काठमाडौं, ९ साउन । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग प्रभावित भएका छन् । कोशी र बागमती प्रदेशका केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।
कोशी प्रदेशअन्तर्गत भोजपुर, इलाम र खोटाङमा सडक अवरोध देखिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिम क्षेत्रमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । त्यस्तै, मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
खोटाङको माम्खा क्षेत्रमा गएको पहिरोका कारण मध्यपहाडी लोकमार्गमा पनि एकतर्फी यातायात सञ्चालन गरिएको छ ।बागमती प्रदेशमा बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
वि.पी. राजमार्ग मा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्थाअनुसार सवारी सञ्चालन गर्न दिइने जनाइएको छ ।
त्यसैगरी कान्ति लोकपथ को हेटौँडा–ठिङ्गन–ललितपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन निषेध गरिएको छ ।
यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सम्बन्धित निकायले वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
अविरल वर्षा र पहिरोका कारण देशभरका ९ प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध।
बिपी राजमार्ग र कान्ति लोकपथमा वर्षायामभर निश्चित समयमा सवारी सञ्चालनमा रोक।
अरनिको राजमार्ग, मेची राजमार्ग, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्गलगायत प्रभावित।
दोलखाको लामासाँघु–रामेछाप सडकमा वैकल्पिक मार्ग सञ्चालनमा।
नेपाल प्रहरीले आवश्यक सतर्कता अपनाउन यात्रुलाई आग्रह गरेको छ।
काठमाडौं, ८ साउन । अविरल वर्षासँगै विभिन्न स्थानमा गएको पहिरो र सडक कटानका कारण देशका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ६ बजेसम्म नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, कान्ति लोकपथ मा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।पहिरोका कारण इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग, मुगुको नाग्म–गमगडी सडक, रसुवाको पासाङ ल्हामु राजमार्ग, अछामको मध्यपहाडी लोकमार्ग तथा लमजुङको बेँसीसहर–चामे–मनाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड तामाकोशी नदीको कटानका कारण अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा पहिरो र बाढीको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौं, ३ साउन । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। प्रहरीका अनुसार पहिरो खस्दा केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा सुरक्षाका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
आज बिहान करिब ४:३० बजे काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, रोशी–८ गिम्दी तथा रोशी–९ बिरुवा डाँडा र पिनथली क्षेत्रमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यस्तै, मकवानपुरको बागमती गाउँपालिका–३ पाङदुर क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पनि पूर्ण रूपमा बन्द भएको छ।
सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले बीपी राजमार्गमा यसअघि नै अर्को सूचना जारी नभएसम्म साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। त्यस्तै, कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गरिएको छ।
इलामको राजदुवाली क्षेत्रमा हिलोका कारण मेची राजमार्ग पनि असार २३ गतेदेखि प्रभावित छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
त्यसैगरी, अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडकखण्ड पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलामा माथिबाट ढुङ्गा खसेपछि पूर्ण रूपमा अवरुद्ध बनेको छ।
यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र बागलुङको कालीगण्डकी करिडोर पनि पहिरोका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम कायम रहेको भन्दै प्रहरीले अत्यावश्यक बाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
