भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड

भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड

मुख्य बुँदा

भक्तपुर नगरपालिका–६ अंचा पुखुमा ख्वप आदर निकेतन उद्घाटन भएको छ ।

ज्येष्ठ नागरिकको हेरचाह, सम्मान, स्वास्थ्य र सुरक्षित जीवनयापनलाई प्राथमिकता दिइएको छ ।

आदर निकेतनमा पोषणयुक्त खाना, स्वास्थ्य परीक्षण, नर्सिङ स्टेसन, मनोरञ्जन तथा सामाजिक गतिविधि सञ्चालन गरिनेछ ।

हालसम्म २० जना ज्येष्ठ नागरिकले भर्नाका लागि नाम दर्ता गरिसकेका छन् ।

आदर निकेतनको सेवा भक्तपुर नगरपालिकाका अन्य वडामा समेत विस्तार गर्ने योजना रहेको छ ।

भक्तपुर, ४ असाेज । भक्तपुर नगरपालिकाद्वारा भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको ख्वप आदर निकेतनको उद्घाटन भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले ख्वप आदर निकेतनको उद्घाटन गर्नुभएकाे हाे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले ज्येष्ठ नागरिकको हेरचाह, सम्मान तथा मानसिक स्वास्थ्यका लागि आदर निकेतनजस्ता सेवा आवश्यक रहेको बताउनुभयो । उमेर बढ्दै जाँदा स्मरणशक्ति कमजोर हुनसक्ने भएकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह र सामाजिक वातावरण आवश्यक पर्ने उहाँको भनाइ थियो ।

भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड

ज्येष्ठ नागरिकलाई एक्लै राख्न नहुने उल्लेख गर्दै उहाँले उचित हेरचाह र सामाजिक वातावरण उपलब्ध गराउन सके उनीहरूको जीवनको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । लामो समयदेखि आदर निकेतन सञ्चालन गर्ने उद्देश्य रहेको र अहिले आएर उक्त उद्देश्य पूरा भएको उहाँले उल्लेख गर्नुभयो । घरमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकका लागि स्थानीय तहले हेरचाह केन्द्र स्थापना गरी निरन्तर सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बालबालिकाका लागि विद्यालय, किन्डरगार्डेन तथा शिशु स्याहार केन्द्रहरू भएजस्तै ज्येष्ठ नागरिकको संरक्षण र हेरचाहका लागि पनि आवश्यक केन्द्र स्थापना गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष बिजुक्छेंले ज्येष्ठ नागरिकलाई सहारा र सम्मानसहितको सेवा उपलब्ध गराउन वडा तहबाटै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

साथै, देशभक्तिको भावना विकास गर्दै देशका लागि समर्पित हुने युवाको आवश्यकता रहेको र निर्वाचित जनप्रतिनिधिले जनताका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा उहाँले सरकारका केही निर्णय तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि धारणा राख्नुभयो । उहाँले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भक्तपुरमा भएको आगजनीमा स्थानीय युवाको संलग्नता रहेको दाबी गर्दै राजनीतिक चेतनाको विकास र टोलटोलमा संगठन सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आदर निकेतनमा भर्ना भएका ज्येष्ठ नागरिकलाई फूलमाला लगाएर स्वागत गर्नुभयो । उहाँले पोषणविज्ञको सल्लाहअनुसार खाना खुवाउने तथा टेलिभिजन, परम्परागत खेल, भजन–कीर्तनलगायतका गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो । आदर निकेतनमा शुद्ध पिउने पानी, नर्सिङ स्टेसन तथा स्वास्थ्य परीक्षणको व्यवस्था गरिने नगर प्रमुख प्रजापतिले बताउनुभयो । यसको सेवा नगरपालिकाका अन्य वडामा समेत विस्तार गर्दै लैजाने योजना रहेको उहाँको भनाइ थियो ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप आदर निकेतन निर्माणमा जनताको जनश्रमदानसमेत रहेको उल्लेख गर्दै यसलाई स्थानीय सरकारले जनताको सेवामा गर्न सक्ने कामको उदाहरणका रूपमा लिनुपर्ने बताउनुभयो । महिला तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने र बालबालिका तथा ज्येष्ठ नागरिकलाई एकअर्कासँग घुलमिल हुने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जन्मदेखि मृत्युसम्मका संस्कार तथा सामाजिक आवश्यकतासँग जोडिएका विषयमा स्थानीय सरकारले जिम्मेवारी लिने नीति नगरपालिकाले अपनाएको बताउनुभयो । ज्येष्ठ नागरिकको स्वास्थ्य, सम्मानित र सुरक्षित जीवनयापन सुनिश्चित गर्न आदर निकेतन सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले आदर निकेतनलाई ज्येष्ठ नागरिक खुसीसाथ बस्न सक्ने वातावरणका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । बदलिँदो सामाजिक परिवेशमा बालबालिका र ज्येष्ठ नागरिक एक्लिँदै गएको उल्लेख गर्दै उहाँले ख्वप अस्पतालले ज्येष्ठ नागरिकलाई केन्द्रित गर्दै श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको जानकारी दिनुभयो । अस्पतालमा एमआरआई खरिद प्रक्रिया सुरु भइसकेको पनि उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिका–६ का वडाध्यक्ष हरिराम सुवालले परिवारमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकको संरक्षणका लागि ख्वप आदर निकेतन आवश्यक रहेको बताउनुभयो । आदर निकेतनमा भजन, मनोरञ्जन तथा बौद्धिक गतिविधिलगायतका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यपालिका सदस्य रोशनमैया सुवालका अनुसार ख्वप आदर निकेतनमा भर्नाका लागि हालसम्म २० जना ज्येष्ठ नागरिकले नाम दर्ता गरिसकेका छन् । आदर निकेतनको सेवा भोलिदेखि औपचारिक रूपमा सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । आदर निकेतनमार्फत ज्येष्ठ नागरिकलाई सुरक्षित वातावरण, आवश्यक हेरचाह, स्वास्थ्य सेवा तथा सामाजिक सहभागिताको अवसर प्रदान गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.