भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

मुख्य बुँदा 

बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीद्वारा भक्तपुर अस्पतालको अवलोकन
 स्वास्थ्य मन्त्रालयकी सचिव सुमित्रा गौतमले पनि अस्पताल अवलोकन
अस्पतालका सेवा सुविधा सन्तोषजनक रहेको निष्कर्ष
सीटी स्क्यान सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको जनाइएको
मेसु डा. सुरेन्द्र भट्टद्वारा अस्पतालको सेवा, जनशक्ति र पूर्वाधारबारे जानकारी
स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रदेश सरकारको प्रतिबद्धता

भक्तपुर, ७ पुष । बागमती प्रदेश प्रमुख सचिव बाबुराम अधिकारी तथा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले भक्तपुर अस्पतालको संयुक्त रूपमा अवलोकन गर्नु भएको छ।

अवलोकनका क्रममा उहाँहरूले अस्पतालबाट प्रदान भइरहेका स्वास्थ्य सेवाहरू, सेवा प्रवाहको अवस्था तथा व्यवस्थापन पक्षबारे जानकारी लिनु भयो।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुरेन्द्र भट्टले प्रमुख सचिव अधिकारी तथा सचिव गौतमलाई अस्पतालको समग्र सेवा सुविधा, जनशक्ति अवस्था, उपकरण तथा पूर्वाधारबारे विस्तृत जानकारी गराउनु भएको थियो।

डा. भट्टका अनुसार भक्तपुर अस्पतालमा उपलब्ध सेवा सुविधाहरू सन्तोषजनक रहेको र सीटी स्क्यान सेवा पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयाे । 

अवलोकनपछि प्रमुख सचिव बाबुराम अधिकारीले भक्तपुर अस्पतालमा राम्रो सेवा सुविधा उपलब्ध रहेको उल्लेख गर्दै विशेष गरी सीटी स्क्यान सेवा प्रभावकारी र गुणस्तरीय रहेको बताउनु भयो। उहाँले अस्पतालले नागरिकलाई सहज, छिटो र भरपर्दो स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै प्रशंसा गर्नु भयो।

स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले पनि अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै आवश्यक पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनमा मन्त्रालयबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो।

सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख सचिव अधिकारी तथा सचिव गौतमले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गर्नुभयो। अन्तरक्रियाका क्रममा कर्मचारीहरूले सेवा प्रवाहमा देखिएका चुनौती, आवश्यक स्रोतसाधन तथा सुधारका उपायबारे आफ्ना सुझाव राखेका थिए।

प्रमुख सचिव अधिकारीले प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकार स्वास्थ्य सेवा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

कार्यक्रममा अस्पताल प्रशासनका पदाधिकारी, स्वास्थ्यकर्मी तथा सरोकारवाला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बागमती । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ। प्रतिपक्षी दलहरूको निरन्तर दबाबपछि प्रदेश सरकार बैठक आह्वानको तयारीमा जुटेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार पुसको तेस्रो साताभित्र प्रदेशसभा बैठक बस्ने गरी आन्तरिक तयारी भइरहेको छ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभा भवनको सभाहल क्षतिग्रस्त भएकाले हालका लागि अस्थायी रूपमा हेटौंडा उपमहानगरपालिका कार्यालय नजिकै रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।

“प्रदेशसभाको बैठक पुसको तेस्रो सातासम्ममा बस्ने गरी तयारी भइरहेको छ,” मुख्यमन्त्री बानियाँले भने, “अहिले अस्थायी सभाहलमा फर्निचर, माइक जडानलगायत आवश्यक व्यवस्थापनको काम भइरहेको छ, केही दिनमै पूरा हुन्छ।”

मुख्यमन्त्री बानियाँका अनुसार बैठक तयारीका विषयमा उपसभामुख तथा प्रदेशसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूले विभिन्न राजनीतिक दलका नेताहरूसँग नियमित छलफल गरिरहेका छन्। तयारी पूरा भएपछि प्रदेश प्रमुखसमक्ष बैठक आह्वानका लागि पत्राचार गरिने सरकारको योजना छ।

केही दिनअघि प्रदेश मामिला समितिको पहलमा उपसभामुख, विभिन्न समितिका सभापति तथा प्रदेशसभा सचिवालयका पदाधिकारीहरूको संयुक्त बैठक बसेको थियो। सो बैठकले तत्काल प्रदेशसभाको बैठक बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो।

प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले सरकार बैठक बोलाउन सकारात्मक रहेको बताए। “सरकारले बैठक बोलाउन तयारी गरिरहेको आश्वासन दिएको छ,” उनले भने, “छिट्टै प्रदेशसभाको बैठक बस्ने अपेक्षा गरेका छौँ।”

