काठमाडौं, २४ असार । देशका अधिकांश क्षेत्रमा मनसुनी प्रणाली सक्रिय रहेकाले बुधबार भारी वर्षा, हावाहुरी तथा आकस्मिक बाढीको जोखिम बढेको छ। जल तथा मौसमसम्बन्धी निकायहरूले विशेषगरी जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसमविद्का अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। दिउँसोपछि मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
यस्तै, मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा आज राति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। लगातार वर्षा हुन सक्ने भएकाले पहिरो, डुबान र सडक अवरुद्ध हुने जोखिमसमेत बढ्न सक्ने मौसमविद्ले बताएका छन्।
बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना छ।
ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्ले अत्यावश्यकबाहेक जोखिमयुक्त नदी, खोला तथा पहिरो प्रभावित क्षेत्रको यात्रा नगर्न, मौसमको अद्यावधिक जानकारी लिन तथा स्थानीय प्रशासनको सूचनाको पालना गर्न पनि अनुरोध गरेका छन्।
काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा घरजग्गा बजार पुनः लयमा फर्किएको संकेत गरेको छ।
प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबार सङ्ख्या, कारोबार क्षेत्रफल, कुल मूल्य तथा राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको छ।
राष्ट्रिय तथ्याङ्कअनुसार समीक्षा अवधिमा कुल घरजग्गा कारोबार सङ्ख्या ६.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कारोबार ४.५२ प्रतिशतले घटेको थियो। लिखतपारिततर्फको कारोबार ०.६२ प्रतिशत र राजीनामा कारोबार १२.१७ प्रतिशतले बढेको छ भने कारोबार भएको कुल क्षेत्रफल १.६० प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा कुल १८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम १०० अर्ब ७ करोड रुपैयाँ रहेको थियो।
कारोबार बढेसँगै सरकारको राजस्व संकलन २३.७२ प्रतिशतले वृद्धि भएको छ। पुँजीगत लाभकरबाट हुने आम्दानी पनि ३१.४२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। यद्यपि घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंक कर्जाको वृद्धिदर भने अघिल्लो वर्षको ७.५२ प्रतिशतबाट घटेर ५.५५ प्रतिशतमा सीमित भएको छ।
प्रदेशगत रूपमा बागमती प्रदेशमा घरजग्गा कारोबार सबैभन्दा तीव्र रूपमा विस्तार भएको देखिएको छ। यहाँ राजीनामा कारोबार ३३.०१ प्रतिशतले बढेको छ भने मधेस प्रदेशमा ४.७९ प्रतिशतले घटेको छ।
कारोबारको कुल मूल्य भने सबै प्रदेशमा बढेको छ, जसमा बागमती प्रदेशमा सर्वाधिक १३१.५२ प्रतिशत र मधेस प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशत वृद्धि भएको छ। कारोबार भएको कुल क्षेत्रफलका आधारमा गण्डकी प्रदेश २४.८४ प्रतिशत वृद्धिसहित अग्रस्थानमा रहेको छ भने मधेस प्रदेशमा ९.३३ प्रतिशतले कमी आएको छ।
महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा अगाडि देखिएको छ। यहाँ घरजग्गा कारोबार सङ्ख्या १०८.४२ प्रतिशतले बढेको छ। त्यसपछि पोखरा, ललितपुर, वीरगञ्ज, भरतपुर र विराटनगर क्रमशः दोस्रोदेखि छैटौँ स्थानमा रहेका छन्।
कारोबारको कुल क्षेत्रफल र मूल्यमा पनि काठमाडौं महानगरपालिका अग्रस्थानमा छ। यहाँ कारोबार क्षेत्रफल ११९.८९ प्रतिशत तथा कारोबार मूल्य २२३.१२ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
उपमहानगरपालिकामध्ये कलैया बाहेक सबैमा कारोबार सङ्ख्या बढेको छ। बुटवलमा सबैभन्दा धेरै ५६.७९ प्रतिशतले कारोबार बढ्दा तुलसीपुरमा कारोबार मूल्य १३४.४६ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
काठमाडौं, २२ असार । देशका विभिन्न क्षेत्रमा आज मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि केही स्थानमा हल्का वर्षा भइरहेको छ भने दिउँसो र राति केही क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। अन्य प्रदेशका विभिन्न स्थानमा पनि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यसैगरी मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ। लगातारको वर्षासँगै बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
महाशाखाका अनुसार भोलि र पर्सि पनि देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहने भएकाले यात्रा गर्दा मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौं, १९ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शुक्रबार चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।
विभागका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको छ।
