थियो।

अपर्णा महाडिक वरिष्ठ क्रु सदस्य थिइन्, उनको ९ वर्षीया छोरी अहिले आमाविहीन भएकी छिन्। इरफान शेख २२ वर्षका थिए। विमान उड्नुअघि उनले फेसबुकमा स्टेटस अपडेट गरेका थिए-जुन सम्भवत: उनको अन्तिम थियो।

यस दुर्घटनाले चालक दलका सदस्यहरूसँगै सयौं यात्रुको पनि ज्यान लिएको छ। घटना भारतको हवाई इतिहासकै एक दुःखद स्मृति बनेको छ।