भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

मुख्य बुँदा

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औँ कलेजो प्रत्यारोपण सफल।

धनुषाका ४८ वर्षीय सुरेन्द्र साहमा कलेजो प्रत्यारोपण।

उनकी ३५ वर्षीया श्रीमती कृष्णदेवी साहले आधा कलेजो दान गरिन्।

प्रत्यारोपणको १२औँ दिन बिरामी र ११औँ दिन दाता डिस्चार्ज।

१४ वर्षमा केन्द्रमा १,६७९ मिर्गौला र ३९ कलेजो प्रत्यारोपण सम्पन्न।

विभिन्न विभागका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको संयुक्त टोली प्रत्यारोपणमा सहभागी।

भक्तपुर, १० भदाै । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । प्रत्यारोपण गरिएका बिरामी र कलेजो दाता दुवैलाई सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार धनुषाका ४८ वर्षीय सुरेन्द्र साहको गत साउन २७ गते कलेजो प्रत्यारोपण गरिएको थियो । उनकी ३५ वर्षीया श्रीमती कृष्णदेवी साहले आफ्नो आधा कलेजो श्रीमान्लाई दान गरेकी हुन् ।

प्रत्यारोपणको १२औँ दिन भदौ ८ गते सुरेन्द्र साह सकुशल डिस्चार्ज भएका छन् । उनकी श्रीमती तथा कलेजो दाता कृष्णदेवी साह भने प्रत्यारोपणको ११औँ दिनमै भदौ ७ गते डिस्चार्ज भइसकेकी छन् । कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. रामबाबु साहको नेतृत्वमा प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपणमा शल्य चिकित्सा, एनेस्थेसिया तथा क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोइन्टरोलोजी, पल्मोनोलोजीलगायत विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सहभागी भएको केन्द्रले जनाएको छ । त्यस्तै, नर्सिङ, शल्यकक्ष व्यवस्थापन, आहार तथा पोषण, फिजियोथेरापी, फार्मेसी, प्रशासन तथा प्रत्यारोपण समन्वयमा खटिएका विभिन्न टोलीले समेत प्रत्यारोपण प्रक्रियामा सहयोग गरेका थिए ।

केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठका अनुसार स्थायी भवन तथा उपयुक्त जमिनको अभावका बाबजुद केन्द्रले प्रत्यारोपण सेवामा उल्लेखनीय प्रगति गर्दै आएको छ । केन्द्र स्थापनाको १४ वर्षको अवधिमा १ हजार ६७९ जनाको मिर्गौला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको केन्द्रले जनाएको छ । देशमा हुने कुल प्रत्यारोपणमध्ये करिब दुई तिहाइ प्रत्यारोपण केन्द्रले गर्दै आएको दाबी पनि गरिएको छ ।

केन्द्रले सीमित भौतिक पूर्वाधारका बाबजुद विश्वस्तरीय प्रत्यारोपण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । ३८औँ कलेजो प्रत्यारोपणको सफलताले नेपालमै जटिल कलेजो प्रत्यारोपण सेवा निरन्तर विस्तार हुँदै गएको सन्देश दिएको छ ।कलेजो प्रत्यारोपण, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर, ३८औँ कलेजो प्रत्यारोपण, सुरेन्द्र साह, कृष्णदेवी साह, कलेजो दाता,

मुख्य बुँदा

भक्तपुर–२ खौमास्थित इन्द्रायणी द्योछेँ पुनर्निर्माण सम्पन्न।

अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा उद्घाटन।

भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण।

पुनर्निर्माणमा हालसम्म ३ करोड २१ लाख ९७ हजार ५३९ रुपैयाँ खर्च।

विभिन्न व्यक्ति तथा संस्थाबाट ४५ लाख ९४ हजार १३३ रुपैयाँ चन्दा प्राप्त।

भक्तपुर नगरपालिकाले हालसम्म करिब १८५ सम्पदा पुनर्निर्माण तथा संरक्षण गरिसकेको जनाएको छ।

