भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

लमजुङ, ३० वैशाख ।  बर्खाको मौसम सुरु हुन लाग्दा पनि लमजुङ जिल्लाका विभिन्न जलविद्युत् आयोजनाहरूमा विद्युत् उत्पादन वृद्धि हुन सकेको छैन। हिउँ नपग्लिनु र प्रमुख नदी–खोलामा पर्याप्त पानी नहुँदा मङ्सिर महिनादेखि घटेको विद्युत् उत्पादन अझै पनि बढ्न सकेको छैन।

जिल्लामा सञ्चालनमा रहेका १७ वटा जलविद्युत् आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरे पनि हाल अधिकांश आयोजना न्यून क्षमतामा मात्र सञ्चालन भइरहेका छन्।

सबैभन्दा ठूलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना हाल ३२ मेगावाटको हाराहारीमा मात्र उत्पादन गरिरहेको छ। आयोजना प्रमुख पवन बस्नेतका अनुसार, गत वर्ष यो समयमा ४०–५० मेगावाट उत्पादन भइरहेको थियो। “यसपटक ढिलो हिउँ पग्लिएको, नदीमा पानी नहुँदा विद्युत् उत्पादन वृद्धि हुन सकेको छैन,” उनले बताए। “पूरा क्षमतामा पुग्न अझै समय लाग्ने देखिन्छ।”

त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट हाल १४ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ। मस्र्याङ्दी गाउँपालिकाको भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट पनि हाल ३०–३२ मेगावाट मात्र उत्पादन भइरहेको छ। आयोजनाका इञ्जिनियर कर्ण अधिकारीले नदीमा पानीको बहाव कम भएका कारण दुवै टरबाइन सञ्चालन गर्न नसकिएको जानकारी दिए।

अन्य जलविद्युत् आयोजना जस्तै ङादी (३० मेगावाट), दोर्दीखोला (२७ मेगावाट), माथिल्लो दोर्दी ‘ए’ (२५ मेगावाट), राँधी (४.४ मेगावाट), मिदिम करापु (३ मेगावाट), र छ्याङ्दी (२ मेगावाट) पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। लमजुङमा निर्माण सम्पन्न भएका र सञ्चालनमा रहेका अधिकांश आयोजनाहरू खोला र नदीमा आधारित रन-ऑफ-रिभर प्रणालीमा आधारित भएकाले वर्षा र हिमपातको भर पर्छन्। यस्ता आयोजनाबाट उत्पादन हुने बिजुलीमा मौसमको सीधा प्रभाव पर्ने हुँदा प्रत्येक वर्षको चिसो मौसममा उत्पादन घट्ने गर्छ।

यस वर्ष भने उत्पादन पुनः वृद्धि हुने अपेक्षा गरिएको समयमा पनि जलस्रोतहरूमा सुधार नआएकोले बर्खा सुरु नहुँदासम्म उत्पादन बढ्ने सम्भावना न्यून देखिएको छ।