भक्तपुर, ११ पुष । उपत्यकाका विभिन्न जात्रा, पर्व र सांस्कृतिक कार्यक्रममा निःस्वार्थ रूपमा पानी खुवाउँदै हिँड्ने भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकका समाजसेवी रत्नभक्त प्रजापति शुक्रबार भक्तपुरमा नगदसहित सम्मानित भएका छन्।

भक्तपुर नगरपालिका वडा नं १० देकोचास्थित जेन्युइन सेकेण्डरी स्कुलको ३०औँ वार्षिकोत्सवको अवसरमा उनलाई ५० हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उनलाई सम्मान गरेका हुन्।

भक्तपुर, पानी बाजे, रत्नभक्त प्रजापति, समाजसेवा, निःस्वार्थ सेवा, जात्रा पर्व, संस्कृति, नेवार संस्कृति, सांस्कृतिक सम्पदा, सम्मान,

७७ वर्षीय प्रजापतिले किशोर उमेरदेखि नै समाजसेवाको रूपमा जात्रा–पर्वमा पानी खुवाउने काम गर्दै आएका छन्। सम्मानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “पहिलो पटक भक्तपुरबाटै यो सेवा थालेको हुँ, अहिले उपत्यकाभित्र मात्रै होइन, बाहिरका जात्रामा पनि पानी खुवाउन पुग्छु।”

उनी सबैले नामले भन्दा पनि ‘पानी बाजे’ वा ‘पानी बा’ भनेर चिन्छन्। विस्केट जात्रा, दसैं, भोटेजात्रालगायतका विभिन्न पर्वमा उनी दुई वटा गाग्री र अंखुरासहित सहभागीलाई पानी खुवाउँदै हिँड्छन्। गाग्रीको पानी सकिएपछि आफ्नै खर्चमा जारको पानी किनेर समेत सेवा गर्ने गरेको उनले बताए।

करिब पाँच दशकदेखि निःस्वार्थ रूपमा समाजसेवामा सक्रिय प्रजापति सम्मानित भइसकेपछि पनि मञ्चबाट ओर्लेर उपस्थित सहभागीहरूलाई पानी खुवाउनमै व्यस्त देखिएका थिए।

भक्तपुर, पानी बाजे, रत्नभक्त प्रजापति, समाजसेवा, निःस्वार्थ सेवा, जात्रा पर्व, संस्कृति, नेवार संस्कृति, सांस्कृतिक सम्पदा, सम्मान,

उही कार्यक्रममा संस्कृति सम्पदा क्षेत्रमा योगदान पुर्‍याएको कदर गर्दै भक्तपुर नगरपालिका वडा नं ८ का राजेश गाइजूलाई १ लाख ३० हजार नगदसहित ‘जेस संस्कृति सम्पदा सिरपा’ प्रदान गरियो। स्कुलले पहिलो पटक यस वर्षदेखि यो पुरस्कारको स्थापना गरेको र प्रत्येक वर्ष निरन्तरता दिने जानकारी गराइयो।

कार्यक्रम अनुसार उपाधिका लागि आह्वान गर्दा पाँच जनाको निवेदन परेको थियो। मूल्यांकन समितिको निर्णयअनुसार गाइजू छनोट भएका हुन्। पुरस्कार छनोट समिति स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छेंको संयोजकत्वमा गठन गरिएको थियो। समितिमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, त्रिवि इतिहास, संस्कृति तथा पुरातत्व विभागका निवर्तमान प्रमुख प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठ तथा स्कुलका एक प्रतिनिधि सदस्य रहेका थिए।

त्यस्तै वार्षिकोत्सवकै अवसरमा स्कुल रहेको वडा नं १० का दुई जना सफाइ कर्मचारी उर्मीला देउला र सीताराम कर्माचार्यलाई जनही २५–२५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। स्कुल व्यवस्थापन समितिका अध्यक्ष विजुक्छेंले समाजमा योगदान गर्ने व्यक्तिहरूलाई सरकार मात्र होइन, समाजको अभिन्न अंगका रूपमा रहेका शिक्षण संस्थाले पनि कदर गर्नुपर्ने सन्देशसहित पुरस्कार स्थापना गरिएको बताए।