भविष्यमा संरक्षणका लागि सञ्चय कोष स्थापना गर्ने तयारी।

भक्तपुर, ४ भदौ । भक्तपुर नगरपालिका–२ खौमास्थित इन्द्रायणी द्योछेँ (इल्मा अजिमा) को पुनर्निर्माण सम्पन्न भएको छ। भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको द्योछेँको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभयो।

उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको व्यापक सहभागिता र सहयोगमा सम्पदा पुनर्निर्माण सम्पन्न हुनु उत्साहजनक भएको बताउनुभयो। उहाँले सम्पदा संरक्षणमा योगदान पुर्‍याउने स्थानीय जनता धन्यवादका पात्र भएको उल्लेख गर्नुभयो।

पुरानो सम्पदा स्थानीय जनता आफैँले संरक्षण र पुनर्निर्माण गर्न सक्छन् भन्ने उदाहरण भक्तपुरले प्रस्तुत गरेको उहाँको भनाइ थियो। विदेशी सहयोगबिना पनि जनताको सहभागितामा सम्पदा संरक्षण गर्न सकिन्छ भन्ने सन्देश भक्तपुरबाट गएको उहाँले बताउनुभयो। बिजुक्छेँले सम्पदा संरक्षणका यस्ता कामको प्रचारप्रसारसँगै व्यवस्थित दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिनुभयो। जनप्रतिनिधि र जनता दुवै सम्पदा संरक्षणमा सचेत हुनुपर्ने तथा पुनर्निर्माणमा हेलचेक्र्याइँ गर्न नहुने उहाँले बताउनुभयो।

उहाँले युनेस्कोका नियमसमेत विभिन्न देशका अनुभव र जानकारीका आधारमा निर्माण हुने उल्लेख गर्दै सम्पदा पुनर्निर्माण गर्दा स्थानीय मौलिकता र प्राचीन प्रविधिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इन्द्रायणी द्योछेँ पुनर्निर्माणमा विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोग रहेको बताउनुभयो। उहाँले उपभोक्ता समिति, अनुगमन समिति, आर्थिक तथा स्वर्णलगायत सामग्री सहयोग गर्ने र श्रमदानमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

भक्तपुर नगरपालिकाले हालसम्म करिब १८५ वटा सम्पदा पुनर्निर्माण तथा संरक्षणका काम सम्पन्न गरेको प्रमुख प्रजापतिले जानकारी दिनुभयो। मूर्त तथा अमूर्त दुवै सम्पदालाई प्राथमिकताका साथ संरक्षण गर्दै आएको उहाँले बताउनुभयो। भक्तपुर जीवित सांस्कृतिक संग्रहालय तथा नाचगानको राजधानीका रूपमा चिनिँदै आएको उल्लेख गर्दै उहाँले संस्कृति र सम्पदालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सम्पदा पुनर्निर्माण सम्पन्न भएपछि त्यसको समीक्षा र सिंहावलोकन पनि आवश्यक रहेको बताउनुभयो। उहाँले भक्तपुर नगरपालिकाले विश्वले हेर्नलायक काम गरिरहेको दाबी गर्नुभयो।

