भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भक्तपुर, २५ असार । सुर्यविनायक नगरपालिकाको जामुनीमा अवस्थित सुर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारले ५० शैयाको अस्पतालको रूपमा सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, हेटौंडाबाट जारी गरिएको अनुमतिपत्रमा अस्पतालले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी सम्पूर्ण मापदण्डहरू पुरा गरेको उल्लेख गरिएको छ। स्वीकृतिपछि अब अस्पतालले थप सुविधा र सेवा विस्तार गर्न पाउनेछ।

स्वास्थ्य सेवा ऐन, २०७५ तथा नियमावली, २०७७ को दफा ८ (२) बमोजिम, स्वास्थ्य निर्देशनालयको प्राविधिक टोलीले गरेको निरीक्षण प्रतिवेदनको आधारमा अस्पताललाई २०८२ असार २४ गतेदेखि लागू हुने गरी आगामी दुई वर्षको लागि स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र प्रदान गरिएको हो।

अनुमतिपत्रमा उल्लेख भएअनुसार, अस्पतालले आकस्मिक सेवा, शिशु सेवा, फिजियोथेरापी, तातो सेवा, उपचार सेवा, ल्याब, एक्सरे लगायतका सेवा उपलब्ध गराउनु पर्नेछ। साथै, वडास्तरमा ड्रेसिङ सेवा, काउन्सेलिङ सेवा पनि सन्चालन गर्नुपर्नेछ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार यो निर्णयसँगै सुर्यविनायक नगरवासीहरूले थप गुणस्तरीय सेवा पाउनेछन्। अस्पतालको स्तरोन्नति स्वास्थ्य मन्त्री किरण थापा, सचिव डा. सुमित्रा गाैतमकाे विशेष पहलमा सम्भव भएको बताइएको छ।

स्थानीयवासी र जनप्रतिनिधिहरूले अस्पतालको स्तरोन्नति भएपछि नगरमै प्रभावकारी उपचार सेवा सहज हुने विश्वास व्यक्त गरेका छन्।

भक्तपुर, ८ असार । बागमती प्रदेश सरकारको हालै प्रस्तुत बजेटमा भक्तपुर जिल्लाको स्वास्थ्य क्षेत्रले  प्राथमिकता पाएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रहेका स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतम दुवै भक्तपुरका स्थानीय भएकाले बजेट विनियोजनमा भक्तपुरका विभिन्न स्वास्थ्य संस्थाहरूले प्राथमिकता पाएका हुन । 

प्रदेशकाे स्वास्थ्य क्षेत्रकाे बजेटमा  : चागुनारायण नगर अस्पतालका लागि रु. १ करोड, सूर्यविनायक नगर अस्पतालका लागि रु. २ करोड, कोरियन अस्पतालका लागि रु. १ करोड, दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रका लागि रु. १ करोड ५० लाख, ख्वप अस्पतालका लागि रु. २ करोड, तथा अन्य स्वास्थ्य चौकिहरूमा समेत १ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ।

बजेटले भक्तपुरको स्वास्थ्य क्षेत्र आगामी वर्षमा गुणात्मक सुधारको दिशामा अग्रसर हुने अपेक्षा गरिएको छ। विगतमा पूर्वाधार, उपकरण र जनशक्ति अभावले थलिएको यस क्षेत्रले अब पर्याप्त स्रोत प्राप्त गर्ने भएपछि सेवाग्राही नागरिकको विश्वास बढ्ने संकेत देखिएको छ।

स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सेवाग्राहीहरूले भक्तपुर जिल्ला प्रदेश सरकारको स्वास्थ्य नीति तथा बजेटको केन्द्रमा परेकोमा सन्तोष व्यक्त गरेका छन्। कतिपयले त यो अवस्थालाई “स्वास्थ्य फकडको युग सुरु हुने संकेत” समेत बताएका छन्।

