भक्तपुर, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाजु पोखरी परिसरमा आयोजित छिकोङ शारीरिक व्यायामको बृहत प्रदर्शनी सम्पन्न भएको छ। भक्तपुर नगरपालिकाका १० वटै वडाका छिकोङ प्रशिक्षार्थीहरूले एकैसाथ शारीरिक अभ्यास गरेका हुन ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले नियमित व्यायाम र स्वस्थ जीवनशैलीले शारीरिक स्फूर्ति र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताए। उनले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरबासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले युवालाई राजनीतिक र सामाजिक रूपमा सक्रिय बनाउनुपर्नेमा जोड दिए।
बृहत प्रदर्शनीमा कार्यपालिका सदस्य सञ्जना त्वाती र सुनिता अवाललगायत वक्ताहरूले पनि शारीरिक अभ्यासको महत्वबारे प्रकाश पारे। कार्यक्रममा करिब ५०० भन्दा बढी प्रशिक्षार्थीको सहभागिता थियो।
काठमाडौँ, २५ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर सामान्यतया बदली रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार पाँचथर, झापा, इलाम, लमजुङ र आसपासका जिल्लाहरूमा बग्ने स-साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको पूर्वानुमान छ।
साथै, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, रोल्पा, अछाम, बझाङ, डडेलधुरा, डोटी र आसपासका जिल्लाहरूमा बग्ने स-साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको छ।
मुख्य बुँदाहरू
विद्यार्थीलाई मात्र उत्तीर्ण गराउने प्रवृत्ति गलत
विश्व बैंकको उच्च शिक्षा वञ्चित गर्ने सुझावको विरोध
विदेशी पूँजी र बहुराष्ट्रिय कम्पनीको हितमा युवालाई वैदेशिक रोजगारीमा धकेलिएको आरोप
राजनीतिक घोषणापत्रअनुसार काम नगर्ने पार्टीले जनतालाई धोका दिएको भनाइ
कानुनको सही ज्ञान राजनीतिक कार्यकर्ताका लागि आवश्यक
भक्तपुर, २५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले प्रा.डा. रजितभक्त प्रधानाङ्ग र सोमकान्ता भण्डारीको संयुक्त लेखनमा प्रकाशित ‘फौजदारी कानुन र फौजदारी न्याय’ पुस्तक शनिबार एक समारोहबीच सार्वजनिक गर्नुभएकाे छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा ख्वप इन्जिनियरिङ कलेजको सभा कक्षमा भएको कार्यक्रममा अध्यक्ष बिजुक्छेँलगायतका अतिथिहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले विद्यार्थीलाई केवल परीक्षा पास गर्ने उद्देश्यले मात्र पढाउनु र विद्यार्थीले त्यही मानसिकता राख्नु दुवै गलत भएको बताउनुभयाे । उहाले कुनै पनि विषयलाई गहिराइमा बुझ्न सकेमात्र सत्य र यथार्थ थाहा पाउन सकिने भन्दै, परीक्षा नलिईकन उत्तीर्ण गराउने प्रवृत्तिले शिक्षा स्तर खस्किँदै गएको टिप्पणी गर्नुभयाे ।
उहाँका अनुसार, झन्डै २५ वर्षअघि विश्व बैंकले उच्च शिक्षा गरिबका लागि आवश्यक नभएको, पैसा खर्च गर्न सक्नेले मात्र पाउनुपर्ने र सरकारी अनुदान कटौती गर्नुपर्ने सुझाव दिएको थियो, जसले बहुसंख्यक जनतालाई शिक्षा वञ्चित पार्ने खतरा निम्त्यायो। उहाँले सरकारमा गएका दलहरू विदेशी पूँजी र बहुराष्ट्रिय कम्पनीको हितमा काम गर्दै नेपाली युवालाई योजनाबद्ध रूपमा उच्च शिक्षा बाट टाढा राखी वैदेशिक रोजगारीमा धकेलिरहेको आरोप लगाउनुभयाे ।
भक्तपुर काण्ड (२०४५ साल) को प्रसङ्ग उठाउँदै उहाँले पार्टीका ६७ जना कार्यकर्तामाथि ज्यान मुद्दा लगाइएको र पक्राउ परेकालाई निर्घात यातना दिइएको स्मरण गर्नुभयाे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुस्तक कानुन अध्ययन गर्ने विद्यार्थी मात्र नभई प्राध्यापक, न्यायाधीश, प्रशासन र सर्वसाधारण सबैका लागि उपयोगी हुने बताउँदै नेपालमा कष्टपूर्ण थुना, अभद्र व्यवहार र चरम यातना सामान्य जस्तै भएको उल्लेख गर्दै न्याय प्रणालीमा सिद्धान्त र व्यवहारबीचको असमानताले जनविश्वास घटाएको टिप्पणी गर्नुभयाे ।
