नेपाल प्रहरीले ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्ने तयारी।
मानव बेचबिखन डिजिटल माध्यमबाट साइबर स्लेभरी र अनलाइन ठगीतर्फ रूपान्तरित।
पछिल्लो ३ वर्षमा ५३० मानव बेचबिखनका मुद्दा दर्ता।
७१० पीडितमध्ये ८६ प्रतिशत महिला तथा बालबालिका।
विदेशमा रहेका नेपालीको सुरक्षाका लागि थप प्रहरी सहचारी आवश्यक रहेको प्रहरीको धारणा।
काठमाडौं, १२ साउन । मानव बेचबिखनको बदलिँदो तथा आधुनिक स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले साइबर ब्युरोअन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्ने प्रस्ताव अघि बढाएको छ।
विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय मानव बेचबिखन परम्परागत सीमाभन्दा बाहिर गएर डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र ‘फोर्स्ड क्रिमिनालिटी’ (जबरजस्ती अपराधमा संलग्न गराउने) जस्ता नयाँ स्वरूपमा फैलिएको बताए।
उनका अनुसार आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारेर नेपालीलाई विदेश लगिने, त्यहाँ बन्धक बनाएर अनलाइन ठगी तथा साइबर अपराधमा संलग्न गराउने घटनामा वृद्धि भइरहेको छ। यही चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न विशेष ‘एन्टी साइबर स्क्याम सेल’ गठन गर्ने प्रस्ताव अघि सारिएको हो।
प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसारका ५३० वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा ७१० जना पीडित रहेकोमा करिब ८६ प्रतिशत महिला तथा बालबालिका छन्।
दक्षिण–पूर्वी एसिया र भारतबाट उद्धार गरिएका नेपालीमध्ये पनि अधिकांश महिला तथा बालबालिका रहेको उल्लेख गर्दै कार्कीले पछिल्लो समय पुरुष पीडितको संख्या पनि बढ्दै गएको बताए।
उनले अबको अनुसन्धान केवल अपराधी पहिचानमा सीमित नरही पीडितको शारीरिक, मानसिक र आर्थिक क्षतिको समेत विस्तृत अनुसन्धान गरिने जानकारी दिए।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नेपालीको सुरक्षा र कानुनी सहजीकरणका लागि भारतमा जस्तै खाडी मुलुक, युरोप, अमेरिका तथा मलेसियामा पनि प्रहरी सहचारी (Police Attaché) को आवश्यकता रहेको उनले औंल्याए।
