मुख्य बुँदा 

भक्तपुर घरेलु तथा साना उद्योग संघ र पर्यटन विकास समितिको सहकार्यमा “गो लोकल” पुस्तक सार्वजनिक।

पुस्तकमा भक्तपुरका १५ मौलिक उत्पादनहरूको सूचीकरण, महत्त्व र सम्भावना समेटिएको।

५ वर्षको अध्ययन अनुसन्धानपछि तयार पारिएको पुस्तक, मन्त्री सुरेश श्रेष्ठ र मन्त्री बिन्दु श्रेष्ठद्वारा सार्वजनिक।

मौलिक उत्पादनको संरक्षण, प्रवर्द्धन, ब्राण्डिङ र अन्तर्राष्ट्रिय बजारमा प्रवेश मुख्य उद्देश्य।

स्थानीय सरकार र उद्योग कार्यालयले पनि कार्यक्रमलाई समर्थन।

गो लोकल कार्यक्रमबाट जागरूकता, बजार विस्तार र आर्थिक समृद्धिमा योगदानको अपेक्षा।

भक्तपुर, २४ भदौ । भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा “गो लोकल” पुस्तक सार्वजनिक गरिएको छ।

यस पुस्तकमा भक्तपुरका १५ मौलिक उत्पादनहरूको सूचीकरण गर्दै तिनीहरूको महत्त्व र भविष्यको सम्भावनामा प्रकाश पारिएको छ। पाँच वर्षको अध्ययन र अनुसन्धानपछि तयार पारिएको पुस्तकलाई बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरेका हुन ।

पुस्तक सार्वजनिक गर्दै मन्त्री श्रेष्ठहरूले मौलिक उत्पादन संरक्षण र अन्तर्राष्ट्रिय बजार विस्तारमा यस पुस्तकले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।

मन्त्री विन्दु श्रेष्ठले रैथाने उत्पादनलाई उत्पादन गरी ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा लैजान सकिए मात्र घरेलु तथा साना उद्योगहरू दिगो हुने बताइन । उनले प्रदेश सरकारले ती उद्योग तथा व्यवसायलाई विभिन्न सुविधा प्रदान गर्दै संरक्षण गर्ने प्रतिवद्धता जनाइन ।

उनले थपिन, “घरेलु उद्योगलाई आवश्यक कच्चा पदार्थको अभाव छ। त्यसैले हामी आफैंले रैथाने बिउ जोगाएर कच्चा पदार्थ उत्पादन गर्नुपर्ने आवश्यकता छ। यसमा प्रदेश मात्र नभई स्थानीय सरकारले पनि ध्यान दिनु जरुरी छ।”

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई र उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुस्माले पनि स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्द्धनमा यस पुस्तक र गो लोकल अभियान महत्वपूर्ण हुने बताए।

कार्यक्रम संयोजक वीरेन्द्र जति र सह–संयोजक रामसुन्दर भेलेले आगामी योजनाबारे जानकारी दिँदै अहिले पाँच प्रमुख उत्पादनमा काम भइरहेको बताए।

“गो लोकल” पुस्तकका उद्देश्य मौलिक उत्पादनलाई सम्मान र प्रचार गर्ने, पर्यटकसँग जोड्ने, उद्योगको संरक्षण र समृद्धि पुर्याउने, तथा नयाँ बजारमा प्रवेशका लागि ब्राण्डिङ र मार्केटिङलाई सहयोग गर्ने बताइएकाे छ ।

समापनमा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, पर्यटन विकास समितिका महासचिव रविन्द्र श्रेष्ठलगायतले पनि उद्योगको संरक्षण र समृद्धि पुर्याउने बताएका थिए । 

भक्तपुर, २४ भाद्र । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । साउन २४ गते बिहान ५:३० बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशअनुसार उक्त क्षेत्रहरूमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नमराज धिमिरेद्वारा जारी गरिएको आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम शान्ति सुरक्षाको दृष्टिले चाँगुनारायण नगरपालिका वडा नम्बर २ अन्तर्गतका विभिन्न स्थानहरूमा निषेधाज्ञा लागू गरिएको हो ।”

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरू यस्ता छन्:

प्रशासनले उल्लेखित क्षेत्रमा कुनै पनि समूह वा व्यक्तिले जुलुस, सभा वा अन्य सार्वजनिक कार्यक्रम गरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ । स्थानीय सुरक्षा अवस्था र संभावित जोखिमलाई ध्यानमा राख्दै आदेश जारी गरिएको जनाइएको छ । निषेधाज्ञा कहिलेसम्म लागू हुने भन्ने विषयमा स्पष्ट जानकारी नदिइएको भए पनि  ‘अर्को आदेश नआएसम्म’ लागू हुने भनिएको छ ।

मुख्य बुँदा

भक्तपुर नगरपालिकाको आयोजनामा भदौ २२ गते सम्पदा पदयात्रा

भक्तपुर दक्षिणी भेगका १६ ऐतिहासिक, धार्मिक र सांस्कृतिक पोखरीहरूको परिक्रमा

पोखरीहरूको संरक्षण, जीर्णोद्धार र आकर्षक व्यवस्थापन नगरपालिकाद्वारा

सम्पदा पदयात्राले धार्मिक–सांस्कृतिक चेतना र पर्यटन प्रवर्द्धनमा योगदान

भक्तपुर, २१ भदौ । भक्तपुर नगरपालिकाले २०८२ भदौ २२ गते आइतबार आयोजना गर्ने सम्पदा पदयात्रामा भक्तपुर नगरका दक्षिणी भेगमा रहेका १६ वटा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महमहत्वका पोखरीहरूको परिक्रमा गरिने भएको छ ।

नगरपालिकाले धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै पर्यटकीय आकर्षण बढाउने उद्देश्यले यो पदयात्रा आयोजना गरेको जनाएको छ । पदयात्राका क्रममा सहभागीहरूले निम्न पोखरीहरूको परिक्रमा गर्नेछन् :

च्याम्हासिंह पुखू – आठ सिंहको संरचना बोकेको, हाल भक्तपुर नगरपालिका वडा नं. ९ वागीश्वरी मा.वि. परिसरमा रहेको धार्मिक महŒवको पोखरी । जेँला पुखू – क्षेत्रफलमा सानो भए पनि नगरपालिकाले जीर्णोद्धार गरी आकर्षक बनाएको पोखरी, रात्री समयमा फोहोरा र बत्तीले विशेष आकर्षण बढाउने ।खँचा पुखू – पाँचतले मन्दिरको प्रतिविम्ब देखिने ऐतिहासिक पोखरी, मध्यकालीन निर्माण शैलीको उत्कृष्ट नमुना ।

याता (न्हाद) पुखू – बस्तीको बीचमा रहेको, विगतमा घरायसी प्रयोजनमा प्रयोग भएको पोखरी, अहिले मत्स्यपालनसहित संरक्षण गरिएको ।गोल्मढी बारे पुखू – कमल पोखरी नामले चिनिने, किसानहरूले हडप्ने प्रयासपछि स्थानीय पहलमा सार्वजनिक कायम गरिएको पोखरी । कुमारी पुखू – अष्टमातृका पिठ परिसरमा अवस्थित, धार्मिक र सांस्कृतिक महमहत्व  बोकेको पोखरी ।

खँला (ख्यो) पुखू – भेलुखेलस्थित, जीर्णोद्धारपछि महादेवको मूर्ति राखिएको, हाल नगरपालिकाले पानी अडाइ सदुपयोगमा ल्याएको पोखरी लैको पुखू – गोलाकारबाट षट्कोण आकारमा जीर्णोद्धार गरिएको सानो पोखरी, फोहोरा सहित आकर्षक बनाइएको ।सुनधारा पुखू – सम्भवतः भक्तपुरकै सबैभन्दा सानो पोखरी, बिचमा नागको धातुको प्रतिमा राखिएको ।

