मुख्य बुँदा:
देशका पाँच स्थानमा सडक पूर्णरूपमा बन्द
सात स्थानमा एकतर्फी मात्र गाडी सञ्चालन
रसुवा–चीन नाका जोड्ने पुल अझै अवरुद्ध
काठमाण्डौ–मुग्लिन सडक दिउँसो दुई घण्टा बन्द हुने
काठमाण्डौ, ६ असाेज । देशका विभिन्न पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने सात ठाउँमा भने सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा सडक पूर्णरूपमा अवरुद्ध छ ।
त्यसैगरी, बाग्मती प्रदेशको रसुवा गोसाइकुन्ड गाउँपालिका–२ मा रहेको नेपाल–चीन नाका जोड्ने पुल पूर्णरूपमा बन्द छ । बाढीका कारण गएको असार २३ गतेदेखि अवरुद्ध भएको यो सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड–२ बालुवाखानीमा पनि पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ । यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ को कोदारी सडक पनि पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
यसैबीच, काठमाण्डौ–मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ । मुग्लिन नजिकै तुइन खोला पुल छेउमा खसेको पहिरो पन्छाउन दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयले सडक बन्द भएको र सञ्चालनमा रहेको बेलामा पनि चालकहरूले लेन अनुशासन पालना गर्नुपर्नेमा जोड दिएको छ । मुग्लिनबाट झन्डै २.५ किलोमिटर टाढा रहेको तुइनखोला पुल नजिकै हाल एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेकाले विशेष सतर्कता अपनाउन भनिएको छ ।
तुइनखोलामा गएको शुक्रबार खसेको पहिरोले सडक अवरुद्ध पारेको थियो । हिजो दिउँसो अबेर मात्रै एकतर्फी रूपमा सञ्चालनमा आएको यो सडक पहिरोको जोखिम कायमै रहेकाले गएराति फेरि बन्द गरिएको थियो । बिहानदेखि फेरि एकतर्फी रूपमा सञ्चालनमा आएको भए पनि सतर्क रहन चितवन प्रहरीले अनुरोध गरेको छ ।
काठमाडौँ । लगातार पहिरोका कारण अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड (इको पहिरो) पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको छ। गत साउन १८ गते आएको पहिरो व्यवस्थापन गर्न १५ दिन लाग्ने अनुमान गरिए पनि सडक डिभिजन चरिकोटले एक सातामै मर्मत कार्य सम्पन्न गरी सञ्चालनमा ल्याएको हो।
सडक डिभिजन चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनका अनुसार बुधबार साँझदेखि सडक सञ्चालनमा ल्याइएको हो। “हिजो साँझदेखि सञ्चालनमा ल्याउन सफल भयौँ, सुरुमा साना सवारी मात्र ल्याउन सकिन्थ्यो, तर आजदेखि ठुला कन्टेनरहरू पनि आइरहेका छन्,” उनले जानकारी दिए।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा खसेको पहिरोले करिब २५० मिटर सडक प्रभावित पारेको थियो, जसअन्तर्गत ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।
उक्त पहिरो व्यवस्थापनसँगै तातोपानी नाका पनि सञ्चालनमा आएको छ। यससँगै तातोपानी हुँदै चीनबाट आयात भएका मालवस्तु बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका छन्।
पर्यटन अवस्था: मनसुनको समयमा केही कमी भए पनि डाइमण्ड हिल रिसोर्टमा पर्यटकको आगमन निरन्तर
सवारी तथा पहुँच: अरनिको राजमार्गबाट सजिलै पुगिन्छ; रिसोर्ट अगाडि ठूलो पार्किङ सुविधा
पर्यटक गाइड: रिसोर्टमा पैदल यात्रा गर्नुपर्ने ठाउँ भएकाले गाइड सेवा उपलब्ध
धार्मिक स्थल: रिसोर्ट नजिकै ऐतिहासिक र धार्मिक महत्वको जन्तीढुङ्गा छ, जुन पौराणिक कथासँग जोडिएको
प्राकृतिक सौन्दर्य: हरियाली, हिमाल र गाउँले जीवनशैलीको अवलोकन गर्न सकिने
साँस्कृतिक र धार्मिक कार्यक्रम: नजिकै आदित्य मोक्षधाममा नियमित धार्मिक कार्यक्रम सञ्चालन
काभ्रे, २३ साउन । प्राकृतिक सुन्दरताको अद्भुत मेल हुने काभ्रेको डाइमण्ड हिल रिसोर्टले मनसुनको प्रभावका बाबजुद पनि निरन्तर पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ। रिसोर्ट सञ्चालक राजन थापाले बताए अनुसार, मनसुन सिजनमा जेठ र असार महिनामा व्यवसाय राम्रो भए पनि साउन महिनामा केही सुस्ती देखिएको छ। “साउनमा बजेट कम हुने र केही समयसम्म अवरुद्ध भएका बाटोका कारण पर्यटकहरूको आवतजावतमा सामान्य कमी देखिएको छ,” उनले भने।