प्रमुख प्रजापतिले हालैका विवादास्पद सजाय माफीका घटनाहरू-जस्तै रिगल भनिने योगराज ढकाल, सुजन कोइराला र पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दा-उदाहरणका रूपमा प्रस्तुत गर्दै अपराधीलाई राजनीतिक संरक्षण दिने प्रवृत्ति खतरनाक भएको बताउनुभयाे ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले नेपाल प्राकृतिक सम्पदामा धनी भएर पनि आर्थिक रूपमा कमजोर हुनुमा शासक दलहरूको भूमिका रहेको बताउनुभयाे । कानुन न्यायका लागि हुनुपर्ने र जडसूत्रवादी नहुनेमा जोड दिँदै उनले न्यायको कार्यान्वयन गर्दा जनताको राय पनि सुन्नुपर्ने धारणा राख्नुभयाे ।
लेखक प्रा.डा. रजितभक्त प्रधानाङ्गले आफ्नो पुख्र्यौली थलो भक्तपुरमा पुस्तक विमोचनको अवसर पाएकोमा खुशी व्यक्त गर्दै कलेजको शैक्षिक उन्नयनका लागि परामर्श, अक्षयकोष स्थापना तथा पुस्तक र जर्नल सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे । सर्वोच्च अदालतका न्यायाधीश डा. मेघराज पोखरेलले विचार विविधताको महत्त्व र प्राज्ञिक छलफलको आवश्यकता औँल्याउनुभयाे । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश वासुदेव न्यौपानेले पुस्तकलाई फौजदारी कानुनको मानक सामग्रीको रूपमा मूल्याङ्कन गर्नुभयाे ।
नेपाल बार एसोसियसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले पुस्तकलाई नेपालको कानुनी साहित्यको महत्वपूर्ण खजाना रूपमा चित्रीत गर्नुभयाे । पूर्वसहन्यायाधीवक्ता रेवतीराज त्रिपाठीले पुस्तकमा २०५९ देखि २०७७ सम्मका २१ वटा अनुसन्धानमूलक लेखहरू समावेश रहेको जानकारी दिदै राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनबीचको तुलनात्मक अध्ययन गरिएको बताउनुभयाे ।
कार्यक्रममा प्रकाशक पैरवी बुक हाउसका अध्यक्ष अधिवक्ता चन्द्र सिवाकोटी, भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशी, कलेज प्राचार्य अनिता जधारी र सञ्चालक समिति सदस्य रवीन्द्र ज्याख्वलगायतले पनि आफ्ना धारणा राखेका थिए।
मुख्य बुद्दा:
भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक १४० विद्यार्थीलाई छात्रवृत्ति सिफारिस पत्र प्रदान
कुल रु. २ करोड १५ लाख ९० हजार बराबर छात्रवृत्ति वितरण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन
भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउने लक्ष्य रहेको र यसका लागि विद्यालयहरूले राम्रो परिणाम ल्याइरहेको जानकारी
ख्वप कलेजमा कक्षा ११ मा १८०० भन्दा बढी विद्यार्थी भर्ना
नगरपालिकाले गुणस्तरीय शिक्षा र अनुशासनमा जोड
भक्तपुर नपाले वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्ति वितरण
छात्रवृत्ति वितरणमा विज्ञान ५३, व्यवस्थापन ६७, मानविकी ५, शिक्षा ८, कानुन ७ जना विद्यार्थी।
भक्तपुर, २४ साउन । भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०८२-८३ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक १४० जना विद्यार्थीलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ। एक कार्यक्रममा भनपा प्रमुख सुनिल प्रजापतिले कुल रु. २ करोड १५ लाख ९० हजार बराबरको छात्रवृत्ति प्रदान गर्नुभएको हो।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरलाई शैक्षिक गन्तव्यस्थलका रूपमा विकास गर्ने लक्ष्यलाई सफल बनाउन विद्यालयहरूले उत्कृष्ट परिणाम ल्याइरहेका बताउनुभयाे । उहाँले ख्वप कलेजमा मात्रै कक्षा ११ मा १८०० भन्दा बढी विद्यार्थी भर्ना भइसकेको जानकारी दिदै गुणस्तरीय शिक्षा र अनुशासनमा कुनै सम्झौता नगरिने बताउनुभयाे ।