दुमाजु पुखू (रुन्चे पोखरी) – बालबालिकाको रुन्चे निको हुने जनविश्वास बोकेको ऐतिहासिक पोखरी, तलेजु परिसरभित्र अवस्थित । भण्ड पुखू (भण्डार पोखरी) – मल्लकालमा धन सम्पत्ति भण्डारण भएको विश्वास गरिने, अहिले दरबार क्षेत्रको कला सङ्ग्रहालय परिसरमा अवस्थित पोखरी । नासमना पुखू (मंगलकुण्ड पोखरी) – नासमना चोकमा रहेको, घरायसी प्रयोजन र पौडी खेल्न प्रयोग हुने पोखरी, अहिले सम्पदा क्षेत्रमा संरक्षणमा । मंगलाछेँ पुखू – मचो गणेश मन्दिर नजिक अवस्थित सानो पोखरी, धार्मिक र सांस्कृतिक महमहत्वसहित संरक्षित । देगमना पुखू – देगमना टोलमा रहेको, देवी–देवताका मूर्तिहरूसहितको पवित्र पोखरी ।

तेखा पुखू (तेखाचो पुखू) – पोखरीको बिचमा महादेवको मूर्ति स्थापना गरिएको, धार्मिक महमहत्व बोकेको पोखरी । भाज्या पुखू (भाजु पुखू) – मल्लकालीन भारदार भाजुकसले निर्माण गरेको विश्वास, हाल नगरपालिकाले आकर्षक स्वरूपमा जीर्णोद्धार गरी पर्यटकीय गन्तव्य बनाएको पोखरी ।

नगरपालिकाले पछिल्ला वर्षहरूमा यी पोखरीहरूको जीर्णोद्धार, संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिएको छ । फोहोरा, रंगीन बत्ती, मत्स्यपालन, डिल निर्माण लगायतका व्यवस्थापनले पोखरीहरू अझ आकर्षक बनेका छन् । नगर प्रमुखका अनुसार, “यी पोखरीहरू भक्तपुरको धार्मिक–सांस्कृतिक पहिचानका धरोहर मात्र होइनन्, पर्यटकीय दृष्टिकोणले पनि अत्यन्त सम्भावनायुक्त सम्पदा हुन् । सम्पदा पदयात्राबाट सर्वसाधारणलाई आफ्नै संस्कृतिप्रति अभिमान बढाउने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।”

मुख्य बुँदा

भक्तपुरस्थित जेन्यूइन सेकेण्डरी स्कुलको ३० औँ वार्षिकोत्सव भव्य रूपमा मनाइँदै।

‘पानी बा’ लाई सम्मान, बुद्ध शिक्षा–दर्शनमा आधारित दुई दिने सेमिनारबाट कार्यक्रमको सुरुवात।

विद्यालयले कम्प्युटर शिक्षा, चिनियाँ भाषा, खेलकुद, कला, संगीत लगायतका नवीन अभ्यासलाई निरन्तरता दिएको उल्लेख।

सामाजिक दायित्व अन्तर्गत सरसफाइ, जनचेतना, सम्पदा संरक्षण, स्थानीय पाठ्यक्रम निर्माणमा सक्रियता।

यस वर्षदेखि “जेस संस्कृति सम्पदा सिरपा” पुरस्कारबाट सम्पदा संरक्षणमा सक्रिय युवालाई सम्मान गर्ने घोषणा।

भक्तपुर, १७ भाद्र । भक्तपुरस्थित जेन्यूइन सेकेण्डरी स्कूलले आफ्नो ३० औँ वार्षिकोत्सव विशेष कार्यक्रममार्फत मनाउने भएको छ। विद्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै वि.सं. २०५१ फागुनमा स्थापना भएको स्कुलले तीन दशक पुरा गरेको जानकारी दिएको हो।

वार्षिकोत्सव मुल समारोह समितिका संयोजक योगेन्द्रमान बिजुक्छेंले कार्यक्रममा उपत्यकाका जात्रा–पात्रा, आन्दोलन तथा विविध कार्यक्रममा पानी खुवाउँदै आएका भक्तपुर क्वाठण्डौंका ‘पानी बा’ लाई विशेष सम्मान गरिने बताए।

विद्यालयले सुरुवाती चरणदेखि नै नवीन शैक्षिक अभ्यास गर्दै आएको उल्लेख गरिएको छ। स्थापनाको दोस्रो वर्षमै कम्प्युटर शिक्षा सुरु गर्ने भक्तपुरकै पहिलो विद्यालय बनेको Genuine School ले पछि चिनियाँ भाषासमेत पठनपाठनमा समावेश गर्‍यो। चित्रकला, संगीत, नृत्य, खेलकुद (बास्केटबल, फुटबल, टेबल टेनिस, तेक्वान्डो) जस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ।