डाइमण्ड हिल रिसोर्ट काठमाडौंबाट पुग्न सजिलो छ। मुख्य अरनिको राजमार्ग हुँदै १ किलोमिटर सम्म पक्की सडक छ र त्यसपछि पुरानो ढुङ्गा छ्यापेको बाटो हुँदै रिसोर्टसम्म पुग्न सकिन्छ। रिसोर्टमा ठूलो पार्किङ सुविधा रहेकोले सवारी साधन सजिलै पार्क गर्न सकिन्छ।
पर्यटकहरूलाई रिसोर्टमा आउँदा केही पैदल यात्रा गर्नुपर्ने भएकाले रिसोर्टले गाइडको व्यवस्थापन गरेको छ। “हामीले हरेक आगन्तुकलाई सानो हाइकिङ्गको तयारीका साथ आउन सल्लाह दिन्छौँ,” राजन थापाले बताए।
डाइमण्ड हिल रिसोर्ट नजिकै रहेको जन्तीढुङ्गा धार्मिक स्थल करिब डेढ किलोमिटर टाढा रहेको छ। जन्तीढुङ्गा क्षेत्र ऐतिहासिक र पौराणिक दृष्टिले विशेष महत्व बोकेको स्थल हो। स्थानीय जनविश्वास अनुसार यहाँको एउटा कथा अनुसार राजकुमारीको विवाहमा राति आउने जन्ती र डोली पत्थरमा परिणत भएको विश्वास गरिन्छ। यहाँको पुराना ढुङ्गा र आकृतिहरू त्यसैको प्रमाण हुन्। यस स्थलमा एउटा मन्दिर पनि रहेको छ जहाँ भक्तजनहरू नियमित रूपमा पूजा अर्चना गर्न आउँछन्।

डाइमण्ड हिल रिसोर्ट वरिपरि प्रकृति र संस्कृति समेटिएको छ। यहाँको हरियाली, चराचुरुङ्गीको मधुर आवाज, जंगलका मृगहरूको नजिकबाट अवलोकन गर्न सकिन्छ । साथै, गाउँले जीवनशैली र परम्परागत खेतीपातीको दृश्यले पर्यटकहरूलाई गाउँले जीवनको वास्तविक अनुभूति गराउँछ।
रिसोर्टले धार्मिक र सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। नजिकैको आदित्य मोक्षधाममा नियमित रूपमा भजन, कीर्तन लगायत धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्, जसले भक्तजनहरूको ध्यानाकर्षण गर्दै आएको छ। राजन थापाले भने, “डाइमण्ड हिल रिसोर्टले पर्यटकहरूलाई प्रकृतिसँग नजिक जान र धार्मिक स्थलहरूको भ्रमण गर्न उत्तम सुविधा दिन्छ। हामीले आगन्तुकहरूको सहजता र सुविधा सुनिश्चित गर्न गाइड सेवा, पार्किङ, आवास लगायत सबै व्यवस्थापन गरेका छौँ।”

साउन महिनामा केही दिन मनसुनले प्रभाव पार्दै गर्दा पनि रिसोर्टमा हल्का संख्यामा गेष्टहरूको आगमन भइरहेको छ। उनले बताए अनुसार, अरनिको राजमार्ग बाहेक अन्य बाटोहरुमा अवरुद्धता हुन सक्ने भएकाले सबैलाई मुख्य राजमार्ग प्रयोग गर्न सल्लाह दिए ।
डाइमण्ड हिल रिसोर्टमा पुगेका पर्यटकहरूले यहाँको सांस्कृतिक सम्पदा, ऐतिहासिक पौराणिक कथाहरू, प्राकृतिक दृष्य र धार्मिक स्थलहरूको अनुभवलाई अत्यन्तै मन पराएका छन्। रिसोर्टले आगामी दिनमा थप पूर्वाधार विकास गरी पर्यटकहरूको अनुभवलाई अझ समृद्ध बनाउने योजना अघि बढाइरहेको छ।
मुख्य बूदा
वर्षा र पहिरोका कारण देशका सात ठाउँमा सडक अवरुद्ध, आवतजावतमा समस्या।
नुवाकोटदेखि सिन्धुपाल्चोकसम्म पहिरोले सडक रोकियो, स्थानीय जनजीवन प्रभावित।
पहिरोले अवरुद्ध सडक खोल्न प्रशासन र सुरक्षाकर्मीहरू जुटे ।
लगातार वर्षाका कारण देशभरि सडक अवरुद्ध, उद्धार कार्यमा चुनौती।
काठमाण्डौ, १२ साउन । निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका सात विभिन्न स्थानमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन्।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरोले सडक अवरुद्ध भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–५ चालिसेमा पनि पहिरोका कारण मध्यपहाडी लोकमार्ग बन्द रहेको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा पासाङ ल्हामु सडकखण्ड पहिरोले अवरुद्ध छ। जाजरकोटको छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलामा समेत पहिरोका कारण मध्य पहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।
यस्तै, पहिल्यै अवरुद्ध भएका कर्णाली करिडोर अन्तर्गत हुम्ला, भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमको आठबीसकोट, र कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोलाको सडक अझै खुल्न सकेको छैन।
सडक अवरुद्ध भएपछि आवतजावतमा समस्या बढेको छ भने उद्धार र आपतकालीन सेवाहरूमा पनि प्रभाव परेको छ। स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सडक खुलाउने प्रयास गरिरहेका छन्।