काठमाडौँ, ३ असार । इजरायल र इरानबीचको तनाव थप चुलिँदै गएको छ। इजरायली वायुसेनाले इरानको राजधानी तेहरानस्थित विमानस्थलमा रहेका दुईवटा एफ–१४ लडाकु विमान ध्वस्त पारेको दाबी गरेको छ। इजरायली पक्षका अनुसार ती विमानहरू उसमाथि आक्रमण गर्न प्रयोग हुन सक्ने भन्दै लक्ष्यित गरी आक्रमण गरिएको हो।

इजरायली सेनाले सार्वजनिक गरेको भिडिओमा विमानहरूमा आगो लागेको देखिन्छ। इजरायली वायुसेनाले अहिले तेहरानमाथि हवाई नियन्त्रण कायम गरेको दाबी गर्दै नजिकबाट आक्रमण गर्न सक्ने रणनीति अनुसार कारबाही गरिएको उल्लेख गरेको छ।

यसबीच, इरानी राज्य सञ्चारमाध्यमहरूले इजरायलमाथि नयाँ चरणको क्षेप्यास्त्र आक्रमण सुरु भएको जानकारी दिएका छन्। ती सन्देशअनुसार इरानबाट इजरायलतर्फ नयाँ क्षेप्यास्त्र प्रक्षेपण गरिएको छ।

दुवै देशबीचको यो द्वन्द्व झनै जटिल र संवेदनशील बन्दै गएको देखिएको छ। पछिल्लो इजरायली आक्रमणमा इरानको राजधानीमा अवस्थित राष्ट्रिय प्रसारण भवनमा क्षति पुगेको छ। इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङको स्टुडियोमा आक्रमण हुँदा पत्रकार मसौमेह आजिमीको मृत्यु भएको इरानी समाचार संस्था फार्सले जनाएको छ। भिडिओ फुटेजमा समाचार पढ्दै गरेकी प्रस्तोता बिचमै रोकिएको देखिएको छ।

इरानको आधिकारिक विवरण अनुसार, इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भइसकेको छ। इजरायलको प्रधानमन्त्री कार्यालयले भने इरानी जवाफी कारबाहीमा इजरायलमा २४ जनाको मृत्यु भएको जनाएको छ।

यसबीच अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि आक्रमण गरेर युद्ध सुरु गरेको आरोप लगाएका छन्। “अमेरिका नेतन्याहूको यो अवैध युद्धमा सैन्य वा आर्थिक रूपमा संलग्न हुनु हुँदैन,” स्यान्डर्सले सामाजिक सञ्जालमा लेखेका छन्।

दुवै देशका नागरिकहरूलाई अहिले नक्कली आपत्कालीन सन्देशहरू मोबाइलमा प्राप्त भइरहेका छन्। इरानमा इराकी नम्बरबाट प्राप्त फोनहरूमा अत्यावश्यक सामग्री संकलन गर्न भनिएको छ भने इजरायलमा इन्धन अभाव र आश्रयस्थल नखोज्न झूटो सूचना फैलाइएको इजरायली साइबर निर्देशनालयले चेतावनी दिएको छ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ द्वारा प्रस्तावित संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने बताएका छन्। उनले इरानले कुनै हालतमा आणविक हतियार प्राप्त गर्न नपाओस् भन्नेमा आफू अडिग रहेको बताए।

यसैबीच, इजरायली सेनाले तेहरानमा इरानी राज्य टेलिभिजनको कार्यालयमाथि आक्रमण गरेको पुष्टि गरेपछि पत्रकारको सुरक्षाका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था कम्युनिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (CPJ) ले उक्त घटनाको कडा निन्दा गरेको छ।

CPJ की क्षेत्रीय निर्देशक सारा कुदाहले भनिन्, “लाइभ प्रसारण भइरहेका बेला टेलिभिजन च्यानलमाथि आक्रमण गर्नु प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथिको गम्भीर हमला हो।”

एजेन्सी ।  इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको छ। इजरायलले इरानका आणविक र सैन्य ठाँउहरूमा आक्रमण गरेपछि इरानले ड्रोन र क्षेप्यास्त्रद्वारा कडा प्रतिक्रिया दिएको छ।