विद्यालयले शिक्षक तालिमलाई शिक्षणको अभिन्न अङ्ग बनाएको छ। हरेक वर्ष आवधिक तालिम, पुस्तक अध्ययन र छलफल, लेखक–पाठक संवाद जस्ता गतिविधिबाट शिक्षण–सिकाइलाई सुदृढ पार्दै आएको छ। शिक्षकलाई सामुदायिक विद्यालय सरह सुविधा, संचय कोष, रिफ्रेसमेन्ट आउटिङको व्यवस्था समेत गर्दै आएको विद्यालयले सामाजिक दायित्वमा पनि सक्रियता देखाउँदै आएको छ।

विशेषगरी सम्पदा संरक्षण र सरसफाइ अभियान, स्थानीय पाठ्यक्रम निर्माणमा योगदान, महामारी वा रोग फैलिँदा जनचेतनामूलक गतिविधि, वातावरण दिवसमा र्‍याली, सम्पदा नृत्य ‘महाकाली नाच टोली’ को व्यवस्थापन जस्ता कार्य निरन्तर गर्दै आएको विद्यालयले यस वर्षदेखि “जेस संस्कृति सम्पदा सिरपा” पुरस्कार सुरु गर्ने घोषणा गरेको छ। यो पुरस्कार सम्पदा संरक्षण र अनुसन्धानमा सक्रिय युवालाई दिइनेछ।

कार्यक्रमको उद्घाटन २५ असोजमा बुद्ध शिक्षा र दर्शनमा आधारित सेमिनारबाट सुरु गरिने छ। सम्पूर्ण गतिविधि कात्तिक १ भित्र सम्पन्न हुने र समापन समारोह तिहारलगत्तै (कात्तिक ८ वा १० गते) आयोजना गरिने विद्यालयले जनाएको छ।

भक्तपुर, १२ भाद्र । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा अविरल वर्षाका कारण खोलामा आएको बाढीले एक जनालाई बगाउँदा वेपत्ता भएकी छन् । 

आशापुरी खोलामा आएको आकस्मिक बाढीले गोठालो गएका दुई जनालाई बगाएकोमा एक जना तैरिएर ज्यान जोगाउन सफल भए पनि रश्मी तामाङ भने वेपत्ता भएको आशापुरी प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको टोली पुगेर उद्धार र खोजी कार्य जारी राखिएको छ । निरन्तर वर्षाका कारण खोलाको पानी बढिरहेकोले खोजी कार्यमा कठिनाइ भएको बताइएको छ ।

स्थानीयवासीका अनुसार खोलामा एक्कासि आएको बाढीले वरिपरिका बस्तीलाई समेत त्रसित बनाएको छ । 

मुख्य बुँदा

भक्तपुर नगर प्रमुख सुनिल प्रजापति र त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनबीच भेटवार्ता।

चिनियाँ भाषा पठनपाठन र नगरपालिकाभित्रका शैक्षिक संस्थासँग सहकार्यबारे छलफल।

भक्तपुरका विद्यालय तथा कलेजहरूमा चिनियाँ भाषा कक्षा सञ्चालन भइरहेको जानकारी।

नगरपालिकाले विदेशी भाषा तालिम र चिनियाँ भाषाका पथप्रर्शकको व्यवस्था गरिरहेको उल्लेख।

नेपाल–चीनबीच सांस्कृतिक, शैक्षिक र राजनीतिक निकटताबारे नगर प्रमुखको अभिव्यक्ति।

चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनु भएकोमा चीन सरकारप्रति धन्यवाद।

कन्फ्युसियस इन्स्टिच्युटले भाषा र संस्कृतिको आदानप्रदान प्रवर्द्धनमा जोड दिएको जानकारी।

हाल उक्त संस्थानमा ६ जना चिनियाँ शिक्षक कार्यरत।

भक्तपुरस्थित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र बागीश्वरी कलेजको अवलोकन।

चिनियाँ भाषा विस्तारले दुई देशबीच कला, संस्कृति र साहित्यमा सहकार्य बढाउने विश्वास।

भक्तपुर, ९ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनले साेमबार नगरपालिकाको सभाकक्षमा भेटवार्ता गर्नुभएको छ।

