काठमाडौं, २४ असार । बर्डफ्लु प्रभावित ११ जिल्लामध्ये तराईका सात जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आएको हो।
तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने बर्डफ्लुको जोखिम अझै कायम रहेको विभागले जनाएको छ। विशेषगरी काभ्रेमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको र नियन्त्रणका लागि विशेष निगरानी तथा रोकथाम अभियान सञ्चालन भइरहेको छ।
पशु सेवा विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा संक्रमण थप फैलिने जोखिम उच्च देखिएको छ।
रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरिएको छ। साथै, पशु क्वारेन्टाइन कार्यालयमार्फत सीमा नाका तथा अन्य संवेदनशील क्षेत्रमा निगरानी कडा पारिएको छ। अवैध रूपमा ओसारपसार गरिएका पन्छी तथा पन्छीजन्य वस्तु नियन्त्रण र नष्ट गर्ने अभियान पनि निरन्तर सञ्चालन भइरहेको विभागले जनाएको छ।
विभागको तथ्याङ्कअनुसार हालसम्म सङ्क्रमण नियन्त्रणका क्रममा देशभर ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा २ लाख ४३ हजार ६३५ किलोग्राम दाना नष्ट गरिएको छ।
डा. उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारिएको छ। सोही प्रतिवेदनका आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने, थप नियन्त्रणका उपाय लागू गर्ने तथा प्रभावित किसानलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
काठमाडौं, २३ असार । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको क्षतिपूर्ति सरकारले एक साताभित्र वितरण गर्ने भएको छ। पशुसेवा विभागले प्रभावित किसानलाई राहतस्वरूप करिब ५२ करोड रुपैयाँ उपलब्ध गराउने तयारी गरेको जनाएको हो।
विभागका अनुसार रोग नियन्त्रण अभियानका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको मूल्याङ्कनका आधारमा प्रमाणित क्षतिको ७५ प्रतिशत रकम सम्बन्धित किसानलाई राहतस्वरूप प्रदान गरिनेछ।
पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको क्षति प्रमाणित भई दाबी गरेका किसानको बैंक खातामा एक साताभित्र रकम जम्मा गरिने जानकारी दिए। उनका अनुसार असार मसान्तभित्र क्षतिपूर्ति प्राप्त गर्न नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा पनि राहत उपलब्ध गराइनेछ।
बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार प्रमाणित क्षतिको मूल्याङ्कनपछि राहत वितरण गरिने विभागले जनाएको छ। विभागले आवश्यक प्रमाणसहित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गरेको छ।
बर्डफ्लुका कारण काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी सबैभन्दा बढी प्रभावित भएका छन्।
हालसम्म रोग नियन्त्रणका क्रममा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको विभागले जनाएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
काभ्रेमा बर्डफ्लुका कारण ४० हजार ७२९ हाँस तथा कुखुरा नष्ट।
बनेपा र पनौतीका विभिन्न पोल्ट्री फार्ममा सङ्क्रमण पुष्टि।
बायोसेक्युरिटी अभाव र जथाभावी मृत पक्षी फाल्दा सङ्क्रमण फैलिएको प्रारम्भिक निष्कर्ष।
ओसारपसार नियन्त्रण र निगरानी थप कडा बनाइयो।
काभ्रेपलाञ्चोक, १६ असार । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।
केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ ।
बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा बज्रकिशोर ठाकुरले जानकारी दिए ।
उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको ठाकुरले बताए ।विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमणदर बढ्दै गएको बताइन्छ ।
ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रुपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरे ।
जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रुपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ । यसअघि गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन उच्च सतर्कता अपनाइने निर्णय गरिएको थियो ।
देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी दुई जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको जनाइएको थियो । रासस
काठमाडौँ, १० असार । देशका ११ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनायता काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका ८२ स्थानमा बर्डफ्लु (एच५एन१) संक्रमण देखिएको छ।
विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा संक्रमण पुष्टि भएको हो। पहिलो पटक गत चैत ४ गते मोरङमा बर्डफ्लु प्रमाणित भएको थियो।
संक्रमण नियन्त्रणका लागि हालसम्म प्रभावित क्षेत्रका ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ। त्यसैगरी ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिएका छन्।
उनका अनुसार झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। रोग नियन्त्रणका लागि गृह मन्त्रालयको समन्वयमा कोशी प्रदेशमा लागू गरिएको एक महिनाको पन्छी ओसारपसार प्रतिबन्धसमेत क्रमशः खुकुलो बनाइएको छ।