इजरायली आक्रमणमा इरानको गुप्तचर एकाइ प्रमुखको मृत्यु भएको बीबीसीले जनाएको छ भने इरानी जवाफी कारबाहीबाट १० भन्दा बढी इजरायली घाइते भएका छन्। दुवै देशका नेताहरूले “थप बदला” को चेतावनी दिँदै द्वन्द्व अझै बढ्नसक्ने संकेत दिएका छन्।

इरानले युद्धविरामबारे कुनै पनि वार्ता नगर्ने स्पष्ट पारेको छ। इजरायली प्रधानमन्त्री नेतन्याहूले इरानलाई आणविक क्षमता विकास गर्न नदिने आफ्नो अडान दोहोर्याएका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा २२४ इरानीको मृत्यु भएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका द्वन्द्वमा प्रत्यक्ष संलग्न नभए पनि मध्यस्थताका लागि तयार रहेको बताएका छन्।

तेहरान , ३० जेठ । इजरायलले शुक्रबार बिहान इरानमाथि गरेको हवाई आक्रमणले मध्यपूर्वमा तनाव चरम सीमामा पुर्‍याएको छ। इरानको राजधानी तेहरानस्थित इस्लामिक रिभोलुसनरी गार्ड्स को मुख्यालयसमेत लक्षित गरिएको इरानी सरकारी टेलिभिजनले पुष्टि गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटपछि मुख्यालय वरिपरि आगो र बाक्लो धुवाँ देखिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार तेहरानका विभिन्न क्षेत्रमा ६ देखि ९ वटा विस्फोट भएका छन्। सीएनएनका संवाददाता इसाक यीका अनुसार, “मैले व्यक्तिगत रूपमा कम्तीमा दुई विस्फोट सुनेको छु।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई “इरानको आणविक संवर्द्धन कार्यक्रमको मुटुमा गरिएको प्रहार” भनेर व्याख्या गरेका छन्। नेतन्याहुका अनुसार तेहरानबाट करिब २२५ किलोमिटर टाढा रहेको नतान्ज सहरस्थित प्रमुख युरेनियम संवर्द्धन केन्द्रमा पनि आक्रमण गरिएको हो।

उनले ‘अप्रेसन राइजिङ लायन’ नाम दिइएको यस कारबाही अन्तर्गत इरानी बम निर्माणमा संलग्न वैज्ञानिकहरूलाई समेत लक्षित गरिएको दाबी गरे। “यो अपरेसन तबसम्म चल्नेछ, जबसम्म खतरा पूर्ण रूपमा हटाइँदैन,” नेतन्याहुले भने।

इरानी टेलिभिजन आईआरआईबीका अनुसार इजरायली मिसाइलहरूले आवासीय क्षेत्रहरूमा पनि प्रहार गरेका छन्। रायटर्सले उद्धृत गरेको रिपोर्टमा बालबालिकासहितको मृत्यु भएको उल्लेख गरिएको छ।

तेहरानमा संकटकालको घोषणा गर्दै हवाईमार्ग अस्थायी रूपमा बन्द गरिएको छ। विमान चालकहरूका लागि जारी गरिने आवश्यक नोटम पनि सार्वजनिक गरिएको छ। यसबीच, संयुक्त राज्य अमेरिकाले इजरायली कारबाहीमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले वक्तव्य जारी गर्दै भने, “आज राति इजरायलले इरानमाथि एकपक्षीय रूपमा कारबाही गरेको छ। हामी त्यसमा संलग्न छैनौँ। हाम्रो प्रमुख प्राथमिकता भनेको क्षेत्रका अमेरिकी फौजहरूको सुरक्षा गर्नु हो।”

रुबियोले इरानलाई चेतावनी दिँदै भने, “इरानले अमेरिकी स्वार्थ वा जनशक्तिमाथि हमला गर्नु हुँदैन।” यस आक्रमणपछि क्षेत्रीय शक्ति संघर्ष झनै चर्किने सम्भावना रहेको विश्लेषकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन दुबै पक्षलाई आह्वान गरिरहेका छन्।