भक्तपुर, २२ जेठ । भक्तपुर जिल्लामा सम्भावित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न आवश्यक पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ का लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
विहीबार बसेकाे बैठकमा जिल्लाका चार स्थानीय तहबाट प्राप्त विवरणको आधारमा जिल्लाको उद्धार तथा राहत तयारीको अवस्था मूल्याङ्कन गर्दै बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकाे हाे ।
बैठकले भक्तपुर जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ औपचारिक रूपमा स्वीकृत गरेसंगै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीहरूको अभाव औंल्याउँदै गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सामग्रीको माग सिफारिस गर्ने निर्णय समेत गरेकाे छ ।
बैठकले लाइफ ज्याकेट – ९०० थान, रेस्क्यु बनाना बोट – ३ थान, ओबीएम मोटर – २ थान, वाटरप्रूफ डोरी (Static Rope) – ९,४०० मिटर, हेड टर्च (वाटरप्रूफ) – ४० थान, लाइफ ट्युब – ९० थान, जेट इञ्जिन (पानी फल्ने) – ९ थान माग गरेकाे छ ।
सामाजिक सजगता अभिवृद्धि गर्न सूचना प्रवाह प्रणाली सुदृढ गर्ने, First Responder तयारी गर्ने, राहत वितरणमा समन्वय कायम राख्ने, तथा रातको समयमा जोखिमयुक्त उद्धार कार्य केवल अति आवश्यक परेमा मात्र सावधानीपूर्वक सञ्चालन गर्ने बैठकमा निर्णयहरू गरिएकाे छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सुरक्षा निकायलाई पूर्वतयारी अवस्थामा राख्ने, डुबानको उच्च जोखिम रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने समेत निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएकाे छ।
भक्तपुर, २२ जेठ । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा विश्व वातावरण दिवसको अवसरमा आज चाँगुनारायण नपा वडा नं। ६ स्थित खानेपानी मुहान पोखरीमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खानेपानीका मुहानहरु सुक्ने क्रम बढिरहँदा खानेपानी आपूर्तिमा समस्या भइरहेको बताउँदै मानवीय क्रियाकलापले गर्दा पनि पानीका स्रोत र मुहानहरु फोहोर हुने र सुक्ने गरेको बताउनुभयो ।

वनविनासले पनि खानेपानीका मुहानहरुमा क्षति पु¥याइरहेको बताउँदै उहाँले मुहान पोखरीलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न आवश्यक पहल गरिरहेको बताउनुभयो । खानेपानीको नयाँ नयाँ स्रोतहरु पनि खोजी हुनुपर्ने र पानीको स्रोतलाई संरक्षण गर्नु सबैको दायित्व हो, प्रमख प्रजापतिले भन्नुभयो ।
भक्तपुर नपा वडा नं। ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले भक्तपुरको खानेपानी मुहान पोखरी भक्तपुर र चाँगुनारायण नपाबीच आपसी समन्वय र सहकार्य संरक्षण गर्ने कार्य हुँदै आएको बताउँदै खानेपानीको स्रोतमा मानवीय गतिविधिबाट हुने प्रदूषण रोक्न सम्बन्धित निकायबाट पहल हुनुपर्ने बताउनुभयो ।