यस्तै, शुक्रबार राति पनि देशभर सामान्य बदली रहने मौसमविद्ले बताएका छन्। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसका साथै देशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपास, पहिरो जोखिम भएका क्षेत्र तथा सडकमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।
काठमाडौं, १४ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदेखि चार दिनभित्र देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आगामी केही दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। अहिले सुदूरपश्चिमको तराईमा मौसम मुख्यतया सफा रहे पनि देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। साथै मधेस तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
काठमाडौं, ५ जेठ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्र र कोशी प्रदेशको तराईमा सामान्य बदली रहने सम्भावना छ। लुम्बिनीको पहाडी भूभाग र मधेस प्रदेशको तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ। साथै कोशी प्रदेशको तराईका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर (हिट वेभ) तथा बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने र केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
काठमाडौं, २७ जेठ । मौसम पूर्वानुमान महाशाखाले आज देशका सातै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशभर मौसम प्रभावित हुने भएको हो।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना छ।
त्यस्तै कर्णाली प्रदेशसहित सबै प्रदेशका हिमाली भूभाग, सुदूरपश्चिमका पहाडी क्षेत्र तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
महाशाखाले वर्षा, चट्याङ र सम्भावित मौसमीय जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
मकवानपुर, २६ जेठ । बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने र सरकारी संयन्त्रलाई चुस्त बनाउने उद्देश्यसहित ठूलो स्तरमा दरबन्दी कटौती गर्ने तयारी गरेको छ। प्रदेश सरकारले कुल ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने तयारी अघि बढाएको हो।
सरकारले प्रशासनिक पुनर्संरचनाको दुई चरणको काम टुंग्याइसकेको छ भने अन्तिम चरणमा कर्मचारी संख्या समायोजन र कटौतीको प्रक्रिया अघि बढाइएको छ। यसका लागि प्रशासन सचिवको संयोजकत्वमा विशेष टोलीले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को काम गरिरहेको छ।
टोलीले असार १५ गतेभित्र ओएनएमको प्रतिवेदन तयार गर्ने लक्ष्य राखेको छ। त्यसपछि साउन १ गतेदेखि सुरु हुने नयाँ आर्थिक वर्षसँगै नयाँ संरचना कार्यान्वयनमा ल्याउने तयारी प्रदेश सरकारको छ।
प्रदेश सरकारले यसअघि १४ मन्त्रालय घटाएर ८ मन्त्रालयमा सीमित गर्ने निर्णय गरिसकेको छ। त्यस्तै मन्त्रालयअन्तर्गतका कार्यालय पुनर्संरचना गर्दै केही कार्यालय गाभ्ने र केही खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ।
हाल प्रदेशमा ८ मन्त्रालय अन्तर्गत १९१ कार्यालय कायम गर्ने निर्णय भइसकेको छ। कुल २०१ कार्यालयमध्ये १० वटा कार्यालय घटाइसकिएको जनाइएको छ। प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन तथा कार्यक्षमता वृद्धि गर्न आवश्यक मात्र कर्मचारी राख्ने नीति लिएको छ। सोही अनुसार विभिन्न तहका कर्मचारी समायोजन गर्दै दरबन्दी कटौती गरिने भएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख सचिव रामबाबु पुरीका अनुसार ओएनएम प्रक्रियाबाट प्रदेशमा ५०० देखि ७०१ सम्म दरबन्दी कटौती हुन सक्ने अनुमान गरिएको छ। हाल प्रदेशमा कुल ५ हजार १३९ दरबन्दी रहेकोमा ठूलो संख्यामा कटौती गरिने तयारी छ।
उनका अनुसार मुख्य रूपमा रिक्त रहेका पदहरू हटाइनेछन् भने स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति भने थप गर्नेबारे छलफल भइरहेको छ। स्वास्थ्य बीमा र अस्पतालमा बढ्दो चापलाई मध्यनजर गर्दै केही सय दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको उनले बताए।
प्रदेश सरकारले करार तथा अस्थायी प्रकृतिका कर्मचारीलाई क्रमशः हटाउने नीति लिएको छ। लोकसेवा आयोगबाट स्थायी सिफारिस नभएका पदहरूलाई दीर्घकालीन रूपमा नराख्ने सरकारको योजना छ।
यसैबीच, केही जिल्लामा छरिएका साना कार्यालयलाई गाभेर एकीकृत सेवा केन्द्र बनाउने तयारी पनि गरिएको छ। यातायात सेवा नभएका जिल्लामा उद्योग वाणिज्य कार्यालयमार्फत यातायातसम्बन्धी सेवा दिने नयाँ मोडेल लागू गरिने भएको छ।
सरकारले प्रशासनिक संरचना घटे पनि सेवा प्रवाह प्रभावित नहुने दाबी गरेको छ। कार्य विवरण स्पष्ट बनाउँदै कार्यालय प्रमुखदेखि सहयोगी तहसम्मको जिम्मेवारी पुनःनिर्धारण गर्ने तयारी गरिएको छ।ओएनएम प्रतिवेदनपछि विषयगत मन्त्रालय, मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयको सहमतिमा प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने प्रक्रिया रहनेछ।