विदेशी सहयोगबिना पनि सम्पदा पुनर्निर्माण गर्न सकिन्छ भन्ने उदाहरण भक्तपुरले प्रस्तुत गरेको उल्लेख गर्दै गोसाईले आफ्नै खुट्टामा उभिएर गरिएको विकास दिगो र स्वाभिमानी हुने बताउनुभयो। भक्तपुरको विकास मोडलबारे भविष्यमा इतिहास लेखिने र यसले नेपाली सभ्यता तथा पहिचानलाई उँचो बनाउने उहाँको भनाइ थियो।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरमा संस्कृति र संस्कार जीवित रहेको बताउनुभयो। उहाँले भक्तपुरका चाडपर्व कृषि प्रणालीसँग समेत जोडिएको उल्लेख गर्दै नगरको मौलिक स्वरूप नै यसको पहिचान र विशेषता भएको बताउनुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति महाशाखाका प्रमुख सौभाग्य प्रधानांगले इन्द्रायणी द्योछेँको पुनर्निर्माण सम्पन्न हुनु सुखद् भएको बताउनुभयो। पुनर्निर्माणले भौतिक सम्पदा पुनर्जीवित गर्नुका साथै मौलिकता, प्रामाणिकता र शिल्पकलाको संरक्षणमा योगदान पुर्‍याएको उहाँले बताउनुभयो।उहाँले भक्तपुरमा उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माण गर्ने अभ्यास प्रभावकारी रहेको उल्लेख गर्दै पुरानो तथा परम्परागत प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले उपभोक्ता समितिमार्फत गरिएका काम उदाहरणीय रहेको बताउनुभयो। स्थानीय सरकारसँग सहकार्य गर्दै नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न प्रशासन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। इन्द्रायणी द्योछेँ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले पुनर्निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक सहयोग तथा विभिन्न व्यक्तिबाट प्राप्त स्वर्णलगायत सहयोगबारे जानकारी गराउनुभयो।

भक्तपुर नगरपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बसुकलाले स्थानीय जनताको सक्रिय सहभागितामा गुणस्तरीय सामग्री प्रयोग गरी द्योछेँ पुनर्निर्माण सम्पन्न गरिएको बताउनुभयो। स्थानीयवासीले निःस्वार्थ रूपमा मन्दिर तथा सम्पदा संरक्षणमा सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि मन्तव्य राख्नुभएको थियो। बालविकास इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले सांस्कृतिक प्रस्तुति दिएका थिए। उद्घाटन कार्यक्रमअघि भक्तपुर नगरपालिका–१ स्थित सिद्धपोखरीबाट नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा परम्परागत बाजागाजासहित र्‍याली निकालिएको थियो। र्‍यालीमा जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा, भक्तजन तथा विभिन्न सांस्कृतिक समूहको सहभागिता थियो।

इन्द्रायणी द्योछेँ पुनर्निर्माणका लागि तीन करोड ७२ लाख २५ हजार ५८२ रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म तीन करोड २१ लाख ९७ हजार ५३९ रुपैयाँ खर्च भएको उपभोक्ता समितिले जनाएको छ। पुनर्निर्माणका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट ४५ लाख ९४ हजार १३३ रुपैयाँ चन्दा प्राप्त भएको छ।

विभिन्न व्यक्ति तथा सहयोगदाताबाट सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको समितिले जनाएको छ। द्योछेँको आगामी मर्मत–सम्भार तथा संरक्षणका लागि आवश्यक खर्च व्यवस्थापन गर्न सञ्चय कोष स्थापना गर्ने तयारीसमेत भइरहेको समितिका पदाधिकारीले बताएका छन्।

काठमाडौं, ३ भदौ । देशका ठूला नदीमा बहाव सामान्य रहे पनि काठमाडौं उपत्यकासहित १४ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदी तथा तिनका सहायक नदीमा पानीको तह सतर्कता विन्दुभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि हाल सुरक्षित अवस्थामा रहेको जनाइएको छ।

तर रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बझाङ र दार्चुला आसपास भएर बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।

ती क्षेत्रमा बुधबार आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

महाशाखाका अनुसार बाढीको जोखिम आगामी दिनमा पनि कायमै रहनेछ। बिहीबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही साना नदीमा बहाव अचानक बढ्न सक्नेछ। त्यस्तै, शुक्रबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साना नदी तथा खोलामा पानीको सतह आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

भक्तपुर, ४ साउन  । नेपाली कांग्रेसका नेताहरूको भक्तपुरमा सम्पन्न एक भेलाले पार्टीभित्रको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको निष्कर्ष निकाल्दै पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिहरूको राष्ट्रिय भेला तत्काल बोलाउन माग गरेको छ ।

