बाढीका कारण त्रिशूली अस्पताल जोड्ने पुल भत्किएपछि नुवाकोटमा वैकल्पिक स्वास्थ्य सेवा व्यवस्थापन अघि बढाइएको ।
प्रदेश सरकारले सूचना प्राप्त भएको करिब तीन घण्टाभित्र EMT तथा RRT टोली नुवाकोटमा परिचालन गरेको ।
त्रिशूली अस्पतालमा १०० शय्या, विशेषज्ञ जनशक्ति तथा आकस्मिक उपचार सेवा सञ्चालनमा रहेको सचिव गौतमको भनाइ ।
विदुरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अस्थायी बर्थिङ सेन्टर स्थापना गरी आमा सुरक्षा तथा प्रसूति सेवा उपलब्ध गराउने तयारी ।
आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवा निरन्तरताका लागि EBHSC स्थापना गर्न WHO समक्ष सहयोग माग गरिएको ।
विदुर (नुवाकोट), ४ असाेज । बाढीका कारण त्रिशूली अस्पताल जोड्ने पुल भत्किएर विदुर क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा चुनौती थपिएपछि बागमती प्रदेश सरकारले आकस्मिक स्वास्थ्य सेवा तथा प्रसूति सेवा सञ्चालनका लागि तयारी अघि बढाएको छ ।
बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय सचिव डा. सुमित्रा गौतमको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै स्वास्थ्य सेवा निरन्तरता र थप व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको हो ।

रसुवा बाढीको सूचना प्राप्त हुनासाथ प्रदेशअन्तर्गतका इमर्जेन्सी मेडिकल टिम (EMT) तथा र्यापिड रेस्पोन्स टिम (RRT) लाई परिचालन गरिएको सचिव गौतमले बताउनुभयो । उहाँका अनुसार प्रविधिको प्रयोग गर्दै ह्वाट्सएप तथा भाइबर समूहबाट स्वास्थ्यकर्मीहरूलाई सक्रिय गराइएको थियो । करिब तीन घण्टाभित्र भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रयोगिनी अस्पतालबाट इमर्जेन्सी मेडिकल टिम नुवाकोटमा परिचालन गरिएको थियो ।
सचिव गौतमले त्रिशूली अस्पताल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको १०० शय्याको सुविधासम्पन्न अस्पताल रहेको बताउनुभयो । अस्पतालमा एनेस्थेसिया, अर्थोपेडिक, नर्सिङ तथा चिकित्सकसहित आवश्यक जनशक्ति उपलब्ध रहेको र अस्पतालको टिमले बाढीबाट प्रभावित तथा घाइते बिरामीलाई उपचार सेवा प्रदान गरेको उहाँको भनाइ छ । विद्युत् आपूर्तिमा समस्या आए पनि जेनेरेटरमार्फत सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
त्रिशूली अस्पतालतर्फको पुल भत्किएपछि वारि विदुर क्षेत्रमा रहेका नागरिकका लागि वैकल्पिक स्वास्थ्य सेवा व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ । यसैलाई ध्यानमा राख्दै विदुरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आवश्यक मेडिकल टिमसहित अस्थायी बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी गरिएको हो ।

पुल सम्पर्कविच्छेदका कारण त्रिशूली अस्पताल पुग्न कठिनाइ हुने गर्भवती महिलालाई आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रसूति सेवा तथा आवश्यक आकस्मिक प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले स्थान पहिचान गरिएको सचिव गौतमले बताउनुभयो ।
त्यस्तै, विपद्को समयमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन इमर्जेन्सी बेसिक हेल्थ सर्भिस सेन्टर (EBHSC) स्थापना गर्ने तयारी अघि बढाइएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक औषधि, औजार, उपकरण तथा अन्य सहयोग उपलब्ध गराउन विश्व स्वास्थ्य सङ्गठन (WHO) समक्ष पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्र, होल्डिङ सेन्टर तथा स्थानीय विद्यालयमा प्रदान गरिएका स्वास्थ्य सेवाको समेत अनुगमन गरिएको छ । पानीको गुणस्तर जाँच, झाडापखाला रोकथाम तथा अन्य स्वास्थ्यसम्बन्धी सेवाको अवस्थाबारे समीक्षा गर्दै आवश्यक व्यवस्थापनका विषयमा साझेदार संस्थासँग समन्वय गरिएको बताइएको छ ।
सचिव गौतमले विपद्का बेला स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीचको सहकार्य, सहअस्तित्व तथा समन्वयका आधारमा स्वास्थ्य टोली परिचालन गरिएको बताउनुभयो । प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन सकिएकोमा आफूलाई खुसी लागेको उहाँको भनाइ छ ।
व्यक्तिगत स्वास्थ्य समस्याका बाबजुद पनि विपद् प्रभावित क्षेत्रमा स्थलगत अनुगमन तथा सेवा व्यवस्थापनमा सक्रिय रहनुभएकी सचिव गौतमको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका टोलीहरू आवश्यकताअनुसार निरन्तर परिचालित भइरहेका जनाइएकाे छ ।