भक्तपुर, पानी बाजे, रत्नभक्त प्रजापति, समाजसेवा, निःस्वार्थ सेवा, जात्रा पर्व, संस्कृति, नेवार संस्कृति, सांस्कृतिक सम्पदा, सम्मान,

कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वार्षिकोत्सवको अवसरमा पुस्तक तथा स्मारिका विमोचन गरिएको थियो भने विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। स्कुलले ३०औँ वार्षिकोत्सवको अवसरमा साउन १७ गतेदेखि १८ वटा विभिन्न कार्यक्रमहरू आयोजना गरेको जनाएको छ।

भक्तपुर, पानी बाजे, रत्नभक्त प्रजापति, समाजसेवा, निःस्वार्थ सेवा, जात्रा पर्व, संस्कृति, नेवार संस्कृति, सांस्कृतिक सम्पदा, सम्मान,

मुख्य बुँदा 

भक्तपुरका कोरोना हिरो राजेश गाइजू सम्मानित हुने

संस्कृति सम्पदामा योगदानको कदर गर्दै सम्मान

जेन्युइन स्कुल देकोचाको ३० औँ वार्षिकोत्सवमा सम्मान

नारायणमान बिजुक्छेंको हातबाट सम्मान प्रदान हुने

नगदसहित सम्मानपत्र प्रदान गरिने

‘पानी बा’ रत्नभक्त प्रजापतिलाई पनि सम्मान

भक्तपुर, ९ पुष । जेस संस्कृति सम्पदा सिरपाबाट भक्तपुर नगरपालिका वडा नं २ निवासी राजेश गाइजूलाई सम्मान प्रदान गरिने भएको छ।

संस्कृति तथा सम्पदा क्षेत्रमा पुर्‍याएको योगदान र कोरोनाकालमा देखाएको मानवतावादी साहसको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो।

गाइजू कोरोनाबाट मृत्यु भएका पहिलो व्यक्तिको शव दाहसंस्कार गर्ने व्यक्ति हुन्। स्काउटका लिडरसमेत रहेका उनले कोरोनाको कठिन समयमा चार जनाको समूहमा रहेर जोखिमपूर्ण उद्धार तथा सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए।

उनको यही योगदानका कारण तत्कालीन नेपाल सरकारले उनलाई राष्ट्रिय सम्मानसमेत प्रदान गरेको थियो। जेन्युइन स्कुल देकोचा भक्तपुरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत स्कुलको ३० औं वार्षिकोत्सव समापन समारोहको अवसरमा आगामी शुक्रबार उक्त सम्मान प्रदान गरिने जानकारी दिएको हो। सम्मान नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको हातबाट प्रदान गरिने जनाइएको छ।

स्कुलले यस वर्षदेखि पहिलो पटक यो पुरस्कारको स्थापना गरेको र आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जनाएको छ। पुरस्कारमा नगद राशीसहित सम्मानपत्र रहनेछ। सम्मानका लागि भक्तपुर नगरबासी हुनुपर्ने, स्नातकोत्तर तह उत्तीर्ण गरेको र संस्कृति क्षेत्रमा योगदान दिएको हुनुपर्ने मापदण्ड तय गरिएको थियो।

पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार उपाधिका लागि चार जनाबाट निवेदन परेको थियो। मूल्यांकन समितिको छलफलपछि राजेश गाइजू छनोट गरिएको हो। छनोट समितिमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छेंको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो।

समितिमा भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशी, त्रिभुवन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभागका निवर्तमान विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठलगायत सदस्य रहेका थिए।

