चालु आवको छ महिनामा काँकडभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम आयात
अघिल्लो वर्षको तुलनामा आयात पाँच दशमलव ६० प्रतिशतले वृद्धि
पेट्रोलियमबाट संकलित राजस्व पनि पाँच दशमलव ७० प्रतिशतले बढ्यो
पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल आयात
कुल राजस्व संकलन रु चार अर्ब ७४ करोडभन्दा बढी
झापा, माघ ८ । चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी रु नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१र८२ को सोही अवधिको तुलनामा रु ५१ करोड ५९ लाख ४३ हजार अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पाँच दशमलव ७० प्रतिशत अर्थात् रु २५ करोड ४२ लाख ४० हजारले बढेको उनले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु चार अर्ब ७२ करोड छ लाख मूल्य पर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।यसैगरी रु तीन अर्ब २२ करोड ६५ लाख मूल्य पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ ।
यस्तै, छ महिनाको अवधिमा रु एक अर्ब २४ करोड सात लाख मूल्य पर्ने १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, रु ३७ करोड ९४ लाख मूल्य पर्ने चार हजार ११२ किलोलिटर एटिएफ र रु नौ करोड पाँच लाख मूल्य पर्ने ९६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्याङ्क छ । रासस
कोरला नाकाबाट ११ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार
चीनबाट १० अर्ब ८२ करोड ९८ लाखको मालवस्तु नेपाल भित्रियो
नेपालबाट १८ करोड ९७ लाख रुपैयाँ बराबरको मालवस्तु चीन निर्यात
२,०७४ वटा विद्युतीय सवारीसाधन नेपाल आयात
बीवाईडी कम्पनीले पाँच सयभन्दा बढी ईभी पैठारी गर्दै
हालसम्म ५ अर्ब ६ करोड ६२ लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन
प्रतिकूल मौसमका बाबजुद कोरला नाकामा आयात–निर्यात सक्रिय
मुस्ताङ, ११ पुष । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ ।
गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।
कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएदेखि हालसम्म यहाँको कोरला नाका हुँदै चीनतर्फबाट रु १० अर्ब ८२ करोड ९८ लाखको मालवस्तु नेपाल भित्रिएको बताए ।
यसैगरी नेपालबाट हस्तकलालगायतका नेपाली उत्पादन रु १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु यहाँको भन्सार कार्यालयमा जाँचपाँस भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । कोरला नाकाबाट हालसम्म दुई हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।
आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रममा रहेको उनले बताए । यसै महिना बिवाइडी कम्पनीले कोरला नाकाबाट पाँच सय बढी विद्युतीय सवारीसाधन चीनबाट पैठारी गरिरहेको भन्सार जनाएको छ । सोही कम्पनीको ३०० बढी विद्युतीय सवारी भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले बताए ।
यहाँको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भई निकासी तथा पैठारी भएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट रु पाँच अर्ब छ करोड ६२ लाख सङ्कलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए ।
नेपाली बजारमा विद्युतीय कारको प्रयोग बढ्दै गएकाले पछिल्लो समय नेपालका विभिन्न कम्पनीले कोरला नाकाबाट चीनमा बनेका विद्युतीय सवारीसाधन आयात गर्दैआएका छन् । इन्धनको बचत तथा कार्बन उत्सर्जन घटाउन यस प्रकारका विद्युतीय सवारीसाधन उपयोगी हुने भएकाले सरकारले यस्ता सवारीसाधनलाई भन्सार सहुलियत प्रदान गरिएकाले नेपालमा विद्युतीय सवारीसाधनको माग बढेको हो ।
हिउँदयामको प्रतिकूल मौसममा समेत चीनबाट धमाधम कोरला नाका हुँदै विद्युतीय सवारीसाधन भित्रिएपछि कोरला नाकाको चहलपहल र भन्सार कार्यालयको कार्यसम्पादन गतिशील बनेको पाइएको छ । हिउँदयामसँगै ४६१० मिटरको उचाइमा अवस्थित कोरला नाकाको बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्री रहेको छ । प्रतिकूल मौसमका बाबजुत कोरला नाकाबाट विद्युतीय सवारीसाधन नेपाल भित्रिदै छन् ।
यहाँस्थित मुस्ताङ भन्सारमा जाँचपास सकेका विद्युतीय सवारीसाधनलाई जोमसोमसम्म र जोमसोमबाट पोखरासम्म चालकले गन्तव्यतर्फ पुर्याउन थालेका छन् । यसरी मुस्ताङबाट बाहिरिएका विद्युतीय सवारीसाधनलाई पोखराबाट अर्को चालक समूहले सम्बन्धित कम्पनीको शोरुमसम्म पुर्याउने गरेका छन् ।