बागमती प्रदेश सरकारले स्वास्थ्य सेवा पहुँचयोग्य, गुणस्तरीय र समावेशी बनाउने उद्देश्यले प्रदेशभित्रका १३ वटै जिल्लामा समानताको आधारमा बजेट वितरण गर्ने नीति लिएको भए तापनि भक्तपुरमा परेको बजेट औसतभन्दा माथि देखिएको छ। 

भक्तपुर, ८ असार । भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गर्नुभयो।

बजेटमा ६१.६७ प्रतिशत चालू खर्च, ३२.५४ प्रतिशत पुँजीगत खर्च र ५.७८ प्रतिशत वित्तीय व्यवस्थापनका लागि विनियोजन गरिएको छ। शिक्षा क्षेत्रमा रु. ५४ करोड ४ लाख ६३ हजार (कुल बजेटको २१.८५%) र स्वास्थ्य क्षेत्रमा रु. १० करोड ३७ लाख ५० हजार विनियोजन गरिएको छ। ख्वप अस्पतालको स्तरोन्नति तथा खँचापुखु स्वास्थ्य चौकी निर्माण पनि आगामी वर्षको प्राथमिकतामा परेको छ।

नगरको सांस्कृतिक सम्पदा संरक्षणतर्फ रु. १२ करोड ६८ लाख ५० हजार विनियोजन गरिएको छ। यस अन्तर्गत थन्थु दरबार, इखालाछी मठ, लायकु पाहाँ छेँ, सिद्धपोखरी, दहि विनायक द्योछेँ लगायतका स्थलहरूको पुनःनिर्माणको बजेट व्यवस्था गरिएको छ। कृषि क्षेत्रमा वधशाला, शीत भण्डार गृह, र तरकारी बजारको लागि बजेट छुट्याइएको छ। खानेपानी वितरण, वातावरण तथा सरसफाइ (रु. २० करोड २२ लाख), र पर्यटन प्रवर्द्धन (रु. ४ करोड ९० लाख) पनि बजेटमा प्राथमिकतामा छन्।

सार्वजनिक संरचना विकास अन्तर्गत अरनिको सभाभवन, बहुउद्देश्यीय भवन, पार्किङ स्थल, र जग्गा एकीकरणका लागि बजेट विनियोजन गरिएको छ। खेलकुद क्षेत्रका लागि विभिन्न मैदान र तालिम केन्द्रमा लगानीको व्यवस्था गरिएको छ।

दीर्घरोगीहरूको उपचारमा आर्थिक सहायता निरन्तरता, सीपमूलक तालिम, र विविध योजनाहरूका लागि रु. ९ करोड १४ लाख विनियोजन गरिएको छ। नगरसभामा आर्थिक विधेयक २०८२ तथा विनियोजन विधेयक २०८२ पनि उपप्रमुख जोशीले प्रस्तुत गर्नुभएको छ।

भक्तपुर,७ असार । मस्तिष्क पक्षघातका कारण ह्वीलचेयरमै सीमित जीवन बिताइरहेकी भक्तपुरकी प्रिता बल्लले खुट्टाले मोबाइलमा टाइप गरी २४२ पृष्ठ लामो पुस्तक तयार गरेकी छन्। ‘अविचलित पाइला’ नामक उक्त पुस्तक अनुशिलन नेपाल, बालकोट भक्तपुरले प्रकाशन गरेको हो।

पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा उनका लेख र दोस्रो खण्डमा लेखिका प्रिताको जीवनी समेटिएको छ। पुस्तकमा ९३ वटा फरक–फरक शीर्षकमा उनले आफ्ना अनुभव, भावनात्मक यात्रा र आत्मदर्शन समेटेकी छन्।

उनको लेखन पारिवारिक पृष्ठभूमिबाट सुरु भई विद्यालय, शिक्षकीय सम्बन्ध र व्यक्तिगत संघर्षसम्म फैलिएको छ। पुस्तकको मूल्य ७७७ रुपैयाँ राखिएको छ। प्रिताको लेखन यात्रा उनका पिताको विद्यालय सहपाठीहरूको सहयोगबाट पुस्तक प्रकाशनसम्म पुगेको हो।