भेलामा सहभागी अधिकांश वक्ताले एकताबद्ध र अविभाजित नेपाली कांग्रेसले मात्रै लोकतन्त्र, संविधान र राष्ट्रियताको प्रभावकारी रूपमा रक्षा गर्न सक्ने धारणा व्यक्त गरेका थिए । उनीहरूले पार्टीभित्र देखिएको मतभेदलाई संवाद र संगठनात्मक प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

भेलामा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, निवर्तमान केन्द्रीय सदस्य गोविन्द भट्टराई, उमेशजंग रायमाझी, मान नेपाली, किरण पौडेल, गुरु बराल, लक्ष्मी खतिवडा, पुष्प पराजुली, सीता देवकोटा, विद्या तिमल्सिना, उषा रावत, लक्ष्मणबहादुर बस्नेत, बालचन्द्र पौडेल, विनोद कायस्थ, ध्रुव अधिकारी, भूपेन्द्र थापा, सत्यराज भण्डारी, चन्द्रादेवी जोशी, रुद्रबहादुर खड्का, राजेन्द्र ताल्चा भडेल, हस्तबहादुर मल्ल, प्रमोद रिमाल, उत्तम चापागाईं, अनिल भुजु, केशव ढुंगानालगायतले समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए ।

वक्ताहरूले नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र मात्र नभई राष्ट्रियतामाथि समेत असर पर्ने विगतका उदाहरण प्रस्तुत गर्दै पार्टीलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए । भेलामा वर्तमान सरकारले संविधान र कानुनको मर्मविपरीत उद्योगी, व्यवसायी, कर्मचारी, मजदुर, सुकुम्बासीलगायत विभिन्न वर्गमा डर, त्रास र असुरक्षाको वातावरण सिर्जना गरेको आरोप पनि लगाइएको थियो ।

सहभागीहरूले नियमित वा विशेष महाधिवेशनको बहानामा पार्टीलाई विभाजित नगरी बीपी कोइरालाको विचार, शहीदहरूको त्याग, तपस्या र बलिदानबाट प्रेरणा लिएर पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन र पुनःसंयोजन गर्नुपर्ने धारणा व्यक्त गरे । त्यसो गर्न सके नयाँ पुस्ताको आकर्षण कांग्रेसतर्फ बढ्ने विश्वास उनीहरूको थियो ।

भेलाका संयोजक विनोद कायस्थका अनुसार पार्टी विभाजन हुन नदिन देशभरका कार्यकर्ताबीच संगठनको तल्लो तहसम्म व्यापक बहस सञ्चालन गर्नुपर्ने निष्कर्षसमेत बैठकले निकालेको छ ।

काठमाडौं, असार २९ । बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका ३४ जिल्लामा आज बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलालीमा बाढीको जोखिम रहेको छ।

निरन्तर वर्षाका कारण ती जिल्लाका नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी किनार, होचा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न महाशाखाले आग्रह गरेको छ।

महाशाखाले मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न, स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी निर्देशनको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।

यस्तै, लगातारको वर्षाले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने, केही स्थानमा डुबान र कटानको जोखिमसमेत रहने भएकाले सम्बन्धित पालिका, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन संयन्त्रलाई उद्धार र राहतका लागि आवश्यक पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको छ।

काठमाडौं, २४ असार । बर्डफ्लु प्रभावित ११ जिल्लामध्ये तराईका सात जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आएको हो।

तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने बर्डफ्लुको जोखिम अझै कायम रहेको विभागले जनाएको छ। विशेषगरी काभ्रेमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको र नियन्त्रणका लागि विशेष निगरानी तथा रोकथाम अभियान सञ्चालन भइरहेको छ।

पशु सेवा विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा संक्रमण थप फैलिने जोखिम उच्च देखिएको छ।

रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरिएको छ। साथै, पशु क्वारेन्टाइन कार्यालयमार्फत सीमा नाका तथा अन्य संवेदनशील क्षेत्रमा निगरानी कडा पारिएको छ। अवैध रूपमा ओसारपसार गरिएका पन्छी तथा पन्छीजन्य वस्तु नियन्त्रण र नष्ट गर्ने अभियान पनि निरन्तर सञ्चालन भइरहेको विभागले जनाएको छ।

