एजेन्सी, २० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजमलाई अमेरिकाको स्वतन्त्रता र राष्ट्रिय सुरक्षाका लागि विश्वयुद्धभन्दा पनि ठूलो खतरा भएको दाबी गरेका छन्।

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले अमेरिकाको जीवनशैली र मूल्य–मान्यतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीमार्फत साम्यवादको प्रभाव बढ्न सक्ने दाबी गरे।

उनले कम्युनिजमलाई प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बरमाथिको आक्रमण तथा सेप्टेम्बर ११, २००१ को आतंकवादी आक्रमणभन्दा पनि ठूलो खतरा भएको उल्लेख गर्दै अमेरिका कहिल्यै कम्युनिस्ट राष्ट्र नबन्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी सेनाको क्षमता र इतिहासको प्रशंसा गर्दै अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति निर्माण गरेको बताए। उनले दुई विश्वयुद्धमा अमेरिकाले विजय हासिल गरेको र शीतयुद्धपछि आफ्ना शत्रुहरू इतिहासको पानामा सीमित भएको दाबी पनि गरे।

ट्रम्पले आफ्नो भाषणमा भेनेजुएला र इरानबारे पनि टिप्पणी गर्दै अमेरिकाले आवश्यक परे कडा कदम चाल्न सक्ने संकेत गरे। साथै, अमेरिकाको २५० वर्षे इतिहासलाई उल्लेख गर्दै उनले अमेरिका विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र नागरिक भएको देश र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र भएको दाबी गरे।

ट्रम्पका यी अभिव्यक्तिले अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय समुदायमा थप बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

एजेन्सी, १३ पुष ।  युक्रेनको राजधानी किएभमा रुसले क्षेप्यास्त्र र ड्रोनद्वारा आक्रमण गरेको छ। यसले रुस शान्ति प्रक्रियाप्रति गम्भीर नभएको स्पष्ट सन्देश दिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ।

बीबीसीका अनुसार आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन्। आक्रमणका कारण किभ र आसपासका क्षेत्रमा करिब ४० प्रतिशत आवासीय भवनमा विद्युत् आपूर्ति अवरुद्ध भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

यसैबीच, रुसको रक्षा मन्त्रालयले युक्रेनको सैन्य संरचनासँग सम्बन्धित ऊर्जा केन्द्रहरूमा ‘सटीक हतियार’ प्रयोग गरिएको दाबी गरेको छ। युक्रेनी आपतकालीन सेवाले वृद्धाश्रमबाट ६८ जनाको उद्धार गरेको जानकारी दिएका छन्।

आक्रमणपछि राष्ट्रपति जेलेन्स्की अमेरिका प्रस्थान गर्नुभएको छ। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग २० बुँदे नयाँ शान्ति योजनाबारे छलफल गर्ने कार्यक्रम तय भएको छ।

एजेन्सी, २५ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। ट्रम्पका अनुसार चीनले लिइरहेको अत्यन्त आक्रामक व्यापारिक कदमको जवाफस्वरूप उनी यस्तो कदम चालेका हुन्। नयाँ ट्यारिफ नोभेम्बर १ देखि लागू हुनेछ र चीनले तिर्नुपर्ने कुनै पनि ट्यारिफमा थप हुनेछ।

उक्त घोषणामा ट्रम्पले चीनले विश्व समुदायलाई पत्र पठाएर १ नोभेम्बरदेखि लगभग सबै उत्पादनमा निर्यात नियन्त्रण लगाउने योजना बनाएको उल्लेख गरेकाले अमेरिकाले राष्ट्रिय हितको रक्षा गर्न यस कारबाही गरेको बताए।

ट्रम्पले चीनको व्यापार कदमलाई निन्दनीय बताएका छन् र जोड दिएका छन् कि अमेरिकाको यो प्रतिक्रिया केवल आफ्नो राष्ट्रिय हित रक्षाको लागि गरिएको हो।

एजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामा दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ।

मंगलबार साँझ करीब एक घण्टाभन्दा बढी समय लिएको यो भेटमा गाजामा सम्भावित युद्धविराम सम्झौताबारे गहिरो छलफल भएको अलजजिराले जनाएको छ। भेटअगाडि ट्रम्पले नेतान्याहूसँग विशेष रूपमा गाजा युद्धविरामको विषयमा कुरा गर्ने बताउँदै यसै साताको अन्त्यसम्ममा युद्धविराम सम्झौताले अन्तिम रूप लिने आशा व्यक्त गरेका थिए।

यसैबीच, गाजाको उत्तरतर्फको बेइतहानुन क्षेत्रमा भएको विस्फोटमा पाँचजना इजरायली सैनिकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

इजरायली सेनाले जारी गरेको वक्तव्यअनुसार, सैनिकहरू बारुदले जडित एक भवनलाई घेरेर सुरक्षात्मक कारबाहीमा संलग्न थिए। सो क्रममा उपकरण विस्फोट हुँदा मानवीय क्षति भएको बताइएको छ।

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीचको तनाव उत्कर्षमा पुगेको छ। विश्वकै शक्तिशाली नेता र धनाढ्य उद्योगपतिबीचको मित्रता समाप्त भएको बीबीसीले जनाएको छ।

मस्कले ट्रम्पले हस्ताक्षर गरेको खर्च तथा बिलसम्बन्धी कानूनविरुद्ध सक्रिय रूपमा एक हप्ताभन्दा बढी समयदेखि पैरवी गरिरहेका छन्। यसैबीच, ट्रम्पले जर्मन चान्सलरसँगको भेटमा मस्कसँग आफ्नो निराशा प्रष्ट पारेका छन्।