प्रिता २०४८ सालमा जन्मेकी हुन्। उनी १० वर्षसम्म हिड्न सकिनन्। शारीरिक अपांगता हुँदाहुँदै पनि उनले अध्ययनको निरन्तरता कायम राख्दै एसईईदेखि स्नातक तहसम्म शिक्षा हासिल गरेकी छिन्। उनकी आमा रामेश्वरीका अनुसार प्रिताले खुटाको सहाराले मोबाइलमा दैनिक लेख्ने अभ्यास गर्दै यो पुस्तक तयार गरेकी हुन्।

भक्तपुर, ६ असार । भक्तपुर नगरपालिकाको १८औं नगरसभा शुक्रबार सम्पन्न भएको छ। नगर प्रमुख इन्जिनियर सुनिल प्रजापतिले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिएको १२२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिका समग्रमा आत्मनिर्भर, शिक्षित, समृद्ध र संस्कृतिपूर्ण नगर बनाउने प्रतिबद्धता गर्नुभयाे ।

सभामा नगर प्रमुख प्रजापतिले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, कृषि, पर्यटन, खेलकुद, विपद् व्यवस्थापन, वातावरण, सहकारी, खानेपानी, युवालाई आत्मनिर्भर बनाउने र सुशासन प्रवर्द्धनका क्षेत्रमा ठोस योजनाहरू प्रस्तुत गर्नुभयाे ।

उक्त नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रमै मात्र २४ बुँदे विस्तृत कार्यक्रम, सीटी स्क्यान, डायलासिस सेवा थप्ने, सम्पदा पुनःनिर्माण, खेलकुद पूर्वाधार विस्तार, जैविक कृषि प्रवर्द्धन, पर्यटकीय गन्तव्य विकास, सहकारी सशक्तीकरण, प्लास्टिक न्यूनीकरण, माटो जोडाइको घरमा प्रोत्साहनजस्ता उल्लेखनीय योजना समावेश छन्।

नगर प्रमुख प्रजापतिले भक्तपुरलाई देशकै नमुना नगरका रूपमा विकास गर्न जनताको साथ, सहयोग र सुझाव अपरिहार्य रहेको भन्दै प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्न नगर सभासदहरूलाई आग्रह गर्नुभयाे ।

प्रमुख बुँदाहरू:

नगर प्रमुख प्रजापतिले संविधान प्रदत्त अधिकार प्रयोग गरी पूर्ण स्वायत्त नगरको अभ्यासलाई सुदृढ गर्दै संघीयतालाई मूर्तरूप दिन स्थानीय तहको अधिकार र स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयाे ।

भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसुती सेवा थप सहजताको लागि २०८२ असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यान्वयन हुने भएको छ ।

ख्वप अस्पतालमा आज आयोजित एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ख्वप अस्पतालमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ प्रभावकारी रुपमा सञ्चालन गर्न प्रेरित गर्दै यो कार्यक्रम ख्वप अस्पतालमा लागू भएपछि धेरै सुत्केरी महिलाहरु लाभान्वित हुने र शिशुको मृत्यु दर पनि कम हुने विश्वास व्यक्त गर्नुभयो ।

महिलाहरुको समस्या समाधानको लागि भक्तपुर नगरपालिकाले शिशुस्याहार केन्द्र सञ्चालन गर्दै आएको बताउँदै उहाँले नगरको सबै वडाहरुमा शिशुस्याकार केन्द्र सञ्चालन गर्न नगरपालिकाले जोड दिनुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरका विद्यालयहरुमा डाक्टरसहितको स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै विद्यालय तहदेखि स्वास्थ्यमा सचेत पार्न सके भविष्यमा हुन सक्ने जोखिमहरु कम हुने उहाँले बताउनुभयो ।

विद्यार्थीहरुमा सेवा गर्ने भावनाको विकास विद्यालय तहदेखि नै सिकाउनुपर्ने विषयमा उहाँले जोड दिनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाबाट स्वीकृत आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम ख्वप अस्पतालबाट २०८२ असार १ गतेबाट कार्यान्वयन हुने जानकारी उक्त कार्यक्रममा गराउनुभयो ।