भेटमा भक्तपुर नगरपालिकामा सञ्चालित शैक्षिक संस्था र त्रिवि कन्फ्युसियस इन्स्टिच्युटबीच सहकार्य स्थापना तथा चिनियाँ भाषा पठनपाठनलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुरका विद्यालय तथा कलेजमा चिनियाँ भाषा कक्षा सञ्चालन भइरहेको उल्लेख गर्दै नगरपालिकाले विदेशी भाषा तालिमलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो। उहाँले भक्तपुर भित्रिने चिनियाँ पर्यटकको संख्या बढ्दै गएकाले चिनियाँ भाषाका पथप्रर्शकहरुको व्यवस्था समेत नगरपालिकाले गर्दै आएको बताउनुभयो।

नेपाल–चीनबीचको निकट सम्बन्धलाई स्मरण गर्दै प्रजापतिले नेपाल मजदुर किसान पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक नजिकताको समेत चर्चा गर्नुभयो। साथै, चीनमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइदिएकोमा चिनियाँ सरकारप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक सीननियनले सन् २०२२ मा नेपालमा स्थापना भएको यस संस्थानको उद्देश्य दुई देशबीच भाषा र संस्कृति आदानप्रदानलाई प्रवर्द्धन गर्नु रहेको स्पष्ट पार्नुभयो। उहाँले हाल संस्थामा ६ जना चिनियाँ शिक्षक कार्यरत रहेको उल्लेख गर्दै संस्कृतिसहित पर्यटन आदानप्रदानमा पनि सहकार्य सम्भव रहेको धारणा राख्नुभयो।

यस क्रममा सीननियनले भक्तपुरस्थित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ तथा बागीश्वरी कलेजको स्थलगत अवलोकन पनि गर्नुभयो। उहाँले भक्तपुरमा चिनियाँ भाषा शिक्षणलाई अझै विस्तार गर्न सकिए दुई देशबीच कला, संस्कृति र साहित्यको आदानप्रदानलाई पनि टेवा पुग्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्ष निर्देशक बलराम दुवाल, चिनियाँ स्वयम्सेवक शिक्षक लुओ चिमेई र प्रशिक्षक राजेन्द्र चवालको पनि उपस्थिति थियो। अन्त्यमा नगर प्रमुख प्रजापतिले निर्देशक सीननियनलाई नगरपालिकाका प्रकाशन सामग्री उपहारस्वरुप प्रदान गर्नुभयो।

भक्तपुर, २९ साउन । भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने पाक शिक्षा, आधारभूत र एड्भान्स सिलाइ तथा हेयर कटिङ तालिमका प्रशिक्षार्थीहरुको भेला बिहीबार भनपा सभाकक्षमा सम्पन्न भयो।

कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै देशभक्तिपूर्ण भावना प्यालेस्टाइनी जनताबाट सिक्नुपर्ने बताए । उनले विदेश जानु सुखको बाटो नभई कहिलेकाहीँ दुःखको बाटो बन्ने उल्लेख गर्दै आफ्नाे सीप र दक्षतालाई देशको हितमा प्रयोग गर्न आग्रह गरे।
वडाध्यक्ष उकेश कवां, वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, कार्यपालिका सदस्य रोशनमैंया सुवाल र छोरीमैंया सुजखूले प्रतिस्पर्धात्मक समयमा सीपयुक्त हुनुपर्ने र ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
भक्तपुरलाई उदाहरणीय नगर बनाउन नागरिकको अग्रसरता आवश्यक रहेको वक्ताहरुले औंल्याए।

काठमाण्डौ, २८ साउन । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

सेवाग्राहीसँग साढे २४ लाख रुपैयाँ घुस लिएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, मालपोत अधिकृत आचार्य र सहयोगी राउतले चाँगुनारायण नगरपालिकामा पर्ने १४ रोपनी ४ आना जग्गाको मोही बाँडफाँट तथा नामसारीका लागि सहजीकरण गर्ने बहानामा घुस मागेका थिए।

उनीहरूले जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाई दिने वचन दिएका थिए। अख्तियारको विज्ञप्तिमा उल्लेख भएअनुसार, पक्राउ परेका दुवै जनासँग घुस रकम बराबरकै बिगो मागदाबी गरिएको छ।