ट्रम्प प्रशासनले मस्कका कम्पनीहरूसँगका सरकारी सम्झौताहरू कटौती गर्ने चेतावनी पनि जारी गरेको छ। यही तनावका बीच मस्कको कम्पनी टेस्लाको स्टक मूल्य १४ प्रतिशतले घटेको छ।

यो विवाद तब सुरु भयो जब मस्कले आधिकारिक रूपमा आफ्नो सरकारी पदबाट बाहिरिएका थिए। उनले ट्रम्प प्रशासनको खर्च कटौती विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी) मा झन्डै साढे चार महिनासम्म काम गरेपछि गत हप्ता राजीनामा दिएका थिए।

एजेन्सी, २७ चैत । टेक्सासका हाउस अफ रिप्रिजेन्टेटिभ सदस्य अल ग्रीनले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पदका लागि ‘अयोग्य’ रहेको भन्दै आगामी ३० दिनभित्र महाअभियोग प्रस्ताव संसदमा पेस गर्ने चेतावनी दिएका छन्।

गत हप्ता अमेरिकामा ट्रम्प र इलन मस्कविरुद्ध देशव्यापी ‘ह्याण्ड्स अफ’ प्रदर्शनलाई सम्बोधन गर्दै ग्रीनले यो घोषणा गरेका हुन्। उक्त प्रदर्शनमा झन्डै ६ लाख नागरिक सहभागी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

वासिङ्टन डीसीमा आयोजित ‘ह्याण्ड्स अफ’ प्रदर्शनमा ग्रीनले भने, ‘हामीलाई ट्रम्पलाई दोषी ठहर गर्न सक्ने सिनेट चाहिएको छ। म तपाईंहरूलाई मनैदेखि भन्छु, उहाँ गोलियथजस्तै हुनुहुन्छ। उहाँसँग सेनाका जनरल, न्याय विभाग र रिपब्लिकन पार्टीको नियन्त्रण छ। तर, मेरा साथीहरू, प्रत्येक गोलियथका लागि एउटा डेभिड हुन्छ।’

ग्रीनले यहाँ बाइबलको ‘डेभिड र गोलियथ’ कथाको सन्दर्भ प्रयोग गरेका छन्, जहाँ गोलियथ शक्तिशाली योद्धा थिए, तर डेभिड नामका युवाले ढुंगाले हानेर हराएका थिए।

उनले थपे, ‘राष्ट्रपतिजी, म तपाईंलाई जानकारी गराउँछु, यो डेभिड ३० दिनभित्र तपाईंविरुद्ध महाअभियोग प्रस्ताव ल्याउँदैछ। म तपाईंलाई लक्षित गर्दैछु। यो डेभिड तपाईंलाई चुनौती दिन आउँदैछ।’

दुई महिनाअघि ट्रम्पविरुद्ध महाअभियोगको वाचा गरेका ग्रीनले राष्ट्रपति ट्रम्पले आफ्नो पद ‘ढंगले सम्हाल्न नसकेको’ तर्क गरेका छन्। उनले भने, ‘तपाईंबाट सबैका लागि स्वतन्त्रता र न्यायको जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने विश्वास छैन। ‘जनताको सरकार, जनताद्वारा, जनताका लागि’ तपाईं सम्हाल्न सक्नुहुन्न। म तपाईंको डेभिड हुँ। म आउँदैछु। भगवानले सबैलाई आशीर्वाद दिउन्।’

यसैबीच, ह्वाइट हाउसकी सहायक सञ्चार सचिव लिज हस्टनले इमेलमार्फत प्रतिक्रिया दिँदै भनिन्, ‘राष्ट्रपति ट्रम्पको धारणा स्पष्ट छ: उहाँ योग्य लाभग्राहीका लागि सामाजिक सुरक्षा, मेडिकेयर र मेडिकेडको रक्षा गर्नुहुन्छ।’

हस्टनले अगाडि लेखिन्, ‘यसको विपरीत, डेमोक्र्याटहरूको नीतिले अवैध आप्रवासीहरूलाई सामाजिक सुरक्षा, मेडिकेयर र मेडिकेड दिने योजना बनाएको छ, जसले यी कार्यक्रमलाई पंगु बनाउँछ र अमेरिकी वृद्ध नागरिकमाथि भार पार्छ।’

गत फेब्रुअरी ५ मा सिनेटमा दिएको भाषणमा ट्रम्पले गाजाको कब्जाको आशय राखेपछि ग्रीनले महाअभियोग प्रस्ताव ल्याउने बताएका थिए। त्यतिबेला उनले भनेका थिए, ‘गाजाको अन्याय अमेरिकाभित्र न्यायका लागि खतरा हो।’ शनिबार पनि उनले दोहोर्‍याए, ‘युद्धग्रस्त गाजा कुनै रिसोर्ट बन्ने छैन। प्यालेस्टिनी जनताका लागि त्यहाँ घर हुनुपर्छ।’

ट्रम्पको पहिलो कार्यकालमा पनि ग्रीनले पटक–पटक महाअभियोगको प्रयास गरेका थिए, तर ती सफल भएका थिएनन्।

अमेरिकी संविधानको धारा १, खण्ड २ ले प्रतिनिधिसभालाई महाअभियोगको अधिकार दिएको छ। कुनै पनि सदस्यले राष्ट्रपति, उपराष्ट्रपति वा संघीय अधिकारीविरुद्ध ‘राजद्रोह, भ्रष्टाचार वा अन्य उच्च अपराध र दुष्कर्म’ का लागि प्रस्ताव ल्याउन सक्छन्।

प्रतिनिधिसभाको बहुमतले प्रस्ताव पारित गरेपछि सिनेटमा पठाइन्छ। सिनेटले सुनुवाइ गर्छ र राष्ट्रपतिलाई दोषी ठहर गर्न दुई तिहाइ बहुमत चाहिन्छ।