प्रमुख प्रजापतिले ख्वप अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा सेवा सञ्चालन प्रभावकारी ढ·ले अगाडि बढाइने बताउँदै भक्तपुर नगरपालिकाले आगामी आ।व।देखि ख्वप अस्पतालमा सीटी स्क्यानको सेवा सुरु गर्न खरिदको प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो । युवा जनशक्ति विदेशिएसँगै राज्यको खरबौं रकम पनि विदेशिरहेको बताउँदै उहाँले राज्यको विदेशनिर्भर अर्थनीतिले देशलाई कहिल्यै पनि आत्मनिर्भर बनाउन नदिने बताउनुभयो ।

ख्वप अस्पतालले आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिरहेको बताउँदै उहाँले बढ्दो महँगीका कारण गरिबले निजी अस्पतालमा उपचार गराउनै नसक्ने हुँदा सरकारी स्वास्थ्य सेवालाई नै सस्तो र गुणस्तरीय बनाउने उद्देश्यले सेवाहरु विस्तार गर्दै आएको बताउनुभयो । भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले समाजवादी व्यवस्थाअनुसार भक्तपुरको शिक्षा, स्वास्थ्यमा काम गर्दै आएको बताउँदै आमा र नवजात शिशुलाई नजिकबाट स्वास्थ्य सेवा उपलब्ध गराउने माध्यमको रुपमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा। मजेशप्रताप मल्लले २०८० जेठको पहिलो साताबाट ख्वप अस्पतालले प्रसुती सेवा सञ्चालनमा ल्याएको बताउँदै उहाँले ख्वप अस्पतालबाट ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सञ्चालनमा आएसँगै गर्भवती महिलाले सुत्केरी महिलाको सामान्य उपचारदेखि लिएर गम्भीर प्रकृतिको उपचार समेत निःशुल्क पाउने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक डा। रत्नसुन्दर लासिवाले नेपाल सरकारको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ को उद्देश्यमाथि प्रष्ट पार्नुभएको थियो ।

भक्तपुर, २८ जेठ । नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया अघि बढाउँदै भक्तपुर नगरपालिकाले आज एक विशेष भेला आयोजना गर्‍यो। नगरका प्राध्यापक, युवा र विद्यार्थीहरूलाई सहभागी गराउँदै नगरपालिकाले विचार, आवाज र आशाहरू संकलन गर्‍यो।

नगर प्रमुख सुनिल प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० भित्र नीति तथा कार्यक्रम पारित गरी बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रक्रिया उल्लेख गर्दै, यस चरणमा नगरवासीको सहभागिता सुनिश्चित गर्नु नगरपालिकाको प्राथमिकता भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले हामीले सीपमूलक तालिमहरू सञ्चालन गरिरहेका छौं। देशको विकासका लागि उनीहरूलाई सक्षम बनाउने हाम्रो कर्तव्य हो।”

कार्यक्रममा उपप्रमुख रजनी जोशीले रचनात्मक सुझावका लागि सहभागी सबैलाई धन्यवाद दिइन्। प्रशासकीय अधिकृत दामोदर सुवालले बहुआयामिक माध्यमबाट सुझाव संकलन भइरहेको जानकारी गराउँदै, जनसहभागितामा आधारित बजेट निर्माण भक्तपुर नपाको विशेषता भएको बताउनुभयो।