त्यसअघि यहाँ भित्रिने विद्युतीय सवारीसाधनलाई चिनियाँ भन्सारबाट स्थानीय सीमापार पास भएका चालकले चलाएर कोरला नाकाको नेपालतर्फ बाहिर निकाल्ने काम गर्छन् । प्रतिकूल मौसमका कारण कोरला नाका बन्द हुने अनुमान गरिए पनि चीनतर्फबाट धमाधम मालवस्तु र विद्युतीय सवारीसाधन भित्रिँदा कोरला नाकाबाट दुई देशबीचको आयात-निर्यात चलायमान भएको हो ।
नाकाबाट धमाधम विद्युतीय सवारीसाधन भित्रिन थालेपछि बेनी–जोमसोम–कोरला सडकमा सञ्चालित विद्युतीय ‘चार्जिङ स्टेशन’हरु व्यस्त छन् । हिउँदयामको मौसममा माथिल्लो मुस्ताङका नागरिक धमाधम बेँसी झरिसकेको भए पनि कोरला नाकामा आयात(निर्यातको कारोबार घटेको छैन ।
भन्सार प्रमुख खड्काले विद्युतीय सवारीसाधनका अलावा हालसम्म दैनिक १०÷१२ मालबाहक कन्टेनर मालवस्तु नेपाल–चीन निकासी-पैठारी भइरहेको जानकारी दिए । रासस
वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले वृद्धि
गत आवको पाँच महिनामा ८४ अर्ब ३७ करोड राजस्व
मङ्सिरमा सबैभन्दा धेरै २० अर्ब ८० करोड राजस्व
मङ्सिर महिनाको लक्ष्य ९८ प्रतिशत हासिल
वार्षिक राजस्व लक्ष्य २ खर्ब ७३ अर्ब ३९ करोड
राजस्व सङ्कलन उत्साहजनक रहेको भन्सार प्रशासनको भनाइ
पर्सा, २ पुष । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १२ अर्ब एक करोडअर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकी कार्यालयले गत आवको पाँच महिनामा भने रु ८४ अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताए। “कार्यालयले मङ्सिर महिनामा रु २१ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशतअर्थात् रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ ।”
प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताए । साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।
त्यस्तै कात्तिक महिनामा रु १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ ।
भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ । रासस
वीरगञ्ज, १७ कार्तिक । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न थरिका सवारीसाधन नेपाल भित्रिएका छन्।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधन आयातबाट सात अर्ब ७७ करोड राजस्व संकलन गरिएको छ।भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सवारीसाधन आयात र राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए।
गत आवको तीन महिनामा ६ अर्ब १९ करोड मूल्यका सवारीसाधन आयात हुँदा पाँच अर्ब ९५ करोड राजस्व संकलन भएको थियो।चालु आवको तीन महिनामा तीन अर्ब ४१ करोड मूल्यका २४ हजार ९३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन्।
ती मोटरसाइकलबाट तीन अर्ब २८ करोड राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिमा दुई अर्ब ४९ करोड मूल्यका १९ हजार ४८९ मोटरसाइकल भित्रिएका थिए। यसैगरी, ६२ करोड २४ लाख मूल्यका ३३० जीप, कार र भ्यान आयात भएका छन्, जसबाट एक अर्ब ७५ करोड राजस्व संकलन गरिएको छ। गत वर्ष सोही अवधिमा ४३२ जीप, कार र भ्यान आयात भई एक अर्ब ९६ करोड राजस्व संकलन भएको थियो।
त्यस्तै, चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्यका २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। ती विद्युतीय सवारीसाधनबाट ४५ करोड ७२ लाख राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिमा १४ करोड ४९ लाख मूल्यका ९७ वटा विद्युतीय सवारीसाधन मात्र आयात भएका थिए र त्यसबाट नौ करोड ११ लाख राजस्व संकलन भएको थियो।
झापा, २२ जेठ । चालु आर्थिक वर्ष २०८१ र ८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् ५।४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ। आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको उनले बताए।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। उक्त अवधिमा सात अर्ब ३४ करोड ११ लाख मूल्य पर्ने ८४ हजार ३०० किलोलिटर पेट्रोल आयात भएको थियो। यसैगरी, पाँच अर्ब ५३ करोड ९६ लाख मूल्य पर्ने ५९ हजार ९७६ किलोलिटर डिजेल आयात भएको छ।
चालु आवको १० महिनामादुई अर्ब ३४ करोड मूल्य पर्ने २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास, ५५ करोड ९४ लाख मूल्य पर्ने छ हजार ६० किलोलिटर एटीएफ र १९ करोड ६९ लाख मूल्य पर्ने दुई हजार १५२ किलोलिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ। रासस