उपप्रमुख रजनी जोशीले छात्रवृत्ति पाउनु विद्यार्थीहरूको लागि ठूलो अवसर भएको भन्दै उनीहरूलाई मेहेनत गर्न र देश निर्माणमा योगदान गर्न प्रेरणा प्रदान गर्नुभयो। विद्यार्थीहरुलाई देश र समाजप्रति जिम्मेवार भएर अध्ययन गर्न नगर शिक्षा शाखा प्रमुख साधुराम फुँयाल र ख्वप माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद कर्माचार्यले जानकारी दिनुभयाे ।
भक्तपुर नगरपालिकाले विज्ञानतर्फ ५३, व्यवस्थापनतर्फ ६७, मानविकीतर्फ ५, शिक्षा संकायतर्फ ८ र कानुनतर्फ ७ गरी जम्मा १४० जना विद्यार्थीलाई छात्रवृत्ति सिफारिस गरेको छ। नगरपालिकाले वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्ति वितरण गर्दै आएको छ भने यसले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले छात्रवृत्ति पाउनु विद्यार्थीहरूको लागि ठूलो अवसर भएको र अझ मेहनत गर्नुपर्ने बताउनुभयाे । यसरी भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा निरन्तर लगानी र सहयोग गर्दै आएकाले यो क्षेत्र शिक्षाको दृष्टिले समृद्ध हुँदै गएको छ।
बागलुङ, १८ साउन । तीन वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन क्षेत्रमा गोठाला र वस्तुभाउबाहेक कोही जाँदैनथे । पाटनैभरि वनफूल फुल्थे । वस्तुभाउ चर्दै पुग्ने ठाउँसम्म गोबर भेटिन्थ्यो ।
तर अहिले बुकीपाटनमा पर्यटकको आकर्षण बढेको छ । गत वर्षदेखि ढोरपाटन पुगेका आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन उक्लिन थालेपछि पहिले वनफूल र गोबर भेटिने ठाउँमा अहिले प्लास्टिक र सिसा भेटिन थालेका छन् । फुमफिरका गर्न आएका पर्यटकले यत्रतत्र फोहर फाल्दा बुकीपाटन कुरुप बन्ने जोखिम बढेको छ ।
ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि उकालो लागेपछि पदमार्गका छेउछाउ, कोल्सा, डाँडा, खोला र बुकीपाटनसम्मै बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल छरपस्ट भेटिन्छन् । पर्यटन तथा उद्योग कार्यालय बागलुङ र ढोरपाटन सिकार आरक्षले पदमार्गको ठाउँठाउँमा फोहर फाल्ने खाडल बनाए पनि त्यसको प्रयोग कमै भएको छ । बुकीपाटनमा सिरसिर सिरेटो चलिराख्ने हुँदा एक ठाउँ फालेको फोहर उडाएर टाढाटाढा पुर्याउने गरेको छ ।
बुकीपाटनमा अधिकांश पर्यटकले प्लास्टिकजन्य सामग्री बोकेर जाने प्रयोग भइसकेपछि उतै फ्याँकेर फर्किने गरेको स्थानीय गोठाला लोकबहादुर विश्वकर्माले बताए । जथाभावी रूपमा फालेको प्लास्टिक घाँससँग वस्तुभाउले खाँदा बिरामी परेको उनको भनाइ छ । बिरामी वस्तुभाउको गोबरमै प्लास्टिकका टुक्रा फेला पर्ने विश्वकर्माले सुनाए । प्लास्टिक खाएर आफ्ना तीनवटा भेडा मरेको उनले गुनासो पोखे ।
“पहिला लेकमा गोठालामात्रै हुन्थ्यौँ, बाहिरी मान्छे आउँदैनथे, गाठालाले खासै प्लास्टिक ल्याउँदैनथे, अहिले त बुकीको ठाउँठाउँमा जता पनि कागज भेटिन्छन्”, उनले भने, “उनीहरुले बोकेर आउने चाउचाउ, बिस्कुटको प्लास्टिक सबै यही फालेर जान्छन्, त्यो प्लास्टिक खाएर हाम्रो पशुचौपाय बिरामी पर्छन्, केही दिन अगाडि तीन भेडा मरे, मरेका भेडाको गोबरमा बिस्कुटबाहिरको प्लाष्टिक भेटियो ।”
उपत्यकादेखि बुकीपाटन जाने पर्यटकका लागि अहिलेसम्म कुनै पनि मापदण्ड बनाइएको छैन । पर्यटकले आफूलाई मन लागे जतिको समान बुकीपाटन लिएर जाने गर्छन् । यस वर्ष माथिल्लो क्षेत्रमा धेरै प्लास्टिकजन्य फोहर थुप्रिन थालेको ढोरपाटन उपत्यकाका होटल व्यवसायी धिरेन्द्र घर्तीमगरले बताए । गर्पाछेडा, टीकाधारा, फुर्से देउराली, फागुनेलगायतका बुकीपाटन क्षेत्रमा जाने पर्यटकले होटलबाटसमेत वियर, रमलगायतका पेयपदार्थ बोकेर जाने गरेको भन्दै त्यसको सिसा उतै फ्याँकेर आउने गरेको उनको भनाइ छ ।