उपाधिका लागि राजेश गाइजूसँगै मुक्तिसुन्दर जधारी, सृजना प्रजापति र सङ्गीता पञ्चको निवेदन परेको थियो। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष योगेन्द्रमान विजुक्छेंले समाजमा योगदान गर्ने व्यक्तिलाई कदर गर्नु सरकारको मात्र होइन, शिक्षण संस्थाको पनि सामाजिक जिम्मेवारी भएको सन्देश दिन पुरस्कार स्थापना गरिएको बताए।

वार्षिकोत्सवकै अवसरमा पुस्तक तथा स्मारिकाको विमोचन गरिने छ। साथै, काठमाडौं उपत्यकाका विभिन्न जात्रामा ‘पानी बा’ भनेर चिनिँदै पानी बाँड्ने समाजसेवामा लामो समयदेखि सक्रिय भक्तपुरका रत्नभक्त प्रजापतिलाई पनि सम्मान गरिने जनाइएको छ।

स्कूलले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिनेछ। स्कूलले ३० औं वार्षिकोत्सवको अवसरमा साउन १७ गतेदेखि मंगलबारसम्म विभिन्न १८ वटा कार्यक्रम आयोजना गरेको जनाएको छ।

मुख्य बुँदा 

भक्तपुर नगरस्तरीय विद्यालय खेलकुद प्रतियोगिता २०८२ सम्पन्न

८० विद्यालय, करिब ४ हजार खेलाडीको सहभागिता

१५ खेल विधामा प्रतिस्पर्धा

विजेतालाई पदक, प्रमाणपत्र र खेलकुद सामग्री वितरण

सांसद प्रेम सुवाल र नगर प्रमुख सुनिल प्रजापति प्रमुख अतिथि

खेलकुदले व्यक्तित्व र सामाजिक विकासमा योगदान

राष्ट्रिय स्तरको भलिबल कभर्ड हल निर्माणको योजना

भक्तपुर, १ पुस। भक्तपुर नगरपालिकाको आयोजनामा २०८२ मंसिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालित नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको छ।

प्रतियोगितामा टेबलटेनीस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल समावेश थिए।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा कार्यक्रम सहिद स्मृति खेल मैदानमा सम्पन्न भएको थियो। विजेता खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण गरिएको थियो।

अतिथिहरूले खेलकुदले नागरिकको व्यक्तित्व विकासमा मात्र नभई सामाजिक विकासमा समेत योगदान पुर्‍याउने बताएका छन्। सांसद सुवालले भलिबल नेपालको राष्ट्रिय खेल भएको उल्लेख गर्दै राष्ट्रिय स्तरको कभर्ड हल निर्माण गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना नेपालमै हुनसक्ने बनाउने संसदमा प्रस्ताव पेश गरिएको बताए।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याएको र नगरका विभिन्न ठाउँमा कभर्ड हल निर्माणको काम अघि बढाइरहेको जानकारी दिए।

कार्यक्रममा ८० वटा विद्यालयका करिब ४ हजार खेलाडीहरू सहभागी भएका थिए। राष्ट्रिय भलिबल प्रशिक्षक विनोदचरण रायले उत्कृष्ट खेलाडी घोषणा गरेका थिए।

प्रतियोगितामा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र विद्यालयहरूलाई पदक, प्रमाणपत्र तथा खेलकुद सामग्री वितरण गरिएको थियो।

