भर्खरै : Sorry, your browser does not support inline SVG.
बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त |

एजेन्सी, ५ मंसिर । बङ्गलादेशमा राजनीतिक तनाव बढ्दै जाँदा विभिन्न स्थानमा आगजनी, तोडफोड र घरेलु बम विस्फोटका घटना भएका छन् । राजधानी ढाकामा प्रहरीले प्रतिबन्धित अवामी लिगसँग सम्बन्धित १२४ जनालाई पक्राउ गरेको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप चुलिएको हो । उहाँको पार्टी अवामी लिगले सरकारद्वारा राहदानी तथा परिचयपत्र उपलब्ध गराउने अनुरोध अस्वीकार गरिएको विरोधमा राष्ट्रव्यापी बन्दको आह्वान गरेको थियो ।

यसैबीच, अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुसको चट्टग्रामस्थित पैतृक घरमा बुधबार राति आगजनी भएको थियो । प्रहरीका अनुसार घरको प्रयोगमा नरहेको भुइँतलाको कोठामा आगो लागेको थियो । प्रहरी गस्ती टोलीले आगो निभाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

बुधबार नै नडाइल जिल्लामा मोटरसाइकल र्‍यालीमा सहभागी सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई समर्थकको आक्रमणमा मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि विभिन्न स्थानमा राजनीतिक कार्यकर्ता, सार्वजनिक सम्पत्ति, सवारीसाधन तथा कार्यालयलाई लक्षित गरी आगजनी र तोडफोडका घटना भएका छन् ।

प्रहरीले यी हिंसात्मक घटनामा प्रतिबन्धित अवामी लिगका कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ । प्रधानमन्त्री तारिक रहमानले पनि अवामी लिगले देशलाई अस्थिर बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि, यी आरोपबारे अवामी लिगको पक्षबाट स्वतन्त्र पुष्टि उपलब्ध छैन ।

हिंसात्मक घटनापछि सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । देशका विभिन्न जिल्लामा सुरक्षा बल परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार पछिल्ला दिनमा दर्जनौँ स्थानमा बम विस्फोट, सवारीसाधनमा आगजनी र सडक अवरोधका घटना भएका छन् ।

यसैबीच, ढाकास्थित उच्च अदालतले देशभरका सार्वजनिक विश्वविद्यालयमा हुने प्रवेश परीक्षा आगामी डिसेम्बर ३१ सम्म स्थगित गर्न आदेश दिएको छ । उच्च माध्यमिक तहको पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई पनि विश्वविद्यालय प्रवेश परीक्षामा अवसर दिनुपर्ने मागसहित परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

तर उक्त आदेशविरुद्ध सरकार र ढाका विश्वविद्यालयले पुनरावेदन गरेका छन् । सर्वोच्च अदालतले यससम्बन्धी सुनुवाइ नोभेम्बर २३ का लागि तोकेको छ । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनपछि शेख हसिनाको सरकार ढलेको थियो । त्यसपछि उहाँ भारतमा बस्दै आउनुभएको छ । हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने इच्छा व्यक्त गरेपछि बङ्गलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ ।

ढाका, २ फागुन । बङ्गलादेशमा सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनपछि सम्पन्न पहिलो संसदीय चुनावमा Bangladesh Nationalist Party (बीएनपी) ले दुई तिहाइ बहुमतसहित ऐतिहासिक सफलता हासिल गरेको छ।

डेढ वर्षअघि भएको नागरिक विद्रोहले Sheikh Hasina नेतृत्वको सरकार पतन भएपछि यो पहिलो संसदीय चुनाव भएको हो। निर्णायक जितसँगै बीएनपीका अध्यक्ष Tarique Rahman अर्को हप्ता प्रधानमन्त्री बन्ने निश्चित भएको छ। ६० वर्षीय रहमानले नयाँ सरकार गठनसँगै देशको नेतृत्व सम्हाल्ने तयारी भइरहेको छ।

रहमान बङ्गलादेशको प्रभावशाली जिया–रहमान राजनीतिक परिवारका सदस्य हुन्। उहाँका पिता Ziaur Rahman पूर्व राष्ट्रपति हुनुहुन्थ्यो। उहाँको हत्यापछि राजनीतिमा सक्रिय भएकी आमा Khaleda Zia देशकै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार बीएनपीले घोषणा गरिएका २ सय ९७ सिटमध्ये २ सय ९ सिट जितेको छ। पूर्वप्रधानमन्त्री हसिना नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको जमात–ए–इस्लामीले ६८ सिट जित्दै दोस्रो स्थान हासिल गरेको छ। आन्दोलनबाट उदाएको राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ६ सिटसहित तेस्रो स्थानमा रहेको छ।