घर्तीमगरले भने, “सिकार आरक्ष अथवा नगरपालिकाले बुकीपाटन जानका लागि एउटा मापदण्ड बनाउनुपर्ने देखियो, यही हिसाबले बुकीपाटनमा फोहर बढ्दै गयो भने त यसको असर खतरनाक हुनसक्छ, भोलि त्यस क्षेत्रमा फुल्ने फूल, घाँस र जीवजन्तुलाई असर पुग्छ, त्यसले गर्दा समयसमय सफाइ गर्ने र सीमित प्लास्टिकजन्य सामानमात्र बुकी लैजाने व्यवस्था गर्नुपर्छ ।”
सामान्य उचाइबाट एकैपटक चार हजार ३०० मिटरको उचाइसम्म पुग्दा कोही बाटोमा बिरामी हुने त कतिलाई लेकसमेत लाग्ने गरेको छ । यसतर्फ कुनै पनि निकायको ध्यान पुग्नसकेको छैन । प्लास्टिकले पर्यावरण र बुकीपाटनको सुन्दरतालाई कुरुप बनाउन सक्ने काठमाडौँबाट घुम्न आउनुभएका नितेश राजभण्डारीले बताए ।
बुकीपाटन प्राकृतिक सुन्दरताका हिसाबले अत्यधिक राम्रो रहेको भन्दै उनले फोहर व्यवस्थापनका लागि सम्बन्धित निकाय र घुम्न जाने पर्यटकले पनि ख्याल गर्नुपर्ने बताए । फुर्से देउराली र गर्पाछेडामा धेरै प्लास्टिक फेलापरेको उनको भनाइ छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले समयसमयमा फोहर व्यवस्थापनका लागि कर्मचारी पठाउने गरे पनि प्रभाकारी हुन नसकेको बताए । घुम्न आउने पर्यटकले बढी लापरवाही गर्दा फोहर बढेको उनको भनाइ छ ।
सिकार आरक्षले ढोरपाटनका होटल व्यवसायी र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर बेलाबेलामा उपत्यकामा सरसफाइ गरे पनि बुकीपाटनमा पुग्न नसकेको अधिकारीले बताए । रासस
भक्तपुर, १३ साउन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत असार महिनामा मात्र ३० जनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सीमित स्रोत र जनशक्तिका बीचमा यस्तो संख्यामा मिर्गाैला प्रत्यारोपण गर्नु नेपालकै लागि मात्र नभई अन्तर्राष्ट्रिय मापदण्डमा पनि दुर्लभ मानिने सफलता भएको बताए ।
आर्थिक वर्ष २०८१/०८२ मा केन्द्रले १८६ मिर्गौला र ८ कलेजोको प्रत्यारोपण गरेको छ। मिर्गौला प्रत्यारोपण गराउने बिरामीहरू १४ देखि ७१ वर्षसम्मका थिए । तीमध्ये १५५ जना बिरामी २० देखि ४९ वर्ष उमेर समूहका थिए भने बाँकी अन्य उमेर समूहका थिए । पुरुष बिरामीको संख्या १३६ रहेको थियो भने महिला बिरामी ५० जना थिए । मिर्गाैला दान गर्नेमा भने १३० जना महिला र ५५ जना पुरुष रहेका थिए ।
केन्द्रले आफ्नो स्थापनाकालदेखि हालसम्म १,४७१ मिर्गौला र ३४ कलेजोको सफल प्रत्यारोपण गरिसकेको जनाएको छ । पछिल्लो वर्ष केन्द्रको टोलीको सहकार्यमा प्रादेशिक अस्पतालहरू सुर्खेत, पोखरा र भेरीमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गर्नु पनि गत वर्षको एउटा महत्वपूर्ण उपलब्धि हो ।
स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । केन्द्रले हाल दुई प्रदेशमा सेवा सुरु गरिसकेको छ र बाँकी प्रदेशहरूमा छिट्टै सेवा विस्तारको तयारी भइरहेको छ । तर, सरकारबाट समयमै आवश्यक जग्गा उपलब्ध नगराइएकाले सेवा विस्तारमा ढिलाइ भएको कार्यकारी निर्देशक डा. श्रेष्ठले गुनासो गरे ।
काठमाडौं, ११ साउन । भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूको पारिवारिक भेटघाट कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पारिवारिक भेटघाटले आत्मीयता र सहयोगी भावनाको विकास गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनप्रतिनिधि, कर्मचारी र जनताको संयुक्त पहलबाट उदाहरणीय काम सम्पन्न हुने उदाहरण भक्तपुर नगरपालिका हो । जनता इमानदार भए निर्वाचित जनप्रतिनिधि पनि इमानदार हुने हु“दा जनतालाई राजनीतिक र सैद्धान्तिक रूपमा स·ठित गर्नु जरूरी छ ।”
