काठमाडौं, १ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर माैसम सामान्य बदली रहने जनाएको छ । बागमती र कोशी प्रदेशका केहि पहाडी भू-भागमा भने दिउँसो भारी वर्षा हुने सम्भावना छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले नेपालको मनसुन केही कमजोर बनेको हो । तर बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी नै छ । आज मधेश, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । अन्य प्रदेशका कतिपय स्थानमा पनि आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।
राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली मात्र रहने विभागको अनुमान छ ।
काठमाडौँ, १४ साउन । देशभर मनसुनी वायु सक्रिय भइरहेका बेला बाढी पूर्वानुमान महाशाखाले ३३ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।
रसुवाको भोटेकोशीमा गए राति आएको ठूलो बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज बाढीको मध्यम जोखिममा पर्ने जिल्लाहरूमा रसुवा, नुवाकोट, धादिङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रुकुम पश्चिम, बझाङ, अछाम, डोटी, डोल्पा, मुगु, हुम्ला, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, जाजरकोट, दैलेख र सुर्खेत रहेका छन् ।
महाशाखाले ती जिल्लाहरू तथा आसपास भएर बहने खोला र नदी किनारमा सतर्कता अपनाउन आह्वान गरेको छ । यसैबीच मौसमविद् प्रतिभा मानन्धरका अनुसार गण्डकी प्रदेशको एक/दुई स्थानमा आज राति भारी वर्षा हुने सम्भावना छ । त्यहाँ आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै, आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थान र तराईका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ । सुक्खाग्रस्त मधेश प्रदेशमा पनि केही स्थानमा सामान्य वर्षा हुन सक्ने भए पनि ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले स्पष्ट पारेको छ ।
काठमाण्डौ, १२ साउन । देशका २५ जिल्लामा आज बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। दोलखा, सिन्धुपाञ्चोक, इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली जिल्लामा बाढीको सम्भावना रहेको जनाइएको छ।
त्यसैगरी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र कैलाली जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको उल्लेख गरिएको छ। बाढीको जोखिम रहेका र आसपासका खोला तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा ठूलो वर्षा हुने सम्भावना पनि रहेको छ। राति समेत गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाण्डौ, ९ साउन । देशभर मनसुनी वायुको प्रभाव हाल कमजोर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोजस्तै आज पनि काठमाण्डौ उपत्यकालगायत देशका अधिकांश भागमा बिहानैदेखि घाम लागिरहेको छ।
महाशाखाले दिउँसोपछि भने देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, रातिको समयमा कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही भागमा हावाहुरी चल्न सक्ने सम्भावना समेत महाशाखाले जनाएको छ। गएराति पूर्वका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भएको थियो।
मौसमविद्हरूका अनुसार अझै केही दिन मनसुनी गतिविधि कमजोर नै रहने सम्भावना रहेकोले खेतीपाती, सिँचाइ र खानेपानी व्यवस्थापनमा सतर्कता अपनाउन सुझाव दिइएको छ। विशेषगरी पहाडी भेगमा स्थानीय तहहरूले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, ८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको तुलनामा दक्षिणतर्फ सरेको छ, जसका कारण अधिकांश भूभागमा बदली कम देखिएको छ।
हाल कोशी, बागमती र गण्डकीलगायतका पहाडी प्रदेशहरूमा सामान्य बदली छ भने अन्यत्र आंशिक बदली रहेको जनाइएको छ। बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागहरूमा र देशका अन्य केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावित रहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना छ।
कोशी, मधेस र बागमती प्रदेशमा केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा (कोशी, मधेस, बागमती र गण्डकी प्रदेश) बाढी, पहिरो र यातायात अवरोधको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
काठमाण्डौ, ७ साउन । पाँचथर भएर बग्ने तमोर नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दा नदीको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नदी किनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपील गरिएको छ। हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ।
विशेषतः कोशी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको जनाइएको छ। आज बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।
गएराति सङ्खुवासभा र ताप्लेजुङमा भारी वर्षा भएको छ भने सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, सोलुखुम्बु, धनकुटा, उदयपुर, खोटाङ, सप्तरी, बैतडी र बाग्लुङमा मध्यम वर्षा मापन गरिएको छ।
आज राति पनि देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकोले बाढी, पहिरो तथा नदी कटानको जोखिममा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
काठमाडौँ, ५ साउन । सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न भागहरूमा रातिदेखि नै वर्षा भइरहेको छ। कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा बिहानपख भारी वर्षा भए पनि अहिले केही कमी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा जारी छ। दिउँसोतिर देशको पहाडी भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशका केही ठाउँहरूमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने सम्भावना छ।
साथै महाशाखाले भूस्खलन तथा बाढीको जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
पर्वत, ४ साउन । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा आएको पहिरोमा बेपत्ता भएका दम्पतिमध्ये ७६ वर्षीय छविलाल विश्वकर्माको शव फेला परेको छ भने उनकी श्रीमती विष्णुमती बिक अझै बेपत्ता छन्।
शनिबार रातिदेखि निरन्तर भइरहेको भारी वर्षासँगै घरमाथिबाट खसेको पहिरोले घरको एकातर्फको भित्तो भत्किँदा छविलाल र विष्णुमती घरमै पुरिएका थिए। जननेत्र माध्यमिक विद्यालय देउपुरका शिक्षक भूमिराज शर्माका अनुसार स्थानीयवासीले बिहानैदेखि उद्धार कार्य सुरु गरेका थिए। आइतबार बिहान करिब सवा ९ बजे छविलालको शव पहिरोस्थलमै फेला परेको हो।
उद्धारका लागि मोदी गाउँपालिकाको डिमुवाबाट प्रहरी टोली परिचालन गरिएको छ। विष्णुमती बिकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। तर अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट थप जनशक्ति परिचालित भए पनि पहिरो प्रभावित गाउँमा पुग्ने सडक अबरुद्ध हुँदा उद्धार कार्यमा थप समस्या देखिएको छ।
उक्त घरमा रहेकी छविलाल दम्पतिकी ३२ वर्षीया बुहारी पवित्रा बिक भने भागेर ज्यान जोगाउन सफल भएकी छन्। शनिबार रातिदेखि पर्वतसहित आसपासका क्षेत्रहरूमा भारी वर्षा जारी छ।
खोला तथा नदीहरूको बहाव उच्च बनेको छ, जसले थप जोखिम बढाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा स्थानीय तह र सुरक्षाकर्मीको सहकार्यमा उद्धार तथा राहत कार्य जारी छ।