एजेन्सी । इजरायल र इरानले एक अर्काविरुद्ध जारी सैन्य कारबाही तत्कालका लागि रोक्ने घोषणा गरेका छन्। पछिल्ला दिनहरूमा बढ्दो तनाव र प्रतिआक्रमणपछि दुवै देशले अवस्था थप जटिल नबनाउन अस्थायी रूपमा सैन्य गतिविधि स्थगित गरिएको बताएका हुन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालका लागि आक्रमण रोकिएको जानकारी दिँदै इरान र हेजबुल्लाहविरुद्धको सङ्घर्ष भने समाप्त नभएको बताएका छन्। उनले आवश्यक परे इजरायलले आफ्नो सुरक्षाका लागि आवश्यक कदम चाल्ने स्पष्ट पारेका छन्।
यता इरानी सेनाले पनि तत्कालका लागि सैन्य कारबाही रोकिएको जनाएको छ। तर भविष्यमा इजरायलबाट कुनै पनि प्रकारको आक्रमण भए अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ।
हालै लेबनानको राजधानी बेरुतमा भएको आक्रमणको प्रतिशोधस्वरूप इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले इरानभित्र रहेका सैन्य संरचनालाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो। यस घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिएको थियो।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री नेतान्याहुसँग टेलिफोन संवाद गरी थप सैन्य कारबाही रोक्न आग्रह गरेको बताएका छन्।
बीबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले नेतान्याहुले आफ्नो आग्रहलाई सम्मान गरेको दाबी गर्दै दुवै पक्ष शान्ति सम्झौताको दिशातर्फ अघि बढिरहेको बताएका छन्। उनले इजरायल र इरान दुवैलाई संयमता अपनाउन तथा जारी वार्तालाई सफल बनाउन तत्काल गोलाबारी रोक्न सार्वजनिक अपिल गरेका छन्।
यद्यपि दुवै देशले युद्धविराम उल्लङ्घन भए कडा जवाफ दिने चेतावनी दिएकाले मध्यपूर्वको सुरक्षा अवस्था अझै संवेदनशील रहेको विश्लेषण गरिएको छ।
काठमाडौं, ६ जेठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने निर्णय गरेका छन् । यो निर्णय अनुसार गाजामा भोकमरीको सम्भावना न्यून गर्न केही अत्यावश्यक राहत सामग्री सीमित मात्रामा प्रवेश गराइनेछ ।
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको सूचनामा गाजावासीलाई आधारभूत खाद्य सामग्री उपलब्ध गराउने बताइएको छ । तर यो निर्णय प्रधानमन्त्री नेतान्याहुको आफ्नै सरकारभित्र रहेका केही राष्ट्रवादी मन्त्रीहरूको विरोधमा आएको हो । राष्ट्र सुरक्षा मन्त्री इतामार बेन गभीर र अर्थमन्त्री बेजालेल स्मोटरिचले यदि गाजामा सहायता पुनः शुरू भयो भने सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच झण्डै साढे दुई घण्टा लामो टेलिफोन वार्ता भएको छ। ट्रम्पले युद्ध अन्त्यका लागि रूस र युक्रेनले तत्काल युद्धविराम वार्ता थाल्नुपर्ने बताएका छन् ।
ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की र पुटिनसँग छुट्टाछुट्टै वार्ता गरेका थिए । जेलेन्स्कीले यो क्षण निर्णायक रहेको भन्दै अमेरिका शान्तिवार्ताबाट टाढा नहुन आग्रह गरे । बीबीसीका अनुसार पुटिनले भने पश्चिमाको ३० दिने बिना सर्त युद्धविरामको मागमा कुनै स्पष्ट प्रतिबद्धता जनाएका छैनन् । जेलेन्स्कीले रूस तयार नभए उसमाथि कडा प्रतिबन्ध आवश्यक रहेको बताएका छन् ।