काठमाण्डौ, १२ असार । पशुसेवा विभागले काठमाण्डौ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो ।
काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम धेरै देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डा। उमेश दाहालले बताउनुभयो । उहाँका अनुसार ३ महिनाअघि शुरू भएको सङ्क्रमण ११ वटा जिल्लामा फैलिएको छ ।
झन्डै १०० वटा कुखुरा फार्ममा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएपछि ती फार्ममा पक्षी, अण्डा, दाना नष्ट गरिएका छन् । झन्डै डेढ महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । काठमाण्डौ उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण, सूर्यविनायकलगायत क्षेत्रका फार्ममा सङ्क्रमण पुष्टि भएको छ ।
बर्ड फ्लुको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा सङ्क्रामक हुने र कुखुरालगायत पक्षी नष्ट उत्तम विकल्प मानिन्छ । सङ्क्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले सङ्क्रमणलाई चाँडो नियन्त्रण गर्न पक्षी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गर्नुभयो ।
विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा बर्ड फ्लु समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा बर्ड फ्लु समन्वय समिति गठन भएको छ ।
नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्लाबाट समितिले निर्धारण गर्ने दररेटका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको विभागका सूचना अधिकारी मुकुल उपाध्यायले जानकारी दिनुभयो । रासस
मुख्य बुँदा
शुक्लाफाँटा–९ सिसैयामा गाईको बाच्छीमा लम्पी स्किन रोग पुष्टि
नमुना पिसिआर विधिबाट परीक्षण, सुदूरपश्चिममा पहिलोपटक पुनः सङ्क्रमण
हाल केवल एक गाईमा संक्रमण, अन्य पशुमा लक्षण नभएको
रोग फैलिनबाट रोक्न सरसफाइ, अलग राख्ने र खोप सल्लाह दिइएको
विसं २०८० मा देशभर १३ लाख पशु सङ्क्रमित, ५० हजार मृत
कञ्चनपुर, ३ असाेज । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ । गाईको बाच्छीमा रोगका लक्षण देखिएपछि पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीको टोलीले नमुना सङ्कलन गरेको हो ।
सङ्कलित नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । नमुनाको पिसिआर विधिबाट परीक्षण गरिँदा लम्पी स्किन पुष्टि भएको पशु चिकित्सक जोशीले जानकारी दिए । जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा दुई वर्षअघि मात्र लम्पी स्किन रोग देखिएको थियो । त्यसयता हालसम्म यो पहिलोपटक पुनः सङ्क्रमण भेटिएको हो । हाल एकमात्र गाईको बाच्छीमा रोग देखिएको भए पनि आसपासका गाईभैँसीलगायत अन्य पशुमा भने लक्षण भेटिएको छैन ।
“कुन ठाउँबाट रोग फैलिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ”, उनले भने, “गत आर्थिक वर्षको अन्त्यतिर देखिएको यो वेभ सुदूरपश्चिम प्रदेशमा भने पहिलोपटक पुनः देखापरेको छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भने, “विसं २०८० मा देशभर झन्डै १३ लाख पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका थिए भने करिब ५० हजार पशुको मृत्यु भएको थियो ।”
सुदूरपश्चिम प्रदेशमा लम्पी स्किनविरुद्धको खोप न्यूनमात्र लगाइएको र वर्षायाम चलिरहेकाले रोग व्यापक फैलिने चुनौती रहेको वरिष्ठ पशु चिकित्सक जोशीले बताए । उनका अनुसार खोप सबैभन्दा प्रभावकारी उपाय भए पनि प्रदेशमा हाल मौज्दात नभएकाले रोगले विगत विसं २०८० सालमा जस्तै विकराल रूप लिन सक्ने देखिन्छ ।
“लम्पी स्किन रोग देखिएको पशुलाई तुरुन्त अलग राख्नुपर्छ”, उनले भने, “गोठ वरिपरि सरसफाइमा ध्यान दिनु आवश्यक हुन्छ, कीरा, लामखुट्टेजस्ता रोग सार्नेवाहक नियन्त्रण गर्नुपर्छ, सङ्क्रमित पशुलाई छुनु वा गोठमा पस्दा सावधानी अपनाउनुपर्छ ।” उनका अनुसार यो रोग लागेमा गाईभैँसीमा विशेष गरी शरीरभरि गाँठी ठुला दाना उठ्ने, आँखा वरिपरि, नाक र मुखमा फोका देखिन उच्च ज्वरो ९१०४ डिग्री फरेनहाइट वा बढी, शरीरका विभिन्न भाग विशेष गरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, कचेरा निकाल्ने, सिङ्गान बग्ने, फिँज धेरै निकाल्ने तथा लिम्फ नोड सुन्निनेजस्ता लक्षण देखिन्छन् ।
शुक्लाफाँटा नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार चार वर्षअघि वडा नं १२ कालागौंडीका किसानले पालेका गाईमा लम्पी स्किन रोग भेटिएको थियो । त्यसपछि अहिले वडा नं ९ सिसैयामा पुनः रोग देखिएको हो । “किसानलाई सङ्क्रमित गाईलाई अन्य पशुसँग नबाँध्न सचेत गराएका छौँ”, उनले भने, “सङ्क्रमित गाईलाई अलग राख्ने सल्लाह दिएका छौँ, सचेतना फैलाउने कार्य गरेका छौँ ।” रासस
काठमाडौँ, २८ असार । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग हाल ७३ जिल्लामा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरि १ हजार ९ सयभन्दा बढीमा डेङ्गी सङ्क्रमण देखिएको छ।
प्रदेश अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा ४६४, बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ३०५, सुदूरपश्चिममा २६८, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा डेङ्गी देखिएको छ।
डाक्टरहरूले डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्नेमा जोड दिएका छन्। बच्ने मुख्य उपायहरूमा समावेश छन्:
घर वरिपरि पानी जम्न नदिनु, झार, फूलदानी, टायरजस्ता ठाउँहरू सफा राख्नु।
झ्यालढोकामा लामखुट्टे प्रवेश रोक्ने जाली लगाउनु।
सुत्दा झुलो प्रयोग गर्नु।
लामो लुगा लगाएर शरीर छोप्नु।
मच्छर मार्ने औषधि प्रयोग गर्नु।
समुदायमा सफाइ अभियान चलाएर लामखुट्टेको प्रजनन स्थल नष्ट गर्नु।
डाक्टरहरूले भनेका छन् कि डेङ्गीको लक्षण देखिएमा तुरुन्त नजिकको अस्पताल पुग्नुपर्छ र घरेलु उपायमा निर्भर नहुन सुझाव दिएका छन्। यसैबीच, स्वास्थ्य महाशाखाले जनता र समुदायलाई सचेत रहन र सफाइमा ध्यान दिन विशेष आग्रह गरेको छ ।