अन्य दलहरूले सात सिट जितेका छन् भने सात सिट स्वतन्त्र उम्मेदवारको पक्षमा परेका छन्। कूल ३ सय सिटमध्ये चटगाँउ–२ र चटगाँउ–४ क्षेत्रको नतिजा कानुनी जटिलताका कारण रोकिएको छ भने शेरपुर–३ मा एक उम्मेदवारको निधन भएपछि त्यहाँ मतदान स्थगित गरिएको छ। बीएनपीको स्पष्ट बहुमतसँगै बङ्गलादेशको राजनीतिक दिशा आगामी दिनमा नयाँ मोडमा जाने विश्लेषण गरिएको छ।

एजेन्सी, १ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा फैसला हुनुअघि नै देशभर व्यापक अशान्ति फैलिएको छ।

विशेष ट्रिब्यूनलले आज फैसला सुनाउने भएकोले राजधानी ढाकादेखि अन्य धेरै सहरमा तनाव बढेको छ। फैसला आउनुअघि नै गाडीमा आगजनी, तोडफोड, सडक अवरुद्धजस्ता घटनाहरू देखिएको छ।

विभिन्न स्थानमा रुख ढालेर बाटो बन्द गरिएको तथा पूर्वनियोजित रूपमा विरोध प्रदर्शन चर्किएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। अवस्था नियन्त्रणमा लिन अन्तरिम सरकारले सेना, प्रहरी र सीमा सुरक्षा बललाई देशभर परिचालन गरेको छ।

ढाका प्रहरीले परिस्थिति नियन्त्रणबाहिर जान नदिन हिंस्रक प्रदर्शनकारीमाथि गोली चलाउन आदेश पाएको बताइएको छ। शनिबार रातिदेखि सुरू भएको तनाव आजको फैसला पछि थप उग्र हुन सक्ने अनुमान सरकारी निकायहरूले गरेका छन्।

सरकारी वकिलका अनुसार हसिनाविरुद्ध हत्या, अपराध रोक्न नसक्नु, मानवताविरुद्ध अपराध लगायत ५ गम्भीर आरोप लगाइएको छ। अभियोजनकर्ताले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्ड दिन माग गरेका छन्।

बंगलादेश इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले आज हसिनासँगै पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल तथा तत्कालीन प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल मामूनमाथिको मुद्दामा फैसला सुनाउनेछ।

एजेन्सी, २८ कार्तिक। बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको केन्द्रीय कार्यालयमा आक्रमण भएको छ। चुनाव नजिकिँदै जाँदा हिंसात्मक गतिविधि बढ्दै गएको एपी न्यूजले जनाएको छ।

गत साँझ अवामी लिग कार्यालयमा अज्ञात समूहले तोडफोड तथा आगजनी गरेको बताइएको छ। छुरा प्रहारबाट एक जनाको ज्यान समेत गएको छ। सरकार फेब्रुअरीमा चुनाव गर्न तयारीमा रहे पनि राजनीतिक वातावरण थप अस्थिर बन्दै गएको छ।

अवामी लिगले आउँदो आइतवारसम्म देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ। तर सरकारले पार्टीलाई राजनीतिक गतिविधि गर्न रोक लगाएको छ। यस्तै, अवामी लिगका कार्यक्रमलाई रोक्न सरकार समर्थक विभिन्न दल तथा समूहले पनि प्रदर्शन गर्ने चेतावनी दिएका छन्।

अपदस्थ प्रधानमन्त्री शेख हसिनामाथि चलिरहेको मुद्दामा सोमबार फैसला सुनाइने अपेक्षा रिपोर्टमा उल्लेख छ।

इस्लामाबाद, ३१ असाेज । बङ्गलादेशका अभियोजकहरूले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेका छन्। उनीमाथि गत वर्ष विद्यार्थीको नेतृत्वमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा भएको प्रदर्शन दबाएको आरोप लागेको छ।

त्यतिबेला विद्यार्थी प्रदर्शनहरू हिंसात्मक भएका थिए। सुरक्षा बलको कारबाहीमा करिब १,४०० मानिस मारिएका थिए। यस हिंसापछि शेख हसिनालाई सत्ताबाट हटाइएको थियो र आफ्नो ज्यान जोगाउन उनी भारत भागेकी थिइन्। हाल उनी भारतमै शरणमा छन्।

मुद्दा अनुसन्धानको क्रममा एउटा लीक भएको अडियो क्लिप बाहिर आएको थियो, जसमा शेख हसिनाले सुरक्षा बललाई प्रदर्शनकारी विरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप लगाइएको थियो। तर उनले यी आरोप अस्वीकार गरेकी छिन्।

बङ्गलादेशका अभियोजक ताजुल इस्लामले भनेका छन् कि मानवीय कारणले पूर्ण मृत्युदण्ड सम्भव नभए पनि कम्तीमा एक मृत्युदण्डको माग गरिएको छ।

गत वर्षको हिंसालाई बङ्गलादेशमा १९७१ को स्वतन्त्रता युद्धपश्चात भएको सबैभन्दा ठूलो हिंसा मानिएको छ। अभियोजकले भनेका छन्, “हसिनाले १ हजार ४०० जनाको मृत्युदण्ड पाउनुपर्छ,” र अनुसन्धान जारी राखिएको छ।