मुख्य बुँदा

ख्वप इन्जिनियरिङ कलेजको २४औँ वार्षिकोत्सव सम्पन्न

शिक्षा सस्तो र सुलभ बनाउनु राज्यको दायित्व

आत्मनिर्भर र नैतिक इन्जिनियर उत्पादनमा जोड

विद्यार्थी स्वागत, विदाइ तथा सांस्कृतिक कार्यक्रम

उत्कृष्ट विद्यार्थीलाई सम्मान

भक्तपुर, २८ मंसिर : ख्वप इन्जिनियरिङ कलेजको २४औँ तथा ख्वप कलेज अफ इन्जिनियरिङको १७औँ वार्षिकोत्सवको अवसरमा आज विद्यार्थी स्वागत, विदाइ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले जनताका समस्या, दुःखकष्ट र अपेक्षालाई सरकारले बेवास्ता गर्दा भदौ २३ र २४ गते आन्दोलन हुनुपरेको उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्री र मन्त्री बन्नु भनेको झण्डावाल गाडीमा सिंहदरबार ओहोरदोहोर गर्नु मात्र नभई सर्वसाधारणका छोराछोरीलाई सस्तो र सुलभ शिक्षा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनुभयो। संसदमा पेश भएको ख्वप विश्वविद्यालय विधेयक पास नहुनु दुःखद भएको उहाँको टिप्पणी थियो।

नेपालमा २००७ सालमै प्रजातन्त्र आए पनि ७५ वर्ष बितिसक्दा समेत अपेक्षित विकास हुन नसकेको, कृषिप्रधान देश भएर खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको र विद्युतसमेत विदेशबाट किन्नुपरेको प्रसङ्ग उहाँले उठाउनुभयो। सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य आवश्यक रहेको बताउनुभयो।

सभापतिको आसनबाट बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर ज्ञान–विज्ञानको केन्द्र बन्दै गएको उल्लेख गर्दै विद्यार्थीलाई आत्मनिर्भर बन्न सुझाव दिनुभयो। उहाँले विदेशी सहयोगसँग आउने शर्त राष्ट्रहित विपरीत भए अस्वीकार गर्नुपर्ने बताउँदै, २०७२ सालको भूकम्पपछि जर्मन सरकारको सशर्त अनुदान अस्वीकार गरी जनताकै पसिनाबाट १६९ सम्पदा पुनर्निर्माण गरिएको जानकारी दिनुभयो।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशको सम्पदा, इतिहास र धरोहर नष्ट गर्नेहरूलाई इतिहासले माफी नदिने बताउँदै चरित्र र नैतिकताको महत्व औँल्याउनुभयो। नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पद्मबहादुर शाहीले गुणस्तरीय इन्जिनियरिङ शिक्षा आवश्यक रहेको बताउँदै इमान्दार र सक्षम इन्जिनियर उत्पादनमा जोड दिनुभयो।

पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन प्रा.डा. भोलानाथ शर्मा घिमिरेले कडा मेहनत र आत्मनिर्भरता नै सफलताको आधार भएको धारणा राख्नुभयो। ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले देश र जनताको सेवा गर्ने योग्य, इमान्दार र नैतिक इन्जिनियर उत्पादन गर्नु कलेजको मुख्य उद्देश्य रहेको बताउनुभयो।

कार्यक्रममा नयाँ विद्यार्थीहरूको स्वागत तथा चार वर्षे इन्जिनियरिङ, पाँच वर्षे आर्किटेक्चर र दुई वर्षे स्नातकोत्तर इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो।

भक्तपुर । We Can Education Nepal, Bhaktapur द्वारा आयोजना गरिएको राष्ट्रिय देशभक्ति गीत नृत्य प्रतियोगिता भक्तपुरस्थित जागृती विद्या सदनमा भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा रितम्भरा पाठशाला (दुवाकोट) प्रथम, जागृती विद्या सदन (बेशी) द्वितीय र सेरीनकेन इङ्लिस विद्यालय (झौखेल) तृतीय घोषित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि चाँगुनारायण नगरपालिका – १ का वडाध्यक्ष सिजन कार्कीले स्कुल, कलेजहरूमा गरिने विभिन्न प्रतियोगिताले विद्यार्थीहरूमा राष्ट्रप्रेम, अनुशासन र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यालयहरूले अतिरिक्त क्रियाकलापमार्फत यस्ता कार्यक्रमहरूकाे निरन्तरता दिनुपर्नेमा जोर दिए । कार्यक्रमको सभाध्यक्षता We Can Educational Nepal का अध्यक्ष रत्न बहादुर राईले गरेका थिए । 