चाँगुनारायण नपा वडा नं। ६ का वडाध्यक्ष धनबहादुर तामाङले मुहानपोखरी संरक्षण र सरसफाइलाई चाँगुनारायण नपाले पनि प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउँदै मुहानमा विभिन्न अवाञ्चित गतिविधि रोक्ने विषयमा पहलहरु भइरहेको र मुहान संरक्षणको लागि तारबार लगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी संस्था लि। भक्तपुरका प्रमुख अनिलकुमार त्रिखत्रीले खानेपानी मुहान संरक्षण गर्ने अभियानमा नगरबासीहरुको सहभागिता प्रशंसनीय भएको बताउनुभयो । कार्यक्रममा वातावरण समितिका सदस्य मन्जुमैंया लाखाले पनि बोल्नुभएको थियो । सरसफाइ कार्यक्रममा भक्तपुर नपा र चाँगुनारायण नपाका जनप्रतिनिधि, कर्मचारी, स्काउट, नेपाल प्रहरी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
भक्तपुर, २२ जेठ । शहरका धूलो र आवाजले थिचिएको मन लिएर जब कोही रानीकोटकाे डाँडो उक्लन्छ, तब उसले महसुस गर्छ-प्रकृतिसँग पुनर्मिलनको मिठास। त्यहाँ न कुनै हतार छ, न भागदौड- छ त केवल शान्तिको महशुस, जहाँ हरेक दृश्यमा हरियालीले मन छाेएकाे हुन्छ ।
साँझपखको सुनौलो किरणले रानीकोटका भित्ताहरू चम्किदै गर्दा, लाग्छ प्रकृतिले आफैं चित्र कोरेको हो। हरियालीले अँगालो हालेको यो भूभागमा जब हामी रमाउँछौं, मनको थकान हराएर जान्छ, र मन उज्यालिन्छ।

रानीकोटबाट सुरु हुने यात्राले लाकुरी भञ्ज्याङको काखसम्म पुग्दा, एक अनौठो अनुभूति सँगालिन्छ-आकाश छोएको हरियो डाँडो, बग्ने हावा, अनि टाढा कतै देखिने हिमशृंखलाको उज्यालो छायाँ। यो दृश्यले हरेक यात्रुलाई केही क्षण मौन बनाउँछ। लाग्छ, शब्दभन्दा ठूलो पनि केही छ यहा ।
काठमाडौं उपत्यकाको रूप, रेखा र सबै एकैपटक देख्न सकिन्छ यहाँबाट। भक्तपुर, ललितपुर र काभ्रे जिल्लाकाे नक्सा जस्तो खुला मैदान झल्किन्छ आँखामा। हरेक कोणबाट उपत्यकाको सुन्दरता सजिलै देख्न पाइन्छ ।

भक्तपुरको घ्याम्पे पार गरेपछि, रानीकोटको पुरानो बटुवाको बाटो समाउँदै जब लाकुरी भञ्ज्याङतिर पाइला बढ्छ, तब घामको उज्यालो पातहरूबाट छिचोलिँदै, हावा चुपचाप कानमा केही भन्नपुग्छ तव “यहाँ आइपुग्यौ भने, शहरका दुःख बिर्सन्छौ।”
रानीकोट, जहाँबाट उपत्यका एउटा खुल्ला चित्रजस्तै देखिन्छ- ललितपुरका घरहरू, भक्तपुरका परम्परागत छानाहरू, अनि टाढा कतै काभ्रेको हरियाली फाट। त्यो क्षणमा, मानिस समयभन्दा माथि उठ्छ, र भुल्छ-उ भर्खरै कहाँबाट आएको हो।

लाकुरी भञ्ज्याङको पहाडले हिमालहरूलाई पनि बोलाएको हुन्छ। मनमोहक शृंखलाहरू, लज्जालुझैँ बादलहरूमा लुकेर, समय समयमा झुल्किन्छन्। गणेश, लाङटाङसम्मको दृश्यले मनलाई रोमाञ्चित बनाउँछ। त्यहाँ उभिएर, मान्छेले आफ्नै सानोपन महसुस गर्छ । रानीकोट र लाकुरी भञ्ज्याङको जंगल भनेको केवल वनस्पतिको संग्रह होइन, यो जीवनको आश्रयस्थल हो।

बन्यजन्तुको बास, चराहरूको गीत, र हावाले बोकेको पातको सङ्गीतले यहाँको मौनताले पनि बोल्छ । भक्तपुर, ललितपुर, र काभ्रे तीनैतिरबाट सडकले जोडिएको छ।कतैबाट हिँडेर, कतै साईकलमा, अनि कतै मोटरसाइकलबाट त्यहाँ पुगिन्छ ।
बस्नका लागि स्थानीय होमस्टेहरू छन्, खानका लागि ताजा अन्न खान पाइन्छ । जब फर्कने बेला आउँछ, तब मन अलिक गह्रौँ हुन्छ। रानीकोटदेखि लाकुरी भञ्ज्याङसम्मको यात्राले उपत्यकाकाे सुन्दरता मात्रै हाेइन हिमालकाे काखमा पुगेकाे अनुभुित हुने गरेकाे छ ।

