भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु

जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु

काठमाडौँ, ४ असाेज । नेपालमा जापानी इन्सेफलाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार ७ वटै प्रदेशका ३६ जिल्लामा १२१ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ भने संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ ।

महाशाखाका अनुसार हालसम्म १ हजार २२६ जनामा जेईसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । पछिल्लो तीन दिनमा मात्रै थप ४ जनामा संक्रमण पुष्टि भएको छ भने रोल्पा र तनहुँमा एक–एक जनाको मृत्यु भएको छ । हाल ५६ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् ।

खोप नलगाएकामा जोखिम बढी

महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार संक्रमितमध्ये ८५ प्रतिशतले जापानी इन्सेफलाइटिसविरुद्धको खोप नलगाएको पाइएको छ । मृत्यु भएका सबैले खोप नलगाएको तथ्याङ्कले देखाएको छ ।

मृत्यु हुनेमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका उमेर समूहका रहेका छन् । स्वास्थ्य अधिकारीहरूले जेईविरुद्धको खोप लगाउन तथा लामखुट्टेको टोकाइबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

कोशी प्रदेशमा सबैभन्दा धेरै मृत्यु

प्रदेशगत तथ्याङ्कअनुसार जापानी इन्सेफलाइटिसबाट सबैभन्दा धेरै मृत्यु कोशी प्रदेशमा १० जनाको भएको छ । मधेश प्रदेशमा ६, लुम्बिनीमा ५, सुदूरपश्चिममा ३ तथा बागमती र गण्डकी प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ ।

नेपालको पूर्वी भागबाट सुरु भएको संक्रमण क्रमशः पश्चिमतर्फ फैलिँदै गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । संक्रमितमध्ये ठूलो हिस्सा तराईका जिल्लामा भेटिएको छ ।

कृषक र धानबारी आसपास बस्नेमा जोखिम

तथ्याङ्कअनुसार जेई संक्रमितमध्ये ठूलो हिस्सा कृषि पेसामा आबद्ध रहेका छन् । धान खेत तथा सुँगुर वा बङ्गुर फार्म आसपास बसोबास गर्ने मानिसमा संक्रमणको जोखिम बढी देखिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा जापानी इन्सेफलाइटिसको प्रकोप घोषणा गरिएको छ । स्वास्थ्य अधिकारीहरूले घरवरपर सरसफाइ राख्न, लामखुट्टेको टोकाइबाट बच्न र समयमै खोप लगाउन आग्रह गरेका छन् ।

जापानी इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कसम्बन्धी गम्भीर भाइरल संक्रमण हो । संक्रमित चराचुरुङ्गी तथा सुँगुरबाट लामखुट्टेमा भाइरस पुगेपछि मानिसलाई टोकेको अवस्थामा संक्रमण हुन सक्छ । 

 


Thali Mobile Pvt.Ltd.