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले भने तत्काल हिउँदे अधिवेशन बोलाउन माग गर्दै आएका छन्। बैठक नबोलाइए नियमावलीअनुसार अघि बढ्ने चेतावनी उनीहरूले दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका नेताहरूले मुख्यमन्त्री बानियाँलाई भेटेर प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन आग्रह गरिसकेका छन्।

यसैबीच, बागमती प्रदेशसभाको सभामुख पद विगत चार महिनादेखि रिक्त छ। जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते औपचारिक रूपमा राजीनामा दिएपछि पद रिक्त भएको हो।

रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैले दाबी गर्दै आएका छन्। दुवै दलबीच सहमति नजुट्दा प्रदेशसभाको बैठक बस्न नसकेको हो।

सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही मङ्सिर ३ गते रातिदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए। तर सभामुख चयनमा सहमति नहुँदा सरकारले नयाँ अधिवेशन बोलाउन ढिलाइ गरेको हुन सक्ने अनुमान गरिएको छ।

कानुनी व्यवस्थाअनुसार प्रदेशसभाको बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने प्रावधान छ। यही कारण सभामुखमा सहमति नजुटेसम्म बैठक नबोलाउने रणनीतिमा सरकार रहेको विश्लेषण गरिएको छ।

मुख्य बुँदा 

चालू आर्थिक वर्षको पाँच महिनामा राजस्व सङ्कलन २३.८८%

घरजग्गा रजिष्ट्रेशन र सवारी कर मुख्य आयस्रोत

घरजग्गाबाट १ अर्ब ६६ करोड, सवारी करबाट २ अर्ब ९५ करोड सङ्कलन

वार्षिक लक्ष्य ३० अर्ब ८९ करोड रुपैयाँ

थप राजस्व सङ्कलनका लागि प्रभावकारी योजना

काठमाण्डौ, ३ पुस । चालू आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशत अर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

घरजग्गा रजिष्ट्रेशन ९मालपोत० र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ ।

दुवै शीर्षकसहित बाँडफाट चालू आर्थिक वर्षमा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा साउनदेखि मङ्सिर सम्ममा लक्ष्यको २८ दशमलव ६३ प्रतिशत अर्थात् आठ अर्ब ८४ करोड ४७ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सन्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट सात अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पाँच महिनामा एक अर्ब ६६ करोड ८५ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गाडी जाँचपास, रुट अनुमति, सवारीचालक अनुमतिपत्र वितरण तथ नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आठ अर्ब २५ करोड सङ्कलन गर्ने अनुमान गरेकामा अहिलेसम्ममा दुई अर्ब ९५ करोड ८६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस

काठमाडौं, २८ मंसिर । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा चिसो बढ्दै गएको छ। आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ। आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको जनाइएको छ।

हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव कायम रहेको महाशाखाले जनाएको छ। आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

यस्तै, देशकै चिसो क्षेत्रमध्ये एक हुम्लामा न्यूनतम तापक्रम माइनस १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ। चिसो बढ्दै जाँदा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

मुख्य बुँदा

बागमती प्रदेशको स्वास्थ्य प्रशासनमा चहलपहल र बहस तीव्र

नियुक्ति तथा सरुवा–बढुवा प्रक्रियामा बाह्य प्रभावको दाबी

मन्त्रालयले आरोपहरूलाई निराधार बताउँदै पारदर्शिता पालन भएको दाबी

स्वास्थ्य मन्त्री र सचिवको नेतृत्वमा स्वास्थ्य सूचकांकमा प्रगति

निगरानी, अनुगमन र प्रभाव मूल्यांकन अझै कमजोर रहेको विशेषज्ञको अभिमत

११औँ तहका कर्मचारीसहित केही समूहले वातावरण अस्थिर बनाएको स्रोतको दाबी

आगामी महिनामा स्वास्थ्य सुधारका कार्यक्रमले मन्त्रालयको दिशा निर्धारण गर्ने

सार्वजनिक चासो: “प्रतिवद्धता व्यवहारमा कति लागू हुन्छ?”

काठमाडौं, बागमती प्रदेश । पछिल्लो केही हप्तादेखि बागमती प्रदेशको प्रशासनिक तथा स्वास्थ्य क्षेत्रभित्र चहलपहल र गतिविधि तीव्र बन्दै गएको देखिन्छ। स्वास्थ्य मन्त्रालयमा नेतृत्व तथा प्रशासनिक पदहरूमा हुने सरुवा–बढुवा र नियुक्तिका प्रक्रियामा बाह्य प्रभाव पार्ने प्रयास बढेको भन्दै विभिन्न स्रोतहरूले चिन्ता व्यक्त गरेका छन्।