भक्तपुर, २२ जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिले च्याम्हासिंह क्षेत्रमा रहेका १० वटा फलफूल र खाद्य पसलहरूमा बजार अनुगमन गरेको छ। समितिका संयोजक राजकृष्ण गोरा नेतृत्वमा गरिएको यस अनुगमनमा विभिन्न किसिमका अनियमितता र नियम उल्लंघनहरू फेला परेका छन् जसले उपभोक्ता सुरक्षा र बजार व्यवस्थापनमा गम्भीर प्रश्न उठाएका छन्।
अनुगमनका क्रममा अनियमित रूपमा खरिद विक्रि बिल प्रयोग नगर्ने, भ्याट र राजश्व छली गर्ने, कुहिएको फलफूल बिक्री हुने लगायतका समस्या पुष्टि भएका छन्। यसले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले नगरपालिकाले यसलाई गम्भीरताका साथ लिएको छ।
राज स्यामाजी स्टोरमा विगत दुई-तीन वर्षदेखि दर्ता नविकरण नभएको, मूल्य सूची नराखिएको र तराजु नविकरण नगरेको पाइएपछि तीन दिनभित्र सबै प्रक्रिया पूरा गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। त्यस्तै, के.ओ.डि. स्टोरले पनि दर्ता नगरी कारोबार गर्दै आएको, भ्याट बिल प्रयोग नगरेको र खरिद विक्रि खाता नराखेको हुँदा राजश्व कार्यालयले जरिवाना लगाउने र कार्यालयमा उपस्थित हुन आदेश दिएको छ।
अनुगमनका क्रममा कुहिएको फलफूल र म्याद नाघेका सामानहरू पनि जफत गरिएको छ। म्यागी ससका ५ वटा ठूला र ७ वटा साना प्याकेट, ३ वटा मसरुम जफत गरी नष्ट गरिएको छ। मुकेश फलफूल पसलमा पनि दर्ता नविकरण नभएको, तराजु नापतौल विभागमा नविकरण नभएको र कुहिएको फलफूल जस्तै केरा, आँप, मेवा जफत गरी नष्ट गरिएको छ।
यस्तै, न्यू ब्रम्हायणी जुस एण्ड फ्रूट सेन्टरमा पनि कुहिएको केरा ४ दर्जन र आँप, मेवा १० केजि जफत गरी नष्ट गरिएको छ। सृष्टि फ्रूट सेन्टर, ख्वप फलफूल तथा जुस पसल लगायत अन्य पसलहरूमा पनि दर्ता नविकरण नहुँदा र कुहिएको फलफूल फेला परेपछि तीन दिनभित्र नविकरण गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
अनुगमन समितिका सदस्यहरूमा वडा अध्यक्ष श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञानबहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखा प्रमुख मोहनदेबी व्यान्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कमल कुमार श्रेष्ठ, राजश्व कार्यालय भक्तपुरका विकास कुमार यादव, भक्तपुर घरेलु तथा साना उद्योग संघकी सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, तथा भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु समावेश थिए।
अनुगमन समितिले फलफूल तथा खाद्य पसलहरूमा अबदेखि कडाइका साथ नियमको पालना गराउन, खरिद विक्रि बिल अनिवार्य प्रयोग गर्न, भ्याट तथा कर चुक्तिका लागि सही प्रक्रिया अपनाउन र उपभोक्ताको स्वास्थ्य सुरक्षामा कुनै प्रकारको सम्झौता नगर्न जोरदार निर्देशन दिएको छ।
पसलहरूले सहकार्य नगरे र नियम उल्लंघन गरे थप कानुनी कारबाही गरिने चेतावनी समितिले जारी गरेको छ। भक्तपुर नगरपालिका अनुसार यस्तो अनुगमनले उपभोक्ता हकहित र बजार पारदर्शितामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
यस अनुगमनले काठमाडौं उपत्यकामा फलफूल र खाद्य पसलमा देखिएको अव्यवस्थित बिक्री र भ्याट छली जस्ता अनियमिततालाई नियन्त्रणमा ल्याउने दिशामा महत्वपूर्ण कदम भएको विशेषज्ञहरू बताउँछन्।
साथै, उपभोक्ताहरूलाई पनि सचेत र जिम्मेवार भएर आफूले किन्ने वस्तुको गुणस्तर, म्याद, तथा बिलको सुनिश्चितता गर्न आग्रह गरिएको छ। नगरपालिकाले भविष्यमा नियमित रूपमा यस्ता अनुगमन जारी राख्ने र उपभोक्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
भक्तपुर, २१ जेठ । गृह मन्त्रालयले सार्वजनिक प्रशासनमा सेवा प्रवाह, पारदर्शिता र जनसन्तुष्टिको आधारमा गरेको पछिल्लो मूल्याङ्कनमा भक्तपुर जिल्ला प्रशासन कार्यालय देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमध्ये पहिलो स्थानमा पर्न सफल भएको छ।