बर्डफ्लु भाइरसको स्वरूपमा कुनै परिवर्तन आएको छ वा छैन भन्ने अध्ययन गर्न भाइरसको ‘सिक्वेन्सिङ’ प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ। यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी आवश्यक अनुसन्धान भइरहेको छ। संक्रमण पुष्टि भएका स्थानमा आकस्मिक रोग अन्वेषण टोली तथा द्रुत कार्यदल परिचालन गरी संक्रमित पन्छी र सम्बन्धित सामग्री नष्ट गर्ने कार्य जारी रहेको विभागले जनाएको छ।
उपत्यकाका तीनै जिल्ला र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा संक्रमण देखिएकाले किसान, व्यवसायी तथा सर्वसाधारणलाई आवश्यक जैविक सुरक्षा मापदण्ड अपनाउन विभागले आग्रह गरेको छ।
काठमाण्डौ, १ असार । पशुसेवा विभागले काठमाण्डौ उपत्यकालगायत बर्डफ्लु पुष्टि भएका १० जिल्लामा करिब सात लाख पन्छी नष्ट गरेको जनाएको छ ।
विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पन्छीसहित करिब तीन लाख किलो दाना नष्ट गरिएको हो ।
काठमाण्डौ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको विभागका महानिर्देशक डा उमेश दाहालले जानकारी दिनुभयो ।
बर्डफ्लुको खोप विकास नभएकाले सङ्क्रमण देखिनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएको हो । करिब ११ लाख अण्डा नष्ट गरिएको छ ।
सम्बन्धित किसानलाई नष्ट गरिएका पन्छीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने विभागले जनाएको छ । प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइने छ ।
त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ । रासस
बर्डफ्लु नियन्त्रणका लागि द्रुत कार्य टोली परिचालन
१० जिल्लामा ५ लाख १५ हजार पन्छी नष्ट
७ लाख अण्डा र १८३ टन दाना नष्ट
काठमाडौं उपत्यका उच्च जोखिममा
प्रभावित क्षेत्रमा २ महिना व्यवसाय रोक
किसानलाई ७५% राहत दिने व्यवस्था
काठमाडौँ, २६ जेठ । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ ।
पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए । सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी प्रभावित देखिएका छन् ।
सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ ले सात लाख अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको उनले बताए ।
दाहालका अनुसार केही सातअघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्डफ्लुपछि महोत्तरी, बारा, चितवन हुँदैपछि काठमाडौँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा बर्डफ्लु फैलिएको छ । “यसको उपचार नै छैन ।
एकमात्र उपाय रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु हो । त्यसैले पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन । त्यसैले रोग नियन्त्रणका लागि पशु चिकित्सक र पशु स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्”, उनले भने ।
पछिल्लो समय काठमाडौँ उपत्यका बर्डफ्लुुको जोखिममा छ । चितवन र मुलुकका अन्य भागमा भने करिब करिब रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिए ।थप सङ्क्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट भएको करिब दुईमहिना पछि मात्रै व्यवसाय पुनः सुरु गर्न पाउने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।
किसानलाई राहत
बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार यसरी पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ ।
लागत मूल्य जिल्लाअनुसार फरक पर्नसक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताए । रासस
काठमाडौँ, ११ फागुन । काठमाडौँको कीर्तिपुर नगरपालिका अन्तर्गत त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा मरेका कागमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ।
कीर्तिपुर नगरपालिका र पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मरेका कागहरू सङ्कलन गरी व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ। हिजोसम्म ६८ वटा काग सङ्कलन गरी पुर्ने काम गरिएको छ भने बाँकी कागहरू आज पनि सङ्कलन गरेर व्यवस्थापन गरिने नगरपालिकाको पशुसेवा शाखाले जनाएको छ।
पशुसेवा प्रमुख सुशीला गैरेका अनुसार करिब एक हप्ताअघि स्थानीयले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यान क्षेत्रमा कागहरू मरेको जानकारी दिएका थिए। त्यसपछि परीक्षणका लागि १० वटा काग पशु स्वास्थ्य विभागको प्रयोगशालामा पठाइएको थियो।
प्रयोगशालामा गरिएको परीक्षणपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो। पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार मरेका कागमा एच५एन१ (H5N1) र एच९एन (H9N) दुवै प्रकारका बर्डफ्लु भाइरस देखिएको छ।
काग डुलुवा पक्षी भएकाले फिरन्ते चरामार्फत संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ। सम्बन्धित निकायले क्षेत्र आसपास सतर्कता बढाउन, मरेका पक्षी नछुन र कुनै शंका लागेमा तुरुन्त जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।
बर्डफ्लु पुष्टि भएसँगै सम्बन्धित निकायहरूले संक्रमण थप फैलिन नदिन निगरानी र नियन्त्रणका उपायहरू कडाइका साथ अघि बढाएका छन्।