काठमाडौँ, १ साउन । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग प्रभावित भएका छन्। शुक्रबार बिहान ६ बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडकखण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशको भोजपुरस्थित मध्यपहाडी लोकमार्गको बोखिम खण्ड बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ। त्यस्तै, इलामको राजदुवाली क्षेत्रमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यी दुवै स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको छ।
बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथअन्तर्गत बकैया–११ क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ भने भीमफेदी खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ।
सिन्धुपाल्चोकको भोटेकोशी–४ स्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। गण्डकी प्रदेशमा कास्कीको नयाँपुल–घान्द्रुक सडकखण्ड र बागलुङको मध्यपहाडी लोकमार्ग (इनारपानी) क्षेत्रमा वर्षा र पहिरोका कारण एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै, गुल्मीका कालीगण्डकी करिडोर र रुद्रबेणी सडकखण्डका विभिन्न तीन स्थानमा पहिरो खसेपछि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तरको वर्षा र थप पहिरो खस्ने जोखिमका कारण मर्मत तथा सफाइ कार्य प्रभावित भएको सम्बन्धित निकायले जनाएको छ। धेरै सडक एकतर्फी सञ्चालनमा रहेकाले सवारी जाम र दुर्घटनाको जोखिम समेत बढेको छ।
प्रहरी र सडक विभागले यात्रु तथा सवारी चालकलाई यात्रा सुरु गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेका छन्।
काभ्रेपलाञ्चोक, १३ चैत्र । काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गमा लागुऔषध तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार दिउँसो बनेपा नगरपालिका–८ जनागल क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा यात्रुवाहक बस तथा पानी ट्याङ्करका चालकहरू नशाको अवस्थामा भेटिएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले शिर मेमोरियल अस्पतालका प्राविधिकको सहयोगमा ड्रग्स किटमार्फत परीक्षण गरेको थियो।
प्रहरीले शंकास्पद ३९ सवारी चालकलाई जाँच गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको जनाएको छ। पक्राउ पर्नेमा महानगर बसका २६ वर्षीय समिर तामाङ र २० वर्षीय रोहित घतानी विश्वकर्मा, पुण्यवती यातायातका ३८ वर्षीय समिर महत, मयुर यातायातका ३२ वर्षीय महेश चौधरी र पानी ट्याङ्करका चालक २६ वर्षीय सुगम भुजेल रहेका छन्।
उनीहरूले सार्वजनिक सडकमा सयौँ यात्रुको ज्यान जोखिममा राख्दै नशाको अवस्थामा सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार गोप्य सूचनाका आधारमा यो अभियान सञ्चालन गरिएको हो। पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।
काठमाडौँ, ७ मंसिर । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म विस्तार भइरहेको ६-लेन सडक आयोजनाको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत १५.८ किलोमिटर लम्बाइको सूर्यविनायक – धुलिखेल सडक दुई प्याकेजमा विभाजन गरी निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
पहिलो प्याकेजअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डमा ४५ प्रतिशत काम सम्पन्न छ । दोस्रो प्याकेजमा पर्ने साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक विस्तारको प्रगति ५५ प्रतिशत पुगेको छ । हाल दुवै खण्डमा पर्खाल, नाली तथा संरचना निर्माण सक्रिय रूपमा चलिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्थलअनुगमन गर्दै निर्माण प्रगति तथा चुनौतीबारे सडक विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण व्यवसायीसँग समन्वय बैठक गरेका छन्। उनले वर्तमान मौसम निर्माणका लागि अनुकूल भएकाले कामलाई थप गति दिन निर्देशन दिएका छन् ।
मन्त्री घिसिङले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय तत्काल टुंग्याउन, जनशक्ति तथा उपकरण थपेर निर्माणलाई पूर्णरूपमा परिचालित गर्न र आगामी असारभित्र सडक विस्तार पूरा गर्ने लक्ष्यसहित काम गर्न आग्रह गरेका छन् । उनको भनाइमा, अर्थ मन्त्रालयबाट आवश्यक बजेटको प्रतिबद्धता भइसकेकाले अब वित्तीय अभाव नहुने बताइएकाे छ ।
