नयाँ दिल्ली । भारतको राजधानी दिल्लीले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यसहित सन् २०२७ सम्म अधिकांश नयाँ दर्ता हुने सवारीसाधनलाई विद्युतीय (ईभी) बनाउने महत्त्वाकांक्षी नीति लागू गरेको छ।
नयाँ नीतिअनुसार पहिलो चरणमा तीनपाङ्ग्रे सवारी, साना मालवाहक तथा त्यसपछि दुईपाङ्ग्रे सवारीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। सरकारले विद्युतीय सवारी खरिदलाई प्रोत्साहन गर्न कर छुट तथा आर्थिक अनुदानको व्यवस्था गरेको छ।
यसका साथै पेट्रोलबाट चल्ने पुराना सवारीसाधनलाई हटाउन प्रोत्साहनस्वरूप अनुदान दिने योजना पनि समावेश गरिएको छ। हाल दिल्लीमा दर्ता भएका कुल सवारीमध्ये करिब पाँच प्रतिशत मात्र विद्युतीय रहेको तथ्यांक छ।
विज्ञहरूले यो नीति वायु प्रदूषण न्यूनीकरणका लागि महत्त्वपूर्ण कदम भएको बताएका छन्। तर लक्ष्य सफल बनाउन पर्याप्त चार्जिङ स्टेशन, भरपर्दो विद्युत् आपूर्ति र उपभोक्ताको विश्वास अभिवृद्धि गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ।
उपभोक्ताहरूले पनि चार्जिङ सुविधाको पहुँच, ब्याट्रीको टिकाउपन तथा लामो दूरीको यात्राका क्रममा हुने असुविधाबारे अझै चिन्ता व्यक्त गरिरहेका छन्। यी चुनौती समाधान गर्न सकेमा दिल्लीको विद्युतीय सवारी नीति प्रदूषण नियन्त्रणका साथै स्वच्छ र दिगो यातायात प्रणाली निर्माणमा प्रभावकारी बन्न सक्ने अपेक्षा गरिएको छ।
काठमाडौं, ३१ बैशाख । भारतको उत्तर प्रदेश मा गए राति आएको शक्तिशाली आँधी र वर्षाका कारण कम्तीमा ५६ जनाको ज्यान गएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। तीव्र गतिको हावाहुरीका कारण सयौँ रूख तथा बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन्।
अधिकांशको मृत्यु घरको पर्खाल भत्किँदा वा रूखले च्यापिँदा भएको बताइएको छ। आँधीका कारण मानिससँगै पशुचौपायामा समेत ठूलो क्षति पुगेको छ।
योगी आदित्यनाथ ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ। उहाँले घाइतेहरूको निःशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आँधीका कारण धेरै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने राहत तथा उद्धार कार्य जारी रहेको बताइएको छ। मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।
काठमाडौं, २७ माघ । भारतको मेघालय राज्यस्थित अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ ।
विष्फोटमा परी बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
विष्फोटपछि सम्पर्कविहीन रहेका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको हो । यसअघि माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्स क्षेत्रमा रहेको अवैध कोइलाखानीमा भएको विष्फोटमा खोटाङकै बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भइसकेको थियो ।
राई रोजगारीका सिलसिलामा गत असोज ९ गते मेघालय पुगेका थिए । मृतक चारै जनाको उतै दाहसंस्कार गरिएको जनाइएको छ ।
काठमाडौँ, २९ कार्तिक । जम्मू–कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा शुक्रबार राति ठूलो विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ। घटनामा २९ जना घाइते भएका छन्, जसमा अधिकांश प्रहरी अधिकारी रहेका भारतीय अधिकारीहरूले जनाएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार जफत गरिएका विस्फोटक पदार्थहरूको नमुना परीक्षण गर्ने क्रममा अचानक विस्फोट भएको बताइएको छ। विस्फोटक पदार्थ कति मात्रामा थियो भन्ने भने अझै स्पष्ट भएको छैन।
उक्त विस्फोटक पदार्थ हरियाणाको फरीदाबादमा पक्राउ परेका तथा दिल्ली विस्फोट प्रकरणमा पहिले नै नियन्त्रणमा परेका डा. मुजम्मिल गनाईको भाडाको घरबाट बरामद गरिएको र त्यसलाई परीक्षणका लागि नौगाम प्रहरी चौकीमा राखिएको बताइएको छ।
घटनास्थलमा थप अनुसन्धान जारी छ भने घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृत्यु संख्या बढ्न सक्ने अधिकारीहरूले बताइहेका छन्।
नयाँ दिल्ली। भारतको दक्षिणी राज्य तमिलनाडुमा निर्माणाधीन थर्मल पावर परियोजनामा घटेको दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घटना बुधवार स्थानीय प्रहरीले पुष्टि गरेको छ।
दुर्घटना चेन्नई, तमिलनाडुको राजधानीमा भएको हो। सबै मृतकहरू उत्तर–पूर्वी राज्य आसामका मजदुर हुन्। मजदुरहरू करिब २० फिटभन्दा बढी उचाइमा काम गरिरहेका बेला फलामको खम्बा अचानक ढलेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटना मङ्गलबार राति निर्माणाधीन १,३२० मेगावाट एन्नोर विशेष आर्थिक क्षेत्र (SEZ) थर्मल पावर परियोजना मा भएको हो। घाइते कामदारलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय अधिकारीहरूले मृतकको परिवारसँग समन्वय गरी आवश्यक कदम चालिरहेको र घाइतेको स्वास्थ्य अवस्था निगरानीमा राखिएको जानकारी दिएका छन्।
उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा बादल फाट्दा बाढी आयाे
४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता, करिब ५० घर–होटल बगाएको प्रारम्भिक विवरण,
घटना स्थल गंगोत्री धाम जाने बाटोमा पर्ने प्रमुख बिसौनी धराली गाउँ,
सेना, एसडीआरएफ, एनडीआरएफ, र प्रशासन उद्धार कार्यमा खटिए,
एक घण्टामा सानो क्षेत्रमा १० सेमि वा बढी वर्षा भएमा त्यसलाई “बादल फाट्नु” भनिन्छ,
बादल फाट्नु सामान्यतया मनसुन वा प्री–मनसुन समयमा बढी हुने घटना,
यस्तो घटना पहाडी भू–भागमा बढी देखिने, पूर्वानुमान गर्न अत्यन्त कठिन।
भारत, २१ साउन । उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँस्थित खीर गंगा गदेरामा बादल फाटेर आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ।
मंगलबार आएको बाढीका कारण अहिलेसम्म ४ जनाको मृत्यु पुष्टि भएको छ भने ५० भन्दा बढी बेपत्ता छन्। एनडीआरएफका अनुसार ४०–५० घर र होटलहरू बगाएका छन्। गंगोत्री धाम जाने प्रमुख बिसौनी धरालीमा यो विपद् घटेको हो। सेना, एसडीआरएफ, एनडीआरएफ र स्थानीय प्रशासन उद्धार कार्यमा जुटेका छन्।
बादल फाट्नु के हो?