कार्यक्रमको सञ्चालन विद्यालय संयोजक रजनी सापकोटाले गरेकी थिइन् । कार्यक्रममा विभिन्न विद्यालयका प्रध्यानाध्यापक, निर्देशक तथा व्यवस्थापकसहितकाे उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य सह–सचिव तथा जागृती विद्या सदनका प्रधानाध्यापक जगदीश पौडेलले प्रस्तुत गरेका थिए ।

सान्त्वना पुरस्कार पाथीभरा एकेडेमी, रुबिभ्याली विद्यालय, आरक्षण नेशनल विद्यालय, क्रियटिभ इङ्लिस विद्यालय र माम्ती विद्यालयले प्राप्त गरेका छन् । नतिजा We Can Education Nepal का सचिव तथा पाथीभरा एकेडेमीका प्रध्यानाध्यापक रमेश प्रसाद सिटौलाले सार्वजनिक गरेका हुन् । 

समापनमा अध्यक्ष राईले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्दै यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने बताए । 

काठमाडौँ, ७ मंसिर । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म विस्तार भइरहेको ६-लेन सडक आयोजनाको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत १५.८ किलोमिटर लम्बाइको सूर्यविनायक – धुलिखेल सडक दुई प्याकेजमा विभाजन गरी निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

पहिलो प्याकेजअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डमा ४५ प्रतिशत काम सम्पन्न छ । दोस्रो प्याकेजमा पर्ने साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक विस्तारको प्रगति ५५ प्रतिशत पुगेको छ । हाल दुवै खण्डमा पर्खाल, नाली तथा संरचना निर्माण सक्रिय रूपमा चलिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्थलअनुगमन गर्दै निर्माण प्रगति तथा चुनौतीबारे सडक विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण व्यवसायीसँग समन्वय बैठक गरेका छन्। उनले वर्तमान मौसम निर्माणका लागि अनुकूल भएकाले कामलाई थप गति दिन निर्देशन दिएका छन् ।

मन्त्री घिसिङले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय तत्काल टुंग्याउन, जनशक्ति तथा उपकरण थपेर निर्माणलाई पूर्णरूपमा परिचालित गर्न र आगामी असारभित्र सडक विस्तार पूरा गर्ने लक्ष्यसहित काम गर्न आग्रह गरेका छन् । उनको भनाइमा, अर्थ मन्त्रालयबाट आवश्यक बजेटको प्रतिबद्धता भइसकेकाले अब वित्तीय अभाव नहुने बताइएकाे छ ।

यसअघि सडक सीमा विवाद, घर – टहरा हटाउने प्रक्रिया, बजेट अभावलगायत कारणले परियोजना प्रभावित हुँदै आएको थियो । चालु आर्थिक वर्षमा आयोजनाका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ भने करिब ४ अर्ब रुपैयाँ थप आवश्यक रहेको आयोजना कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा मन्त्री घिसिङले बनेपा बजार क्षेत्रमा देखिएका समस्याबारे बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी सडक विस्तार सहज बनाउन सहयोग गर्न आग्रह गरेका छन् । दुवै प्याकेजअन्तर्गत टेवा पर्खाल र नाली निर्माण ९५ प्रतिशत पूरा भएको छ भने साँगा – धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे कार्य सम्पन्न भइसकेको छ ।

भक्तपुर, २७ कार्तिक । कला, साहित्य र सृजनशीलतालाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित भक्तपुरमा पहिलो पटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीहरूको लुकेको प्रतिभा उजागर गर्ने ऐतिहासिक मञ्चको काम गरेको आयोजकहरूले बताएका छन्।

प्रतियोगितामा सहभागी विद्यालयहरूले विभिन्न सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विषयवस्तुलाई नाटकमार्फत जीवन्त रूपमा प्रस्तुत गरेका थिए। निर्णायकलाई प्रभावित पार्दै, ऋतम्भरा पाठशालाले प्रथम स्थान हासिल गर्‍यो।