उनीहरूको दाबी अनुसार केही स्वार्थसमूहहरू आफू अनुकूल निर्णय गराउन सक्रिय छन् भने यसले सुशासनमा असर पर्न सक्ने जनाइएको छ।यद्यपि मन्त्रालयका अधिकारीहरूले भने निर्णय प्रक्रियामा कानुन, नियम र पारदर्शिताको पूर्ण पालना भइरहेको प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइ अनुसार मन्त्रालयलाई बदनाम गर्ने उद्देश्यले आधारहीन चर्चा फैलाइएको हुनसक्ने बताएका छन् ।

स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको नेतृत्वमा हाल बागमती प्रदेशले स्वास्थ्य पूर्वाधार विकास, डिजिटल स्वास्थ्य प्रणाली, स्थानीय स्वास्थ्य कार्यक्रम विस्तार तथा सूचकांक सुधारजस्ता क्षेत्रमा सकारात्मक प्रगति हासिल गरेको तथ्यांकहरूले देखाउँछ ।

नीति तथा बजेट कार्यान्वयनमा समेत सुधार हुँदै गएको मन्त्रालय स्रोतको दाबी छ। यद्यपि, स्वास्थ्य क्षेत्रमा भइरहेको तीव्र कार्यक्रम विस्तारसँगै
निगरानी, अनुगमन, र प्रभाव मूल्यांकन झनै मजबुत हुनुपर्ने विशेषज्ञहरूको सुझाव छ। उनीहरूका अनुसार स्वास्थ्य सेवामा देखिने दीगो सुधारका लागि प्रशासनिक क्षमता वृद्धि, बाह्य दबाब नियन्त्रण, र पारदर्शिता अत्यावश्यक छन्।

एक उच्च स्रोतका अनुसार मन्त्रालयमा पटक–पटक बसेर प्रभावकारी काम गर्न नसकेका केही व्यक्तिहरूले मन्त्रालयलाई बदनाम गर्ने प्रकारका गतिविधि गरिरहेका छन् । भने केही ११ औं तहका कर्मचारी तथा विभिन्न शक्ति केन्द्रमा सक्रिय समूहहरू आन्तरिक वातावरण अस्थिर बनाउन खोजिरहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार यस्ता व्यक्तिहरूको नाम आवश्यकता अनुसार पछि सार्वजनिक गरिने उल्लेख छ। स्वास्थ्य क्षेत्रको आगामी सुधार, डिजिटल स्वास्थ्य परियोजना, औषधि तथा सेवा वितरणमा देखिने प्रगति वा चुनौतीले बागमती प्रदेशको प्रशासनिक र राजनीतिक दिशा कता मोडिने हो भन्ने निर्धारण गर्ने विश्लेषकहरूको मूल्यांकन छ।

मन्त्रीदेखि निर्देशनालयका अधिकारीहरूले सार्वजनिक पारदर्शिता र कानुनी प्रक्रियाप्रति प्रतिबद्धता व्यक्त गर्दै आएका छन्, जसले सुशासनप्रतिको जनविश्वास अझ मजबुत बन्ने अपेक्षा त गरिएको छ तर व्यवहारमा लागू नभए के हुने हो भन्ने आम जना चासोको विषय बनेको छ ।

हेटाैडा, १५ मंसिर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सीमित स्रोत–साधनका कारण अस्पताल सञ्चालनमा चुनौती रहेकाले संघ, प्रदेश र स्थानीय तहबीच मजबुत समन्वय अत्यावश्यक रहेको बताएका छन् ।

हेटौँडामा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आयोजित ‘एक जिल्ला–एक स्वास्थ्य सहर, एक स्थानीय तह–एक नमुना स्वास्थ्य संस्था’ सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्य क्षेत्रका बजेट तथा योजना निर्माणमा तीनै तह एकै ठाउँ बसेर योजना बनाए मात्र दोहोरोपन र खर्च नहुने स्पष्ट गरे ।

उहाँले प्रदेश सरकारले पठाएको सशर्त बजेट धेरै स्थानीय तहमा खर्च नहुने समस्या रहेको उल्लेख गर्दै कार्यक्रमको स्पष्ट भूमिका विभाजन र सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । प्रदेश सरकारले स्थानीय तहका अस्पतालमा उपकरण र जनशक्ति उपलब्ध गराइरहेको र प्रदेश तहका अस्पतालमा सेवा विस्तार भइरहेको पनि उहाँले जानकारी दिए ।

मन्त्री थापाले यस वर्ष प्रदेश सरकारले ५० जना डाक्टर उत्पादनका लागि अध्ययन सुरु गराएको तथा छात्रवृत्तिय डाक्टरहरूलाई स्थानीय तहका अस्पतालमा पठाइरहेको बताए । अब स्वास्थ्य सहरको अवधारणा लागू भएकाले स्वास्थ्य क्षेत्रको बजेट र लगानीलाई प्राथमिकतामा राखिनु पर्ने बताए । 

कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य जनप्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