युवाको आवाज, योजनामा प्रतिबिम्ब 

भेलामा सहभागी प्राध्यापक, युवा र विद्यार्थी प्रतिनिधिहरुले नगरको भौतिक, शैक्षिक, सांस्कृतिक र सामाजिक विकासका लागि गहकिला सुझावहरू राखे। उल्लेखनीय सुझावहरू यसप्रकार छन्: राममन्दिरको ट्राफिक जाम समाधान गर्न जनसेवा स्कुलतर्फ झोलुंगे पुल निर्माण। ईभी सवारी साधन सञ्चालन गर्दै नगरभित्र इन्धनयुक्त सवारी निषेधतर्फ अग्रसर हुने, सामुदायिक भवनहरूलाई अध्ययन अनुसन्धान केन्द्र का रूपमा प्रयोग, शिक्षक सेवा आयोगबाट उत्तीर्ण शिक्षकको छनोटमा पारदर्शिता र आकर्षणका कार्यक्रम ल्याउने, सामाजिक अनुसन्धान ल्याब स्थापना।

अनुदान शिक्षकको व्यवस्था, ख्वप विश्वविद्यालय स्थापनाका लागि निरन्तर पहल, दरबार क्षेत्रको लापां देगः पुनर्जीवन, प्लास्टिकजन्य वस्तु निषेध, दाफाभजन संरक्षण, सूचना प्रविधिमैत्री शिक्षण, शिक्षक सरुवा निर्देशिका निर्माण, स्वीमिङ पुल निर्माण, किसान सम्मान कार्यक्रम, खौमा उमामहेश्वर मन्दिर पुनर्निर्माण, सम्पदामैत्री बत्ती जडान, वडामा पुस्तकालय र शिशुस्याहार केन्द्र, मेलम्चीको पानी चुहावट नियन्त्रण, अपराध नियन्त्रण, नगरकोट सडक सुधार, कक्षा ९ र १० मा ऐच्छिक विषयमा कानुन विषय समावेश।

भक्तपुर नपाको नीति निर्माण प्रक्रिया अब स्थानीय बौद्धिक समुदाय, युवाशक्ति र भविष्यका कर्णधारहरूका आवाजसँगै अझ लोकउत्तरदायी र सहभागी बन्दै गएको छ।

भक्तपुर, जेठ २७। भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तर्जुमाको तयारीस्वरूप नगरका किसान तथा मजदुरहरूसँग राय सुझाव संकलन गरेको छ। मंगलबार सम्पन्न भेलामा नगरप्रमुख सुनिल प्रजापतिले नेपाल कृषि प्रधान देश भएकाले कृषिको विकासबाटै समृद्धिको बाटो खुल्ने धारणा व्यक्त गर्नुभयो।

नगर प्रमुख प्रजापतिले नगरपालिकाले जनताको सल्लाहअनुसार नीति तथा कार्यक्रम अघि बढाइरहेको बताउँदै घोषणापत्रअनुसार गरिएका प्रतिबद्धता पूरा गर्न जनप्रतिनिधि सक्रिय रहेको जानकारी दिनुभयो ।

उहाँले किसानलाई तालिम, सहुलियत दरमा मल र उन्नत बीउ वितरण हुँदै आएको र विषादीरहित परम्परागत बालीमा ध्यान केन्द्रित गरिएको बताउनुभयो। कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आगामी बजेटमा नागरिकको सुझाव समावेश गर्न भेला आयोजना गरिएको जानकारी दिनुभयो।

भेलामा सहभागी कृषक र मजदुर प्रतिनिधिहरुले कृषि अनुसन्धान केन्द्र स्थापना, उन्नत बीउ–मलको वडामार्फत वितरण, सल्लाघारी क्षेत्रमा सार्वजनिक शौचालय, दुग्ध चिस्यान केन्द्रको पुनःसञ्चालन, आगलागी पीडितलाई सहयोग वृद्धि, राम मन्दिर पुलको पुरातात्विक शैलीमा पुनःनिर्माण, डकर्मी पेशामा युवालाई आकर्षण गर्ने कार्यक्रम, स्वास्थ्य शिविर र परम्परागत सांस्कृतिक बाजाको प्रवर्द्धनलगायतका सुझाव प्रस्तुत गरेका थिए। नगरपालिकाले प्राप्त सुझावलाई बजेट तर्जुमा प्रक्रियामा समावेश गर्ने प्रतिबद्धता जनाएको छ।