गृह मन्त्रालयअन्तर्गतको त्रैमासिक मूल्याङ्कनमा भक्तपुरले १८.५ पूर्णाङ्कमध्ये १८.१२५ अंक प्राप्त गर्दै देशैभर पहिलाे भएकाे हाे । मूल्याङ्कनमा सेवा प्रभावकारिता, नागरिक सन्तुष्टि, समयमै सेवा प्रवाह, सुशासन प्रवर्द्धन, फाइल व्यवस्थापन, सूचना प्रवाह, गुनासो व्यवस्थापन तथा प्रविधिको प्रयोग जस्ता सूचकहरूलाई आधार बनाइएको थियो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गाेपालप्रसाद अर्याल प्रमुख जिल्ला अधिकारीको रूपमा पदभार ग्रहण गरेपछि छोटो अवधिमै देखिएको यो उल्लेखनीय सफलता प्रशासनिक प्रतिबद्धता र जनउत्तरदायी सेवाको प्रतिफलका रूपमा हेरिएको छ।
कार्यालयले नागरिकता, राहदानी, सिफारिस लगायतका सेवा छिटो, पारदर्शी र विनम्र ढंगले प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। गुनासो व्यवस्थापन, ई-सेवाको प्रयोग, समयपालना र सेवा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने कार्यमा पनि कार्यालयले निरन्तर सुधार गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि भण्डारीले जानकारी दिनुभयाे ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि भण्डारीले यो उपलब्धिको श्रेय सम्पूर्ण कर्मचारी, स्थानीय तह, सुरक्षानिकाय, सञ्चारमाध्यम, र सेवाग्राही नागरिकहरूको सक्रिय सहयोगलाई दिँदै धन्यवाद प्रकट गर्नुभयाे ।
भक्तपुरको यो उपलब्धिले अन्य जिल्लाका प्रशासन कार्यालयहरूलाई पनि नागरिक–केन्द्रित सेवा प्रवाहमा प्रेरणा दिने विश्वास गरिएकाे छ ।