त्यसैगरी, ईडेन गार्डेन दोस्रो, संस्कार गुरूकूल तेस्रो, र विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान प्राप्त गर्न सफल भए। व्यक्तिगत श्रेणीमा, आरक्षण नेसनल स्कुलकी यूनिशा खत्री ‘उत्कृष्ट कलाकार’ घोषित हुन सफल भइन्।

पाथिभरा एकेडेमी : उत्कृष्ट प्रस्तुति, क्वालिटी स्कुल : उत्कृष्ट निर्देशन, यूनिटी स्कुल : उत्कृष्ट सन्देश, जागृति विद्या सदन : उत्कृष्ट मञ्च व्यवस्थापन, संस्कार गुरूकूल : उत्कृष्ट कथा गरि अन्य उपाधि रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य निर्णायक वरिष्ठ रङ्गकर्मी केदार श्रेष्ठले विद्यालयस्तरमै यस्ता कार्यक्रममा युवा पुस्ताको कलाप्रतिको आकर्षण र समर्पण बढ्ने भन्दै आयोजकको प्रशंसा गरे ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नाटक केवल मनोरञ्जन नभई विद्यार्थीको क्षमता विकास गर्ने प्रभावकारी माध्यम भएको बताए।

मदरल्याण्ड स्कुलकी सञ्चालक शर्मिला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नाटक प्रशिक्षक आरती गौतम र थिएटर कलाकार एडेन बात्री निर्णायकका रूपमा उपस्थित थिए।

विभिन्न विद्यालयका प्रिन्सिपल, सल्लाहकार तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेकाे कार्यक्रम संयोजक विष्णु प्रसाद दुवालले जानकारी दिए । 

भक्तपुर, २६ कार्तिक । भक्तपुरमा पहिलो पटक अन्तर–विद्यालय नाटक प्रतियोगिता आयोजना हुन लागेको छ । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको यो कार्यक्रम आगामी २०८२ कार्तिक २७ गते सूर्यविनायक – ९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलमा सम्पन्न हुने भएको छ ।

मदरल्याण्ड स्कुलका कार्यक्रम संयोजक विष्णु प्रसाद दुवालका अनुसार, विद्यार्थीहरूको रचनात्मकता र अभिनय क्षमतालाई प्रोत्साहन दिने उद्देश्यले अन्तर–विद्यालय नाटक प्रतियोगिता आयोजना गरिएको हो । उनले सम्पूर्ण तयारी पूरा भइसकेको र कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न विद्यालय परिवार उत्साहित रहेको जानकारी दिएका छन् ।

प्रतियोगितामा नेसनल प्याव्सनमा आबद्ध सदस्य विद्यालयहरूका कक्षा १० सम्मका विद्यार्थीहरूले भाग लिन सक्नेछन् । सहभागी समूहले सन्देशमूलक नाटक प्रस्तुत गर्नेछन् । हरेक प्रस्तुतिको समय करिब ७ देखि १५ मिनेट बीचमा सीमित रहनेछ भने, एक नाटक समूहमा अधिकतम ८ जना कलाकारहरू मात्र सहभागी हुन पाउने बताइएकाे छ ।

कार्यक्रमलाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन आयोजकले प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र वितरणको व्यवस्था गरेको छ । साथै उत्कृष्ट प्रतिभालाई सम्मान गर्नका लागि उत्कृष्ट कथा, उत्कृष्ट कलाकार, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट निर्देशन, उत्कृष्ट सन्देश र उत्कृष्ट मञ्च व्यवस्थापन जस्ता सबटाइटल अवार्डहरू पनि प्रदान गरिने बताइएकाे छ । 

यस कार्यक्रमले विद्यार्थीहरूमा कला, रचनात्मक सोच र आत्मविश्वास विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।