यसअघि सडक सीमा विवाद, घर – टहरा हटाउने प्रक्रिया, बजेट अभावलगायत कारणले परियोजना प्रभावित हुँदै आएको थियो । चालु आर्थिक वर्षमा आयोजनाका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ भने करिब ४ अर्ब रुपैयाँ थप आवश्यक रहेको आयोजना कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा मन्त्री घिसिङले बनेपा बजार क्षेत्रमा देखिएका समस्याबारे बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी सडक विस्तार सहज बनाउन सहयोग गर्न आग्रह गरेका छन् । दुवै प्याकेजअन्तर्गत टेवा पर्खाल र नाली निर्माण ९५ प्रतिशत पूरा भएको छ भने साँगा – धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे कार्य सम्पन्न भइसकेको छ ।
मुख्य बुँदा
भारी वर्षाका कारण सडक दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले माइकिङमार्फत सचेतना अभियान सुरु
नागढुङ्गा, साँगा, थानकोट, बालाजु, सातदोबाटोलगायत नाकाहरूमा माइकिङ र मौखिक सूचना
चालकहरूलाई राति र पानीमा एक्लै यात्रा नगर्न र सवारीको प्राविधिक परीक्षण गर्न आग्रह
आगामी तीन दिनसम्म मनसुन सक्रिय रहने पूर्वानुमान
पृथ्वी, सिद्धार्थ, बीपी र अरनिको राजमार्गलाई उच्च जोखिम क्षेत्रको रूपमा पहिचान
देशभरका राजमार्गमा गस्ती र सूचना आदानप्रदान प्रणाली सक्रिय
काठमाडौँ, १८ असाेज । लगातारको वर्षाका कारण सडक दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले उपत्यकाका प्रमुख नाकाहरूमा माइकिङमार्फत सवारी चालकहरूलाई सचेत गराउन थालेको छ।
आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार, “हालैको मौसम पूर्वानुमानअनुसार तीन दिनसम्म मनसुन सक्रिय रहने देखिएकाले यस्तो समयमा सवारी सञ्चालनमा जोखिम रहन्छ। त्यसैले चालकहरूलाई सचेत गराउनका लागि उपत्यकाका प्रमुख नाका र व्यस्त स्थानहरूमा माइकिङ सुरु गरिएको हो।”
विशेषगरी उपत्यकाबाट बाहिरिने नागढुङ्गा, साँगा, थानकोट, बालाजु, सातदोबाटो लगायतका स्थानहरूमा गएरातिदेखि नै ट्राफिक प्रहरी परिचालित गरी माइकिङ भइरहेको छ। ट्राफिक प्रहरीले चालकहरूलाई राति वा वर्षाको समयमा एक्लै यात्रा नगर्न, सकेसम्म समूहमा यात्रा गर्न, र सवारीसाधनको ब्रेक, टायर, लाइट आदि प्राविधिक परीक्षण नियमित गर्न आग्रह गरेको छ।
पृथ्वी, सिद्धार्थ, बीपी र अरनिको राजमार्ग जस्ता पहाडी तथा पहिरो जोखिमयुक्त मार्गहरूमा यात्राको क्रममा विशेष सतर्कता अपनाउन पनि अपिल गरिएको छ। वर्षातका समयमा पहिरो, सडक कटान र सडकमा पानी जम्दा सडक अवरुद्ध हुने, सवारीसाधन बिग्रने वा दुर्घटनाको सम्भावना बढी हुने भएकाले, ट्राफिक प्रहरीले यसपालि सुरुआतदेखि नै उच्च सतर्कता अपनाएको जनाएको छ।
ट्राफिक प्रहरीले देशभरका मुख्य सडक र राजमार्गमा नियमित गस्ती, ट्राफिक पोस्टमार्फत सूचना आदानप्रदान, र विपद् अवस्थामा तत्काल उद्धार कार्यका लागि तयारी अवस्थामा टोलीहरू परिचालन गरेको छ। यातायात सम्बन्धी यथासमय जानकारी पुगोस् भनेर ट्राफिक प्रहरीले फेसबुक, एक्स (ट्विटर) र विभागीय वेबसाइटमार्फत मौसम अपडेट, सडक स्थिति, आकस्मिक सडक बन्द सूचनाहरू नियमित रूपमा प्रकाशित गर्दै आएको छ।
उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार, “सावधानी अपनाऔँ, दुर्घटनाबाट बचौँ” भन्ने नारालाई व्यवहारमा उतार्दै सुरक्षित यात्रा सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक छ।”
काठमाडौँ । शुक्रबारदेखिको निरन्तर वर्षाका कारण अरनिको र बीपी राजमार्गमा पूर्वतर्फबाट आएका सवारीसाधनहरूलाई विभिन्न स्थानमा होल्ड गरिएको छ।
लगातारको वर्षासँगै विभिन्न ठाउँमा लेदासहितको पहिरो खसेपछि, ट्राफिक प्रहरीले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधनलाई रोकेको हो। ट्राफिक प्रहरीका अनुसार, अहिले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटार क्षेत्रमा सवारीसाधन रोकिएको छ।
पहिरोका कारण बिहानदेखि अरनिको राजमार्गमा आवागमन अवरुद्ध बनेको छ। विशेषगरी धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको जनाइएको छ।
प्रहरीले पहिरो पन्छाउने काम भइरहेको भए पनि निरन्तर वर्षाका कारण समस्या समाधानमा ढिलाइ हुनसक्ने जनाएको छ। यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरिएको छ।