काठमाण्डौ । आजदेखि देशभरको मौसममा सुधार देखिएको छ। काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि घाम लागेका छन्।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि क्रमशः सुधार हुँदै आएको मौसममा आज थप सुधार भएको हो।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीबाट विकसित ‘मोन्था चक्रवात’ को प्रभाव हटे पनि नेपालमा अहिले पनि पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी छ। उनले देशका केही भागमा आज हल्का वर्षा हुने सम्भावना रहेको बताए।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा सामान्य वर्षा र उच्च हिमाली भागमा हल्का हिमपात हुनसक्ने सम्भावना छ।
दिउँसोतिर ती प्रदेशमा सामान्य बदली रहने र मधेश प्रदेशलगायत बाँकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। यसअघि, मोन्था चक्रवात, अरब सागरको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशभर वर्षा र हिमपात हुँदा धानबालीमा क्षति र हिमाली क्षेत्रमा पदयात्रा अवरुद्ध भएका थिए।

मुख्य बुँदा 

बागमती प्रदेशमा मेडिकल माफियाको प्रभाव बढ्दै, इमानदार कर्मचारीहरू उनीहरूको दबाबमा त्रसित।

माफियाकाे आदेश नमान्ने कर्मचारीलाई मुद्दा मामिलामा तान्ने र सरुवा गर्ने र बढुवा रोक्ने धम्की।

युवाहरूले सरकार मौन बस्नु गलत भन्दै तत्काल कारबाहीको माग।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा माफियाको पकड देशकै सुशासनका लागि खतरा भएकाे सरोकारवालाहरूको भनाइ

काठमाडौं, कार्तिक १५ । देशभर भू–माफियाको गतिविधि धेरै चर्चा हुने गर्थ्यो । तर अहिले  मेडिकल माफियाले प्रशासनदेखि स्वास्थ्य क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लगेको युवाहरुको गुनासो बढ्दै गएको छ ।

राजधानीको एक चिया पसलमा जेनजी पुस्ताका युवाहरुबीच भएको छलफलमा उनीहरुले भने, “पहिले भू–माफियाको मात्रै कुरा सुन्थ्यौं, अहिले त सबैभन्दा खतरनाक मेडिकल माफिया हुन् । आफूहरुको आदेश नमान्ने कर्मचारीलाई दुःख दिने, सरुवा गर्ने र मुद्दा मामिलामा तान्ने काम ती माफियाले गर्दै आएका छन् ।”

युवाहरुका अनुसार यस्तो प्रवृत्तिमा सरकारको ध्यान पुग्न जरुरी छ । उनीहरु भन्छन्, “कर्मचारीले नियम अनुसार काम गर्दा पनि माफियाको दबाबमा पर्नुपरेको छ । सरकारले यस्ता माफियामाथि तत्काल कारबाही नगरे कसले गर्ने ?” भन्दै प्रश्न गरे ।

चियाको अर्को टेबलमा बसेका एक युवाले थपे, “यो समस्या सबैभन्दा बढी बागमती प्रदेशमा छ । त्यहाँका इमानदार कर्मचारीहरुलाई मेडिकल माफियाले दुःख दिइरहेका छन्, तर सरकार भने मौन छ । अब त्यस्ता माफियालाइ सबैले तह लगाउँनुपर्छ ।”

छलफलमा सहभागी अर्का युवाले भने, “सरकारले एक्सन लिनुपर्छ, राम्रो काम गर्ने कर्मचारीलाई दुःख दिने जो–कोहीलाई छोड्न हुँदैन । मन्त्रालयमा आफ्ना स्वार्थ मिल्ने विभिन्न महाशाखा प्रमुखहरू, शाखा प्रमुखहरू, विभिन्न तहका  कर्मचारीहरुको सरुवा गराउन सक्ने, निर्णय प्रभावित पार्ने, र आफूविरुद्ध बोल्नेलाई तर्साउने माफियालाई मात्रै हाेइन जनताकाे काम नगर्ने कर्मचारीलाइ पनि तह लगाउन राज्यले पहल गर्नैपर्छ । हाेइन भने पछिल्लाे परिवर्तनकाे अर्थ छैन ”

स्थानीय प्रशासनका एक कर्मचारीका अनुसार पनि यस्ता माफियाहरुले कर्मचारी सरुवा–बढुवादेखि ठेक्का र नीतिगत निर्णयमा समेत हस्तक्षेप गर्ने गरेका छन् ।

नागरिक समाजका सरोकारवालाहरुले सरकारले बागमती प्रदेशसहित सबै तहमा यस्ता गैरकानुनी चलन नियन्त्रण गर्न ठोस कदम चाल्नुपर्ने माग गरेका छन् । “स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा माफियाको पकड रहिरहनु देशकै लागि खतरनाक संकेत हो ।” उनीहरुले भने ।