काठमाडौँ, १० जेठ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्त बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने ४४ वर्षीय सुदिप अर्याल रहेका छन् । जिल्ला अदालत चितवनबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएका अर्याललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अर्याललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ । यो घटनाले बैंकिङ कसुरमा संलग्न व्यक्तिहरूमाथि प्रहरीको सक्रियता र निगरानी बढेको देखाउँछ ।
भक्तपुर, ३० वैशाख। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले देशको सार्वभौमिकता कमजोर हुँदा अन्तर्राष्ट्रिय समुदायमा नेपाली नागरिकको प्रतिष्ठा गुम्ने खतरा बढ्ने बताउनुभएको छ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालमा कार्यरत चिकित्सकहरूसँगको भेटघाट तथा मार्गनिर्देशन कार्यक्रममा बोल्दै सांसद सुवालले वर्तमान शासक दलका गलत क्रियाकलाप र व्यापक भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि कमजोर बनेको टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो, “नेपाल सरकार स्वयंले गौतम बुद्धको जन्म नेपालमा भएको विषयमा ऐतिहासिक प्रमाणसहित अन्तर्राष्ट्रिय जगतमा स्पष्ट रूपमा प्रस्तुत नगर्दा बुद्ध भारतमा जन्मिएको भन्ने गलत प्रचार अझै भइरहेकै छ। यसबारे सरकारले तुरुन्तै पहल गर्नुपर्छ।”
सांसद सुवालले शिक्षा र स्वास्थ्य सेवालाई नागरिकको नैसर्गिक अधिकार मान्नुपर्नेमा जोड दिँदै, नेपालमा सबैभन्दा महँगो सेवा नै स्वास्थ्य उपचार भएको बताउनुभयो। उहाँले चिकित्सकहरूले भोगिरहेका समस्याबारे समाधानका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भक्तपुर नगरपालिकाले पञ्चायतकालदेखि नै जनस्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिन थालेको इतिहासलाई स्मरण गर्दै, ख्वप अस्पतालको विकास यात्रालाई महत्वपूर्ण उपलब्धि भन्दै सुवालले प्रारम्भदेखि सेवा दिने अग्रज चिकित्सकहरूको नाम अभिलेखमा राख्नुपर्ने र हाल कार्यरत चिकित्सकलाई नियमित अभिमुखीकरण तालिम दिनुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरलाई स्वास्थ्य उपचार सेवाको राष्ट्रिय गन्तव्य बनाउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको समाजवादी मार्गदर्शनमा ख्वप अस्पताललाई जनताको अस्पताल बनाउने प्रयास हुँदैछ। अस्पतालले ३६५ दिन बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा दिँदै आएको छ।”
निःशुल्क अक्सिजन तथा रगत सेवा, घरदैलो नर्स सेवा, र समुदायस्तरमा सञ्चालन गरिने स्वास्थ्य शिविरहरू ख्वप अस्पतालका विशेष सेवाहरू भएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्य रविन्द्र ज्याख्व, नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल, र डा. रत्नसुन्दर लासिवाले पनि स्वास्थ्य सेवाको सुधारका पक्षमा विचार राख्नुभएको थियो।
भक्तपुर, १९ बैशाख । सूर्यविनायक नगरपालिकाको वडा नं. ७ मा पर्ने घ्याम्पेडाडादेखि कोलडाडासम्मको सडक खण्ड एक महिनाका लागि बन्द गरिने भएको छ। नगरपालिका कार्यालयका अनुसार, उक्त क्षेत्रअन्तर्गत जिपलाइन अगाडिको उकालो सडकमा ढलान कार्य २०८२ बैशाख २० गते शनिबार देखि सुरु हुनेछ।
सडक सुधारको काम प्रभावकारी बनाउन आवागमन रोक्नुपर्ने भएकाले एक महिनासम्म सो सडक पूर्ण रूपमा बन्द रहने जानकारी दिइएको छ। यात्रु तथा स्थानीय बासिन्दाका लागि रानीकोट–गुण्डु–बसपार्क तर्फको वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
नगरपालिकाले सडक सुचारु रूपमा सञ्चालन गर्न वैकल्पिक व्यवस्थाहरू मिलाइएको जनाउँदै सर्वसाधारणलाई असुविधा नहुने प्रयास गरिने स्पष्ट पारेको छ। साथै, गुणस्तरीय निर्माण कार्यका लागि सबैको सहयोग अपेक्षित रहेको र अस्थायी असुविधाका लागि क्षमायाचना गरिएको छ।
सूचना पढ्नुहाेस्…
