काठमाडौँ, ३ मंसिर । नेपाली सेनाको नयाँ प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । नेपाली सेनाले श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि सैनिक प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सहायक रथी राजाराम बस्नेत प्रधानसेनापतिको सचिवालयमा सरुवा भएका छन् । उनी सचिवालयमा सैनिक सहायकका रूपमा खटिएका हुन् । बस्नेतले १८ महिनासम्म सेनाको प्रवक्ताका रूपमा काम गरेका थिए ।
बिहीबार जङ्गी अड्डामा पत्रकारहरूसँग कुराकानी गर्दै नवनियुक्त प्रवक्ता श्रेष्ठले भ्रामक समाचार तथा सूचनाबारे स्पष्ट पार्न पत्रकारहरूसँग निरन्तर संवाद र समन्वय गरिने बताएका छन् ।कुनै विषयमा द्विविधा भएमा नेपाली सेनासँग समन्वय गर्न आग्रह गर्दै उनले सञ्चारमाध्यमसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
सहायक रथी श्रेष्ठ ३४ वर्षदेखि सैनिक सेवामा छन् । उनी २०४८ सालमा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा प्रवेश गरेका थिए । त्यसयता उनले सेनाका विभिन्न विभागमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