मौसम विभागका अनुसार एक घण्टामा सानो क्षेत्रमा १० सेन्टिमिटर वा सोभन्दा बढीको वर्षा भएमा त्यसलाई “बादल फाट्नु” (cloud burst) भनिन्छ।
यो घटना विशेषगरी मनसुन र प्रि–मनसुन समयमा बढी हुन्छ, विशेष गरी पहाडी भू–भागमा। बादल फाट्ने सटीक पूर्वानुमान अहिलेको प्रविधिले दिन गाह्रो भएकाे विज्ञकाे भनाइ छ । यद्यपि राडार र उच्च रिजोल्युसन मौसम मोडेलद्वारा निगरानी गर्न सकिने उनीहरूकाे तर्क छ । यसले नदी–नाला एक्कासी बढेर बाढीको रुप लिँदा ठूला क्षति हुनसक्ने जोखिम रहने बताइएकाे छ ।
तेलङ्गाना, १७ असार । भारतको तेलङ्गानाको संगारेड्डी जिल्लामा अवस्थित सिगाची इन्डस्ट्रिजमा सोमबार बिहान ८:१५ देखि ९:३० बजेको बीचमा भएको रियाक्टर विस्फोटले कम्तीमा ३४ जनाको ज्यान लिएको छ। यस दुर्घटनामा ३० भन्दा बढी घाइते भएका छन् भने २४ जना अझै बेपत्ता छन्। प्रहरी र उद्धार टोलीले बेपत्ता सबैको खोजी कार्य जारी राखेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार, विस्फोटपछि कारखानाबाट ३१ जनाको शव निकालिएको छ भने अस्पतालमा उपचारका क्रममा थप ३ जनाको मृत्यु भएको हो। यसबाहेक ५७ जना सुरक्षित रहेको जनाइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै, मृतकका परिवारलाई राहत दिने घोषणा गरेका छन्। उनले ट्विटरमार्फत भने, “तेलङ्गनाको संगारेड्डीमा भएको कारखाना आगलागीमा ज्यान गुमाउनुपरेकोमा म दुखी छु। हाम्रा समवेदनाहरू आफ्ना प्रियजन गुमाउनेहरूप्रति छन्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”
प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतक परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई पचास हजार रुपैयाँ राहत प्रदान गरिने जनाइएको छ। साथै, बिहार सरकारले पनि आफ्ना मृतक आश्रितलाई दुई लाख र घाइतेलाई पचास हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।
एजेन्सी । भारतको मणिपुर राज्य फेरि अशान्त बनेको छ। मैतेई समुदायको स्वयंसेवक संगठन ‘अरम्बाई टेंगोल (AT)’ का एक प्रमुख नेता कनान सिंह पक्राउ परेपछि मणिपुरमा तनाव फेरि चुलिएको हो।
शनिबार रातिदेखि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुने अवस्था सिर्जना भएको छ। कनान सिंहका समर्थकहरूले सडकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् भने एक बसमा आगजनी पनि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विरोध रातको समयमा पनि जारी रहेको छ।
स्थिति नियन्त्रणमा लिन सरकारले सुरक्षाकर्मी परिचालन गरेको छ। कतिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा तीन जना घाइते भएको उल्लेख गरिएको छ।
मणिपुरमा विगत दुई वर्षदेखि मैतेई र कुकी समुदायबीचको जातीय तनाव कायमै रहेको छ। यस हिंसामा हालसम्म २६० भन्दा बढीको ज्यान गएको छ र हजारौं नागरिक विस्थापित भएका छन्।
स्थिति गम्भीर हुन सक्ने भन्दै राज्य सरकारले पाँच जिल्लामा पाँच दिनको लागि इन्टरनेट सेवा बन्द गरेको छ। प्रहरीले एक जिल्लामा कर्फ्यु आदेश जारी गरेको छ भने चार जिल्लामा निषेधाज्ञा लागू गरी सभा तथा प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ।