भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाण्डौ, २३ कार्तिक । पहिलो संविधानसभाका चार जना पूर्वसभासद्हरूले आगामी निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

सभासद् रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर र सुनीलबाबु पन्त सहितको टोलीले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउन कानुनी प्रावधान बनाउन आग्रह गरेको हो। भेटका क्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलको मागबारे मन्त्रिपरिषदमा छलफल गर्ने आश्वासन दिएकी छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, कार्कीले चुनाव खर्चिलो नबनाउने उपायहरूबारे पनि सोच्नुपर्ने बताइन्। उनले भनिन्, “खर्चिलो चुनावका कारण भ्रष्टाचार र चुनावी बेथिति बढेका छन्।”

सभासद्हरूले भने, संविधानले समानुपातिक समावेशी सिद्धान्त अवलम्बन गरे पनि निर्वाचन कानुनले संविधानको मर्म आत्मसात् गर्न नसकेको टिप्पणी गरे। तसर्थ, अध्यादेश ल्याएर भए पनि कानुन संशोधन गर्नुपर्ने उनीहरूको माग छ।

सभासद् डा. बिन्दा पाण्डेका अनुसार, कानुनमा बाध्यकारी व्यवस्था नभएकाले राजनीतिक दलहरूले प्रत्यक्ष प्रणालीमा महिलालाई टिकट नदिने प्रवृत्ति छ। उनले भनिन्, “यही कारण संसदमा महिलाको प्रतिनिधित्व सन्तोषजनक छैन। अब ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउन अनिवार्य व्यवस्था हुनुपर्छ।”