व्यक्तिगत स्वार्थ त्यागेर काम गरे समाजको विकास तीव्रगतिले गर्न सकिने भनाइ उहाँको थियो । प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर शैक्षिक, राजनीतिक, सांस्कृतिक र सफाइमा परिवर्तन हुनुमा पार्टीका अग्रजहरूको भूमिका महत्वपूर्ण छ । राजनीतिक कार्यकर्ताहरू विचार र सिद्धान्तमा प्रतिबद्ध भई लाग्नुपर्छ ।”
भक्तपुर नगरका जनप्रतिनिधि, कर्मचारी र राजनीतिक नेतृत्वको अनुशासन र इमानदारिताको कारण देशभरिका नगरपालिकालाई मार्ग निर्देश गर्ने क्षमताको विकास भएको छ, उहाँले भन्नुभयो ।नगरपालिकाले लागु गरेको पर्यटन शुल्कले भक्तपुर विकासमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै प्रमुख प्रजापतिले जनतालाई स्वयम्सेवीको भावना दिन पाक्षिक सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कर्मचारी, जनप्रतिनिधिबिच पुनर्ताजगीको लागि पारिवारिक भेटघाट आवश्यक भएको धारणा राख्दै नेमकिपाको उद्देश्य र सिद्धान्तलाई व्यवहारमा लागु गर्ने जिम्मेवारी जनप्रतिनिधि, कार्यकर्ता र कर्मचारीको हो भन्नुभयो ।
पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले कर्मचारी र जनप्रतिनिधिको कर्तव्य र जिम्मेवारी फरक भए पनि जनताको सेवा गर्ने साझा जिम्मेवारीबाट प्रेरित भई काम गर्नुपर्ने बताउनुभयो ।
कर्मचारीहरू पनि राजनीतिकरूपमा स्पष्ट र प्रतिबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले जनप्रतिनिधिको उद्देश्य पूरा गर्ने कर्मचारीले सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो । भनपा वडा नं। १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौ“मिखाले जनताको मन जितेर काम गर्न सकेमात्र जनप्रतिनिधि र कर्मचारी सफल भएको ठान्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा वडा सदस्य जितेन्द्र मनुंकर्मीले पनि बोल्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले सेवानिवृत्त कर्मचारीहरू गोविन्दराम थुसा र भुवन बखुन्छेलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
भक्तपुर, १० साउन । यहाँको चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ ।नगरपालिकाको अनुगमन समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योगलाई आजैदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।
नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीका अनुसार ती उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित ती उद्योगले बिक्री गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक इकोली, कोलिफार्म, एमोनियालगायतका तत्व पाइएको नगरपालिकाका उपप्रमुख बुढाथोकीले जानकारी दिए ।
प्रतिबन्ध लगाइएका उद्योगहरूमा जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर, झौखेल खानेपानी, कर्णाली खानेपानी र भक्तपुर खानेपानी उद्योग छन् ।
गत सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठसहित अनुगमन समितिका सदस्य सन्तोषी नेपाली, वडा नं। ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, निलाकुमारी घिमिरे, वास संयोजक सुरेन्द्र लामिछाने, विभिन्न विषयगत समितिका प्रतिनिधिलगायतले पानी उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइको अवस्था, दर्ता तथा नवीकरणको अवस्थालगायतको स्थलगत निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा खानेपानीको उत्पादनमा समस्या देखिएको, गुणस्तरमा कैफियत भेटिएको र पानीको शुद्धतामा ध्यान नदिएको पाइएपछि पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।
नगरपालिकाको निर्देशनको अवज्ञा गर्ने उद्योगहरूलाई नियमानुसार कानुनी कारबाही गरिने जनाइएको छ । झौखेलमा मात्रै ५० वटाभन्दा बढी खानेपानी उद्योग सञ्चालनमा छन् । रासस