विभागको तथ्याङ्कअनुसार हालसम्म सङ्क्रमण नियन्त्रणका क्रममा देशभर ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा २ लाख ४३ हजार ६३५ किलोग्राम दाना नष्ट गरिएको छ।

डा. उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारिएको छ। सोही प्रतिवेदनका आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने, थप नियन्त्रणका उपाय लागू गर्ने तथा प्रभावित किसानलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।

मुख्य बुँदा

खाना वितरण रोकिएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा विरोध।

सुकुमवासीका अनुसार सोमबार साँझदेखि खाना उपलब्ध भएन।

९९ परिवारका २०७ जना होल्डिङ सेन्टरमा बस्दै आएका छन्।

विरोधपछि सुरक्षाकर्मी परिचालन।

बिरामी, ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएको गुनासो।

काठमाडौं, २३ असार। सरकारले खाना उपलब्ध नगराएको भन्दै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुमवासीहरूले विरोध प्रदर्शन गरेका छन्।

होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीका अनुसार सोमबार साँझदेखि खाना वितरण रोकिएपछि उनीहरू रातभर भोकै बस्न बाध्य भएका हुन्। समस्या समाधान नभएपछि मंगलबार बिहानदेखि उनीहरूले विरोध सुरु गरेका छन्।

होल्डिङ सेन्टरमा रहेका एक सुकुमवासीले सोमबार साँझदेखि खाना नपाएको र रातभर भोकै बस्नुपरेको बताए। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले पनि सोमबार बिहानसम्म खाना पाए पनि त्यसपछि वितरण रोकिएको जानकारी दिए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ। सुकुमवासीहरूले सरकारले आफूहरूलाई होल्डिङ सेन्टरमा बस्न दिएको अवधिभर आधारभूत आवश्यकता पूरा गर्न नसकेको गुनासो गरेका छन्।

उनीहरूका अनुसार खाना अभावका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएका छन्। नियमित औषधि सेवन गर्नुपर्ने बिरामीले समेत खाना नपाउँदा औषधि खान नसकेको उनीहरूको भनाइ छ।

सरकारले गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएर प्रभावित परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। खरिपाटीस्थित होल्डिङ सेन्टरमा हाल ९९ परिवारका २०७ जना बसोबास गरिरहेका छन्।

विरोध प्रदर्शन सुरु भएपछि सम्भावित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रशासनले होल्डिङ सेन्टर क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ।

मुख्य बुँदा

बर्डफ्लु नियन्त्रणका लागि द्रुत कार्य टोली परिचालन

१० जिल्लामा ५ लाख १५ हजार पन्छी नष्ट

७ लाख अण्डा र १८३ टन दाना नष्ट

काठमाडौं उपत्यका उच्च जोखिममा

प्रभावित क्षेत्रमा २ महिना व्यवसाय रोक

किसानलाई ७५% राहत दिने व्यवस्था

काठमाडौँ, २६ जेठ । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ ।

पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए । सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी प्रभावित देखिएका छन् ।

सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ ले सात लाख अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको उनले बताए ।

दाहालका अनुसार केही सातअघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्डफ्लुपछि महोत्तरी, बारा, चितवन हुँदैपछि काठमाडौँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा बर्डफ्लु फैलिएको छ । “यसको उपचार नै छैन ।

एकमात्र उपाय रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु हो । त्यसैले पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन । त्यसैले रोग नियन्त्रणका लागि पशु चिकित्सक र पशु स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्”, उनले भने ।

पछिल्लो समय काठमाडौँ उपत्यका बर्डफ्लुुको जोखिममा छ । चितवन र मुलुकका अन्य भागमा भने करिब करिब रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिए ।थप सङ्क्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट भएको करिब दुईमहिना पछि मात्रै व्यवसाय पुनः सुरु गर्न पाउने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

किसानलाई राहत

बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार यसरी पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ ।

लागत मूल्य जिल्लाअनुसार फरक पर्नसक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताए । रासस