मुख्य बुँदा

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पूरा

सन् १९५० मा पहिलो सफल आरोहण फ्रान्सेली टोलीद्वारा

अन्नपूर्णलाई ‘जेठो हिमाल’ का रूपमा चिनिन्छआधार शिविर नारच्याङ क्षेत्रमा पर्ने

विविध दौड, सांस्कृतिक कार्यक्रम र प्रतियोगिता आयोजना

हालसम्म ५३६ जनाले अन्नपूर्ण आरोहण गरेका छन्

पर्यटन प्रवर्द्धन र ऐतिहासिक स्मरणका कार्यक्रम भइरहेका छन्

म्याग्दी, २० जेठ । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

आठ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ ।

पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म पाँच सय ३६ जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्तयाममा चारवटा समूहका २७ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण अद्यावधिक भइरहेको विभागका शाखा अधिकृत शर्मीला बञ्जाडेले बताए ।

आज आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिने अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।

बीस जना सहभागी खुला दौड प्रतियोगितामा विजेतालाई रु एक लाख, उपविजेतालाई रु ६० हजार, तेस्रोलाई रु ३५ हजार र सान्त्वना स्थान हासिल गर्ने तीन–तीन जनालाई रु १०–१० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । दौड प्रतियोगितापश्चात नारच्याङमा सोमबारदेखि सुरु भएको दिवसको समापन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

म्याग्दी, १० असार । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो ।

हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए । हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो ।

अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन् । पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए।

उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए । “यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे । यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन् । अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ”, गुरुङले भने ।

अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए। उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन् । यो याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए ।

विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आउनुभएका माइकल परियारले बताए । “दुईदिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ ।

हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ”, उनले भने । पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा घरबास ९होमस्टे०को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई–दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गरेका अजित सेञ्चुरीले बताए।

पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले उल्लेख गरे। पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यावसायी बताउँछन् । हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन् ।

पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीयवासी बताउँछन् । रासस

म्याग्दी, १४ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्ण आधार शिविरमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। विश्वकै दसौँ अग्लो अन्नपूर्ण हिमाल (८,०९१ मि) आरोहणका लागि आएका विदेशी तथा आन्तरिक पर्यटकहरूले आधार शिविर क्षेत्र गुलजार बनाएका छन्।

आरोहीहरू, शेर्पा, पथप्रदर्शक, सहयोगी मजदुर र घुम्न आएका आन्तरिक पर्यटकहरूका कारण आधार शिविर क्षेत्र टेन्टले भरिएको छ। पर्यटन व्यवसायी तेज गुरुङका अनुसार अहिले दैनिक दर्जनौं पर्यटकहरू नारच्याङ हुँदै आधार शिविरतर्फ गइरहेका छन्।

समुन्द्र सतहबाट ४,१०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरसम्मको यात्रा आफैँमा रोमाञ्चक छ। मिस्त्री खोलाको किनारैकिनार, अग्ला झरना, विशाल हिमशृङ्खला, हरियाली पहाड र दुर्लभ वनस्पतिले भरिएको मार्गले यात्रुलाई लोभ्याउने गर्छ। हुमखोलादेखि दुई दिनको पदयात्रामा पुगिने यो शिविर छोटो समयमै प्राकृतिक सौन्दर्यको भरपूर अनुभूति दिन्छ।

पञ्चकुण्ड ताल: थप आकर्षण

अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङ्गको पञ्चकुण्ड ताल पनि पर्यटकको प्रमुख आकर्षण बनेको छ। स्वच्छ जल, हिमाली छायाँ र शान्त वातावरणले यो ताललाई आध्यात्मिक र प्राकृतिक दृष्टिले विशेष बनाएको छ।

स्थानीय पर्यटन व्यवसायमा उत्साह

पर्यटकको चापसँगै स्थानीय होटल, गाइड, र सामान बोक्ने काममा संलग्न व्यवसायीहरू उत्साहित छन्। “कोरोनापछि पर्यटन क्षेत्र बिस्तारै पुनर्जीवित हुँदैछ, यो हामी सबैका लागि सकारात्मक संकेत हो,” व्यवसायी गुरुङ भन्छन्। सरकार र स्थानीय तहले पूर्वाधार विकास र पदमार्ग संरक्षणमा ध्यान दिए अझ बढी पर्यटक भित्र्याउन सकिने सरोकारवालाहरूको भनाइ छ।